सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

मत्ती 24

यो अध्याय यसमा पर्छ: Toespraak 5: de eindtijd

1ययेशू मन्दिरबाट बाहिर जानुभयो र उहाँ आफ्नो बाटोमा जाँदै हुनुहुन्थ्यो। उहाँलाई मन्दिरका भवनहरू देखाउन उहाँका चेलाहरू उहाँकहाँ आए। 2तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले यी सबै कुरा देख्दैनौ? साँच्‍चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिनेछैन, सबै भत्काइनेछन्।” 3जब उहाँ जैतून डाँडामा वस्‍नुभयो, चेलाहरू उहाँकहाँ सुटुक्‍कै आए र भने, “हामीलाई भन्‍नुहोस्, यी कुराहरू कहिले हुनेछन्? तपाईंको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ?” 4येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “होसियार रहो, कसैले तिमीहरूलाई नभड्काओस्।” 5किनकि मेरो नाउँमा धेरै जना आउनेछन्। किनकि तिनीहरूले भन्‍नेछन्, ‘म नै ख्रीष्‍ट हुँ!’ र धेरैलाई भड्काउनेछन्। 6तिमीहरूले लडाइँ र लडाइँका हल्ला सुन्‍नेछौ। तर तिमीहरू, विचलित नहोओ, किनकि यी कुराहरू हुनैपर्छ; तर अझै अन्त आइसकेको हुँदैन। 7किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ। विभिन्‍न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन्। 8तर यी सबै कुरा प्रसव-वेदनाको सुरुवात मात्र हो। 9तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन्। मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ। 10तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन्। 11धेरै झुटा अगमवक्‍ता खडा हुनेछन् र धेरै जनालाई बहकाउनेछन्। 12किनभने अधर्मको वृद्धि हुनेछ; धेरै जनाको प्रेम सेलाउनेछ। 13तर जो अन्तसम्म स्थिर रहन्छ, उसले उद्धार पाउनेछ। 14राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ। तब अन्त आउनेछ। 15त्यसकारण, जब तिमीहरूले दानिएल अगमवक्‍ताले भनेका जस्तै त्यस विनाशकारी घृणित व्यक्‍तिलाई पवित्र स्थानमा उभिएको देख्छौ (पाठकले आफैँ बुझोस), 16जो यहूदियामा छन्, तिनीहरू पहाडहरूतिर भागून्, 17जो घरको छानामाथि छ, ऊ घरबाट कुनै सामान लिन तल नझरोस्। 18र जो खेतमा छ, ऊ आफ्नो खास्टो लिन नफर्कोस्। 19तर ती दिनमा हाय तिनीहरूलाई जो गर्भवती छन् र जसले शिशुहरूलाई दूध चुसाउँछन्! 20हिउँदमा वा शबाथको दिनमा तिमीहरू भाग्‍न नपरोस् भनी प्रार्थना गर। 21किनकि त्यस बेला महासङ्कष्‍ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त कहिल्यै फेरि हुनेछ। 22ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बच्नेछैन। तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन्। 23तब यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्!’ वा, ‘ख्रीष्‍ट त्यहाँ छन्!’ भन्छ भने त्यसलाई विश्‍वास नगर। 24किनकि झुटा ख्रीष्‍टहरू र झुटा अगमवक्‍ताहरू आउनेछन् र हुन सके, चुनिएकाहरूलाई समेत बहकाउनलाई ठुला-ठुला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्। 25हेर, मैले यी अगाडि नै तिमीहरूलाई बताएको छु। 26त्यसकारण, यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उहाँ उजाड-स्थानमा हुनुहुन्छ’ भनेर भन्छन् भने, उजाड-स्थानतिर नजाओ। वा ‘हेर, उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भनेर भन्छन् भने, त्यसलाई विश्‍वास नगर। 