सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

मत्ती 14

यो अध्याय यसमा पर्छ: Wie is Jezus?

1त्यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने। 2उनले आफ्ना नोकरहरूलाई भने, “यिनी बप्‍तिस्मा-दिने यूहन्‍ना हुन् जो मरेकाहरूबाट फेरि जीवित भएका छन्। त्यसकारण, यी शक्‍तिहरूले उनमा काम गरिरहेका छन्।” 3किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्‍नी हेरोदियासको कारण यूहन्‍नालाई समाती उनलाई बाँधेर झ्यालखानामा हालेका थिए। 4किनकि यूहन्‍नाले तिनलाई भनेका थिए, “तिनलाई आफ्नी पत्‍नीको रूपमा राख्‍नु तपाईंको निम्ति उचित छैन।” 5हेरोदले उनलाई मार्न सक्थे, तर उनी मानिसहरूसँग डराए, किनभने मानिसहरूले यूहन्‍नालाई अगमवक्‍ता मान्थे। 6तर जब हेरोदको जन्म दिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्‍न बनाइन्। 7त्यसको प्रतिक्रियामा तिनलाई जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए। 8आफ्नी आमाले सिकाएपछि तिनले भनिन्, “मलाई यहाँ एउटा थालमा बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर दिनुहोस्।” 9राजा तिनको बिन्‍तीबाट निकै निराश भए, तर उनको आफ्नो शपथको कारण र उनीसँग रात्री भोजमा सामेल भएका सबै मानिसको कारणले गर्दा राजाले यस्तै होस् भनेर आज्ञा दिए। 10हेरोदले मानिसहरू पठाए र झ्यालखानामा यूहन्‍नाको शिर काटिदिए। 11अनि उनको शिर थालमा राखेर ल्याइयो र त्यस ठिटीलाई दिइयो र तिनले त्यो आफ्नी आमाकहाँ लगिन्। 12अनि उनका चेलाहरू आई उनको शवलाई लगेर गाडे। त्यसपछि तिनीहरू गए, र येशूलाई बताइदिए। 13जब येशूले यो कुरा सुन्‍नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो। जब भिडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए। 14त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भिड देख्‍नुभयो। उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बिचमा भएका बिमारीहरूलाई निको पार्नुभयो। 15जब साँझ पर्‍यो, चेलाहरू उहाँकहाँ आएर भने, “यो त एउटा उजाड-स्थान हो र दिन बितिसक्यो। भिडलाई बिदा गरिदिनुहोस्, ताकि तिनीहरू गाउँहरूमा जान सकून् र आ-आफ्ना निम्ति खानेकुराहरू किन्‍न सकून्।” 16तर येशूले उनीहरूलाई भन्‍नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन। यिनीहरूलाई तिमीहरूले केही खान देओ।” 17उनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन्।” 18येशूले भन्‍नुभयो, “ती मकहाँ ल्याओ।” 19अनि येशूले भिडलाई चौरमा बस्‍नको लागि आदेश दिनुभयो। उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो। माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटीलाई भाँच्‍नुभयो अनि चेलाहरूलाई ती दिनुभयो। चेलाहरूले ती भिडहरूलाई दिए। 20तिनीहरू सबैले खाए र टन्‍न भए। त्यसपछि उनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले। 21त्यहाँ खाएकाहरूमध्ये महिला र बालबालिकाहरूबाहेक झन्डै पाँच हजार मानिस थिए। 22उहाँले आफ्ना चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढेर उहाँभन्दा अगि अर्को पट्टि जान लगाउनुभयो, जब कि भिडलाई चाहिँ उहाँ आफैँले बिदा गर्न चाहनुभयो। 23उहाँले भिडलाई पठाइसक्‍नुपछि उहाँ आफैँ डाँडामा प्रार्थना गर्न जानुभयो। जब पूर्ण रूपमा साँझ भयो, उहाँ त्यहाँ एकलै हुनुहुथ्यो। 24तर त्यस बेला डुङ्गा भने समुद्रको बिचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्‍त्रित भयो। 25बिहान तिन बजेतिर येशू समुद्रमा हिँड्दै तिनीहरूका नजिक जानुभयो। 26जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्‍च्‍याउन थाले। 27तर येशू तिनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “ढाडस गर! मै हुँ! नडराओ।” 28पत्रुसले उहाँलाई जवाफ दिए र भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई पानीमा आउनलाई आदेश दिनुहोस्।” 29येशूले भन्‍नुभयो, “आऊ।” त्यसैले, पत्रुस डुङ्गाबाट बाहिर आए र येशूकहाँ जान पानीमा हिँडे। 30तर जब पत्रुसले बतासलाई देखे, उनी डराए। जब उनी डुब्‍न थाले, उनले चिच्‍च्‍याउँदै भने, “प्रभु, मलाई बचाउनुहोस्!” 31येशूले तुरुन्तै आफ्नो हात फैलाउनुभयो; पत्रुसलाई समात्‍नुभयो र उनलाई भन्‍नुभयो, “ए अल्पविश्‍वासी! तिमीले किन शङ्का गर्‍यौ?” 32त्यसपछि जब येशू र पत्रुस डुङ्गामा जानुभयो, तब बतास रोकियो। 33त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशूको आराधना गरे र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ।” 34जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्‍नुभयो। 35जब त्यस ठाउँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले वरपरका सबै क्षेत्रमा त्यो समाचार फैलाए र तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँकहाँ ल्याए। 36तिनीहरूले उहाँको कपडाको एउटा छेउ मात्र छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए सबै जना निको भए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।