सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

मत्ती 28

यो अध्याय यसमा पर्छ: Lijden, dood en opstanding

1अब शबाथको समय सकिनै लाग्दा हप्‍ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र मरियम नाउँ गरेकी अर्की स्‍त्री चिहान हेर्न आए। 2हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले; अनि ढुङ्गा हटाए, र त्यसमाथि बसे। 3तिनको रूप बिजुलीजस्तो थियो, र पहिरन हिउँजस्तै सेतो थियो। 4पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरूजस्तै भए। 5स्वर्गदूतले ती स्‍त्रीहरूलाई सम्बोधन गरे र भने, “भयभीत नहोओ, किनकि मलाई थाहा छ, कि तिमीहरूले क्रुसमा टाँगिनुभएका येशूलाई खोज्दै छौ। 6उहाँ यहाँ हुनुहुन्‍न, तर जस्तो उहाँले भन्‍नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ। आएर प्रभुलाई राखिएको ठाउँ हेर। 7झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ। हेर, उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ। त्यहीँ नै तिमीहरूले उहाँलाई देख्‍नेछौ।’ हेर, मैले तिमीहरूलाई बताइदिएको छु।” 8ती स्‍त्रीहरू तुरुन्तै डर र आनन्दका साथ चिहानबाट निस्के, अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे। 9हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्‍नुभयो, “सबैलाई अभिवादन छ।” ती स्‍त्रीहरू आए, उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे। 10त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ। जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ। त्यहाँ तिनीहरूले मलाई भेट्नेछन्।” 11जब ती स्‍त्रीहरू जाँदै थिए, हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पुजारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए। 12जब पुजारीहरूले एल्डरहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए, 13र तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूलाई यस्तो भन, ‘हामी सुतिरहेका बेला येशूका चेलाहरू आए र उनको मृत शरीरलाई चोरेर लगे।’ 14यदि यो खबर हाकिमकहाँ पुग्यो भने, हामी उहाँलाई राजी गराउनेछौँ र तिमीहरूलाई कुनै समस्यामा पर्न दिनेछैनौँ।” 15अनि ती सिपाहीहरूले पैसा लिए र उनीहरूलाई जस्तो निर्देशन दिइएको थियो, त्यस्तै गरे। यही खबर यहूदीहरूका माझमा सर्वत्र फैलियो र आजको दिनसम्म पनि यही कायम छ। 16तर एघार जना चेला गालीलको त्यस डाँडामा गए जहाँ येशूले जानू भनी तिनीहरूलाई निर्देशन दिनुभएको थियो। 17जब उनीहरूले उहाँलाई देखे, उनीहरूले उहाँलाई दण्डवत् गरे, तर कतिले चाहिँ शङ्का गरे। 18येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ। 19यसकारण, जाओ र सबै देशका जातिलाई चेला बनाओ। पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ। 20मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। र हेर, यस संसारको अन्तसम्म पनि म सधैँ तिमीहरूको साथमा छु।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।