सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 इतिहास 31

यो अध्याय यसमा पर्छ: De koningen van Juda

1जब यी सबै कुरा सकिए, तब उपस्थित भएका सबै इस्राएलका मानिसहरू यहूदाका सहरहरूमा गए र तिनीहरूले ढुङ्गाका खम्बाहरू फुटाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए, अनि सारा यहूदा र बेन्यामीन, अनि एफ्राइम र मनश्शेका डाँडाका थानहरू र वेदीहरू, ती सबै नाश नभएसम्‍म भत्काइदिए। तब इस्राएलीहरू हरेक आआफ्ना सम्पति र आआफ्ना सहर भएको ठाउँमा फर्के। 2पुजारीहरू र लेवीहरूका दलअनुसार हिजकियाले तिनीहरूका दलहरूलाई हरेक मानिसलाई, पुजारीहरू र लेवीहरू दुवैलाई आआफ्ना काममा लगाइदिए। तिनीहरूलाई होमबलि र मेलबलि चढाउन, सेवा गर्न, धन्यवाद दिन र परमप्रभुको मन्दिरका ढोकाहरूमा प्रशंसा गर्ने काम तिनले तिनीहरूलाई दिए। 3तिनले आफ्नै भण्डारबाट बिहान र बेलुकाका होमबलिका निम्ति, अनि शबाथ, औंसी र तोकिएका चाडहरूका निम्ति परमप्रभुको व्यवस्थामा लेखिएबमोजिम जुटाइदिए। 4यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकुन्। 5हुकुम पठाउने बित्तिकै इस्राएलका मानिसहरूले आआफ्ना अन्‍नका अगौटे फल, नयाँ दाखमद्य, तेल, मह र जमिनका सबै उब्जनीका अगौटे फल उदारचित्तले दिए। तिनीहरूले हरेक कुराका दशांश ल्याए, जुन प्रशस्त मात्रामा भयो। 6यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरू र यहूदीहरूले पनि गाईवस्तु र भेडबाख्राको दशांश, अनि परमप्रभु आफ्‍ना परमेश्‍वरमा अर्पण गरिएका सबै थोकको दशांश ल्याएर थुपारे। 7तिनीहरूले आफ्नो योगदान तेस्रो महिनामा थुपार्न सुरु गरे, र तिनीहरूले त्‍यो सातौँ महिनामा सिद्ध्याए। 8जब हिजकिया र तिनका अधिकारीहरू आए र ती थुपारिएका कुरा देखे, तब तिनीहरूले परमप्रभु र उहाँको मानिस इस्राएललाई आशिष् दिए। 9तब हिजकियाले यी थुपारिएका कुराहरूका विषयमा पुजारीहरू र लेवीहरूसित सोधपुछ गरे। 10सादोकका घरानाका प्रधान पुजारी अजर्याहले जवाफ दिए र यसो भने, “मानिसहरूले परमप्रभुको मन्दिरमा आआफ्ना भेटी ल्याएको समयदेखि हामीहरूले खाएका छौं, र प्रशस्त भयो र प्रशस्‍त उब्रेका छन्, किनकि परमप्रभुले आफ्‍ना मानिसहरूलाई आशिष् दिनुभएको छ। उब्रेकाबाट यो ठुलो मात्रा यहाँ छ।” 11तब हिजकियाले परमप्रभुको मन्दिरमा भण्डारहरू तयार गर्न हुकुम गरे, र तिनीहरूले ती तयार गरे। 12तब तिनीहरूले आआफ्ना भेटीहरू, दशांश र परमप्रभुका थोकहरू विश्‍वस्‍ततासाथ ल्याए। तिनको जिम्मा लिने अधिकृत लेवी कोनन्याह थिए, र तिनका भाइ शिमी तिनीपछिका दोस्रा थिए। 13हिजकिया राजा र परमेश्‍वरको मन्दिरका अधिकारी अजर्याहले नियुक्त गरेका कोनन्याह र तिनका भाइ शिमीको मातहतमा रही तिनीहरूलाई सहायता गर्ने यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह थिए। 14परमप्रभुलाई दिएका भेटीहरू र अर्पण गरिएका दानहरू बाँड्नको निम्ति परमेश्‍वरको निम्ति ल्याएका राजीखुशीका भेटीहरूको जिम्मा लेवी यिम्नाका छोरा पूर्व ढोकाका रक्षक कोरेलाई दिइएको थियो। 15तिनको मातहतमा पुजारीहरूका सहरहरूमा अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याह थिए। तिनीहरूका महत्व भएका र नभएका दुबै दाजुभाइलाई दल-दलअनुसार हिस्सा बाँड्ने कामको जिम्मा तिनीहरूको थियो। 16आफ्‍ना पुर्खाहरूका विवरणमा नाउँ भएका परमप्रभुको मन्दिरमा आफूलाई तोकिएको काममा दिनदिनै खट्ने तिन वर्ष र त्यसभन्दा बढी उमेरका सबै पुरुषहरूलाई आआफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए। 17आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू अनि बिस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरू सबैलाई आआफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए। 18तिनीहरूले सारा समुदाय भरका तिनका साना बालबालिका, पत्‍नीहरू र छोराछोरी सबैलाई पनि समावेस गरे, किनकि आफैलाई शुद्ध गर्नमा तिनीहरू विश्‍वासयोग्य थिए। 19आफ्ना सहरहरूका छेउछाउका बस्तीहरूमा वा हरेक सहरमा बस्‍ने हारूनका वंशका पुजारीमध्ये सबै पुरुषलाई र लेवीहरूका आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू सबैलाई पनि आआफ्ना भाग दिन विशेष मानिसहरू खटाइए। 20हिजकियाले यहूदाभरि नै यसो गरे। तिनले परमप्रभु आफ्ना परमेश्‍वरका दृष्‍टिमा असल, ठिक र विश्‍वासयोग्य काम गरे। 21परमप्रभुका मन्दिरको सेवाका हरेक काममा, व्यवस्था, र आज्ञाहरूमा, र उहाँको खोजी गर्ने हरेक कुरा तिनले आफ्नो पूरा हृदयले गरे, र तिनी सफल भए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।