सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 इतिहास 9

यो अध्याय यसमा पर्छ: Salomo

1जब शेबाकी रानीले सोलोमनको ख्‍यातिको बारेमा सुनिन्, तब कठिन प्रश्‍नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन्‌। तिनी मसलाहरू, प्रशस्‍त सुन र धेरै बहुमूल्‍य रत्‍नहरूलाई ऊँटहरूमा लदाएर एक अत्‍यन्‍तै ठूलो लावालश्‍करसाथ आइन्‌। जब तिनी सोलोमनकहाँ आइन्, तब तिनले आफ्‍नो मनमा भएका सबै कुरा उनलाई भनिन्। 2सोलोमनले तिनका सबै प्रश्‍नहरूका जवाफ दिए। सोलोमनको निम्ति कुनै कुरा पनि प्रश्‍न कठिन भएन। तिनले जवाफ नदिएको कुनै पनि प्रश्‍न बाँकी रहेन। 3जब शेबाकी रानीले सोलोमनको बुद्धि, र तिनले बनाएको राजमहल देखिन्, 4तिनको टेबलको भोजन, तिनका सेवकहरूका बसाइ, तिनका सेवकहरूका काम र तिनीहरूका पोशाकहरू, र तिनका मद्य पियाउनेहरू र तिनका पोशाकहरू, र परमप्रभुको मन्‍दिरमा तिनले चढाएका होमबलिहरू देखिन्, र तिनी आश्‍चर्यचकित भइन्‌। 5तिनले राजालाई भनिन्, “तपाईंका वचन र तपाईंको बुद्धिको विषयमा मैले आफ्‍नो देशमा सुनेको कुरा साँचो रहेछ। 6म यहाँ नआएसम्‍म मैले जे सुनें त्‍यो मैले विश्‍वास गरिनँ, र अहिले मेरा आँखाले यी देखेका छन्। तपाईंको बुद्धि र सम्पत्तिको विषयमा मलाई आधा कुरा पनि भनिएको रहेनछ! तपाईंको ख्‍याति मैले सुनेको भन्दा बढी रहेछ। 7तपाईंका मानिसहरू कति धन्‍यका हुन् र निरन्‍तर तपाईंको सामु खडा रहने तपाईंका सेवकहरू कति धन्‍यका हुन् किनभने तिनीहरूले तपाईंका बुद्धिका कुराहरू सुन्‍न पाउँछन्। 8तपाईंसित प्रसन्‍न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्‍नुहुने परमप्रभु तपाईंका परमेश्‍वर धन्‍यका होउन्। किनभने इस्राएललाई सदाको निम्ति स्थापित गराउनलाई तपाईंका परमेश्‍वरले त्‍यसलाई प्रेम गर्नुभयो। तपाईंले न्‍याय र धार्मिकता कायम राख्‍नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा बनाउनुभयो!” 9तिनले राजालाई चार टन सुन, प्रशस्‍त मात्रामा मसला र बहुमूल्‍य रत्‍नहरू दिइन्‌। सोलोमन राजालाई शेबाकी रानीले दिएको जति धेरै मसलाहरू तिनलाई फेरि कसैले पनि दिएन। 10ओपीरबाट सुन ल्याउने हीरामका सेवकहरू र सोलोमनका सेवकहरूले चन्‍दनको काठ र बहुमूल्‍य रत्‍नहरू पनि ल्‍याए। 11चन्दनका काठबाट राजाले परमप्रभुको मन्‍दिर र राजमहलका सिंढी र संगीतकारहरूका निम्‍ति वीणा र सारङ्गीहरू पनि बनाए। यहूदा देशमा यसभन्दा अघि कहिल्‍यै पनि यस्‍ता काठहरू देखिएका थिएनन्‌। 12शेबाकी रानीले जे इच्‍छा गरिन् र जे मागिन् ती हरेक कुरा सोलोमन राजाले तिनलाई दिए। तिनले राजालाई ल्‍याएर दिएका थोकभन्‍दा धेरै तिनले उनलाई दिए। यसरी उनी बिदा भइन् र आफ्ना सेवकहरूका साथ आफ्‍नो देशमा फर्किन्‌। 