27किनकि जसरी बिजुली पूर्वबाट चम्कन्छ र पश्‍चिमसम्मै त्यसको उज्यालो पुग्दछ, मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ। 28जहाँ सिनो छ, त्यहाँ गिद्धहरू भेला हुनेछन्। 29तर ती दिनमा सङ्कष्‍ट आए लगत्तै सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; ताराहरू आकाशबाट खस्‍नेछन्, र स्वर्गका शक्‍तिहरू डगमगाउनेछन्। 30तब मानिसका पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिले विलाप गर्नेछन्। तिनीहरूले मानिसका पुत्रलाई आकाशको बादलमा शक्‍ति र ठुलो महिमासाथ आउँदै गरेको देख्‍नेछन्। 31उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजका साथ पठाउनुहुनेछ, अनि तिनीहरूले उहाँका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन्। 32अन्जीरको बोटबाट पाठ सिक। जब त्यसका हाँगाहरू कलिला हुन्छन् र पातहरू पलाउँछन्, तब ग्रीष्म ऋतु आउँदै छ भनेर तिमीहरूले थाहा पाउँछौ। 33त्यसरी नै, जब तिमीहरूले पनि यी सबै कुरा देख्छौ, उहाँ नजिकै अर्थात् ढोकाकै छेउमा हुनुहुन्छ भनी तिमीहरूले जान्‍नुपर्छ। 34साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन। 35स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन्। 36तर त्यस दिन र घडीको विषयमा कसैलाई पनि थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई, न पुत्रलाई, तर पितालाई मात्र थाहा छ। 37मानिसका पुत्रको आगमन पनि नोआका दिनमा जस्तै हुनेछ। 38किनकि ती दिनहरूमा जलप्रलय आउनुभन्दा अगि नोआ जहाजभित्र नपसुन्जेल तिनीहरू खाँदै र पिउँदै, विवाह गर्दै र विवाह गराउँदै थिए, 39अनि प्रलय आएर तिनीहरू सबैलाई नलगुन्जेलसम्म तिनीहरूलाई केही पनि थाहा थिएन। मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ। 40तब खेतमा दुई जना हुनेछन्– एक जना लगिनेछ, र अर्को यहीँ छोडिनेछ। 41दुई जना स्‍त्री जाँतो पिँधिरहेका हुनेछन्– एउटी लगिनेछ र अर्की त्यहीँ छोडिनेछ। 42त्यसकारण, तिमीहरू जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनुहुनेछ भन्‍ने कुरा तिमीहरूलाई थाहा छैन। 43तर यो जान, कि रातको कुन समयमा चोर आउँदै छ भन्‍ने कुरा घरको धनीलाई थाहा भएको भए, ऊ जागा बस्‍ने थियो र चोरलाई उसको घर फोर्न दिने थिएन। 44त्यसकारण, तिमीहरू पनि तयार हुनुपर्छ, किनकि मानिसका पुत्र तिमीहरूले आशा नगरेको बेलामा आउनुहुनेछ। 45त्यसैले, विश्‍वासयोग्य र बुद्धिमान् नोकर को हो, जसलाई उसको मालिकले आफ्नो घरका मानिसहरूलाई तिनीहरूका खाना ठिक समयमा तिनीहरूलाई दिनलाई नियुक्त गरेको छ? 46त्यो नोकर धन्य हो, जसलाई उसको मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ। 47साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि मालिकले उसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछ। 48तर यदि दुष्‍ट नोकरले त्यसको मनमा, ‘मेरो मालिक ढिला हुनुभएको छ’ भनी भन्दछ, 49अनि उसले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्न थाल्छ, र मतवालाहरूसँग खान्छ र पिउँछ भने, 50त्यस नोकरले आशा नगरेको दिनमा र त्यसलाई थाहा नभएको घडीमा त्यस नोकरको मालिक आउनेछ। 51त्यसको मालिकले त्यसलाई दुई टुक्रा पारी काट्नेछ र त्यसको दशा ती पाखण्डीहरूको जस्तै हुनेछ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।