13सोलोमनकहाँ हरेक वर्षमा आएको सुनको तौल तेईस टन हुन्‍थ्‍यो, 14यो व्‍यापारीहरू र कारोवारीले ल्याएका सुनबाहेको थियो। अरब देशका सबै राजा र प्रादेशिक गभर्नरहरूले पनि राजाको निम्‍ति सुन र चाँदी ल्‍याए। 15सोलोमन राजाले पिटेका सुनका दुई सय ठूला ढाल बनाए। प्रत्‍येक ढाल बनाउन साढे तिन किलोग्राम सुन लागेको थियो। 16पिटेको सुनका तिन सय साना ढाल पनि तिनले बनाए। प्रत्‍येक ढालमा करीब डेढ किलोग्राम सुन थियो। राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे। 17तब राजाले हस्‍ती-हाडको एउटा ठूलो सिंहासन बनाए र त्‍यसमा निखुर सुनको जलप लगाए। 18सिंहासनमा उक्‍लने छ वटा खुट्‌किला थिए, र सुनको एउटा पाउदान सिंहासनसँग जोडिएको थियो। आसनका दुवैतिर हात अड्याउने ठाउँ थिए दुवै छेउमा दुई वटा सिंह खडा थिए। 19छ वटै खुट्‌किलाका दुवैपट्टि एक-एक वटा गरी जम्‍मा बाह्र वटा सिंह खडा थिए। कुनै पनि राज्‍यमा यस्‍तो किसिमको सिंहासन थिएन। 20सोलोमनका पिउने कचौरा सबै सुनका थिए, र लेबनानको वन भनिने राजमहलमा भएका पिउने कचौरा सबै सुनका थिए। चाँदीको केही पनि थिएन, किनभने सोलोमनको समयमा चाँदीलाई बहुमूल्य ठानिइन। 21हिरामका समुद्री जहाजका साथमा राजाका पनि जहाजहरू थिए। हरेक तिन वर्षमा एक पल्‍ट यी जहाजहरूले सुन, चाँदी, हस्‍ती-हाड, ढेडुहरू र बाँदरहरू लिएर आउँथ्‍यो। 22यसरी सोलोमन राजाले धन-सम्‍पत्ति र बुद्धिमा पृथ्‍वीका अरू सबै राजालाई जितेका थिए। 23परमेश्‍वरले सोलोमनको हृदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्‍न पृथ्‍वीका सबै राजाले तिनको उपस्‍थितिमा बस्‍न खोज्‍थे। 24आउने हरेकले आफ्‍नो सौगात चाँदी र सुनका भाँडाहरू, लुगाहरू, हातहतियार र मसलाहरू अनि घोडा र खच्‍चरहरू वर्षैपिच्‍छे ल्‍याउँथे। 25सोलोमनसँग आफ्‍ना घोडा र रथहरूका निम्‍ति चार हजार तबेला थिए। अनि तिनका बाह्र हजार घोडचडी थिए, जसलाई तिनले रथहरू राख्‍ने सहरहरूमा र अरूलाई चाहिं आफूसित यरूशलेममा राखे। 26तिनले यूफ्रेटिस नदीदेखि पलिश्‍तीहरूका देश र मिश्रदेशको सिमानासम्‍मै राज्‍य गरे। 27राजासँग यरूशलेममा चाँदीचाहिं ढुङ्गैसरह थिए। तिनले देवदारुको काठचाहिं पहाडका जङ्गली अञ्‍जीरका बोटहरूसरह तुल्‍याए। 28तिनीहरूले सोलोमनका निम्ति मिश्रदेश र अरू सबै देशबाट घोडाहरू ल्याए। 29सोलोमनको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍मै नातान अगमवक्ताको इतिहास, शीलोनी अहियाहको अगमवाणी र दर्शी इद्दोका दर्शनको पुस्‍तकमा (जसमा नबातका छोरा यारोबामको विषयमा पनि जानकारी छ) वर्णन गरिएका छैनन्‌ र? 30सोलोमनले यरूशलेममा सारा इस्राएलमाथि चालिस वर्ष राज्‍य गरे। 31त्‍यसपछि तिनी आफ्‍ना पर्खाहरूसित सुते, र मानिसहरूले तिनका बुबा दाऊदको सहरमा गाडे। तिनका ठाउँमा तिनका छोरा रहबाम राजा भए

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।