सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 इतिहास 29

यो अध्याय यसमा पर्छ: De koningen van Juda

1हिजकियाले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए। तिनले यरूशलेममा उनन्‍तिस वर्ष राज्य गरे। तिनकी आमाको नाउँ अबिया थियो। तिनी जकरियाकी छोरी थिइन्। 2आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे। 3तिनको राजकालको पहिलो वर्षको पहिलो महिनामा हिजकियाले परमप्रभुको मन्‍दिरका ढोकाहरू खोले र तिनको मरम्‍मत गरे। 4तिनले पुजारीहरू र लेवीहरूलाई ल्‍याए र तिनीहरूलाई पूर्वपट्टिको चोकमा एकसाथ भेला गराए। 5तिनले तिनीहरूलाई भने, “ए लेवीहरू हो, मेरा कुरा सुन! आफू-आफूलाई पवित्र गर, र आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरको मन्‍दिरलाई पवित्र पार, र पवित्रस्‍थानबाट अपवित्र कुरा हटाइदेओ। 6किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो सो गरे। तिनीहरूले उहाँलाई त्‍यागे, परमप्रभुको बस्‍नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्यसतर्फ आफ्‍ना पीठ फर्काए। 7तिनीहरूले दलानका ढोकाहरू पनि बन्‍द गरिदिए र बत्तीहरू निभाए। तिनीहरूले इस्राएलका परमेश्‍वरको पवित्रस्‍थानमा धूप बाल्‍न र होमबलि चढाउन छोडिदिए। 8यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ। 9त्‍यसकाणले हाम्रा पुर्खाहरू तरवारले मारिएका छन्, र हाम्रा छोराहरू, हाम्री छोरीहरू र हाम्री पत्‍नीहरू यसैले कैदमा छन्‌। 10अब इस्राएलका परमप्रभु परमेश्‍वरसँग एउटा करार गर्ने कुरा मेरो हृदयमा छ, ताकि उहाँको प्रचण्‍ड क्रोध हामीहरूबाट हटोस्। 11ए मेरा छोराहरू, अब अल्छे नहोओ, किनकि परमप्रभुले उहाँको आराधना गर्नलाई उहाँको सामु खडा हुन, र तिमीहरू उहाँका सेवकहरू होऊ र धूप बाल भनेर तिमीहरूलाई चुन्‍नुभएको छ।” 12तब लेवीहरू खडा भएः कहातीहरूका मानिसहरूबाट अमासैका छोरा महत र अजर्याहका छोरा योएल, अनि मरारीहरूका मानिसहरूबाट अब्‍दीका छोरा कीश र यहललेलका छोरा अजर्याह, अनि गेर्शोनीहरूबाट जिम्‍माहका छोरा योआ र योआका छोरा अदन। 13एलीजापानका छोराहरूबाट शिम्री र यहीएल, अनि आसापका छोराहरूबाट जकरिया र मत्तन्‍याह। 14हेमानका छोराहरूबाट यहीएल र शिमी, अनि यदूतूनका छोराहरूबाट शमायाह र उज्‍जीएल। 15तिनीहरूले आआफ्‍ना दाजुभाइलाई भेला गराए, र तिनीहरूले आफैलाई पवित्र गरे, अनि परमप्रभुको वचनको अनुसरण गर्दै राजाले हुकुम गरेबमोजिम परमप्रभुको मन्‍दिरलाई शुद्ध पार्न तिनीहरू त्‍यसभित्र पसे। 16परमप्रभुको मन्‍दिर शुद्ध गर्न पुजारीहरू त्यसको भित्री भागमा पसे। तिनीहरूले परमप्रभुको मन्‍दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू बाहिर परमप्रभुका मन्‍दिरको चोकमा ल्‍याए। लेवीहरूले ती कुराहरू बोकेर किद्रोन खोल्‍सामा लगे। 17पहिलो महिनाको पहिलो दिनमा तिनीहरूले शुद्ध पार्ने काम सुरु गरे। आठौँ दिनमा तिनीहरू परमप्रभुको दलानसम्‍म पुगेका थिए। अनि अझै आठ दिनसम्‍म तिनीहरूले परमप्रभुको मन्‍दिर पवित्र गरिरहे। पहिलो महिनाको सोह्रौँ दिनमा तिनीहरूले त्‍यो काम सिद्ध्याए। 18त्‍यसपछि तिनीहरू राजमहलभित्र हिजकिया राजाकहाँ गए र भने, “हामीले परमप्रभुको मन्‍दिर जम्‍मै पवित्र गरिसक्‍यौं, अर्थात्‌ होमबलिको वेदी, त्‍यसका सबै भाँडाकुँडासमेत, अनि अर्पण गरिएको रोटी राख्‍ने टेबल, त्‍यसका सबै सामानसमेत। 19यसैले हामीले राजा आहाजले आफ्‍नो शासनकालमा विश्‍वासघाती भएर हटाएका जम्‍मै सरसामान पनि हामीले तयारी र पवित्र गर्‍यौँ। हेर्नुहोस्, ती परमप्रभुका वेदीको सामुन्‍ने राखिएका छन्‌।” 20तब राजा हिजकिया बिहान सबेरै उठेर सहरका अगुवाहरूलाई भेला गराए। तिनी परमप्रभुको मन्‍दिरमा उक्‍लेर गए। 21तिनीहरूले सात वटा साँढे, सात वटा भेडा र सात वटा थुमा ल्‍याए, अनि राज्‍य, पवित्रस्‍थान र यहूदाको लागि पापबलिको निम्‍ति सात वटा बोका ल्‍याए। तिनले पुजारीहरू, हारूनका छोराहरूलाई यी सबै परमप्रभुको वेदीमा चढाउने हुकुम गरे। 22यसैले तिनीहरूले ती साँढेहरू मारे, र पुजारीहरूले तिनका रगत लिएर वेदीमा छर्के। त्यसपछि तिनीहरूले भेडाहरू मारे, र तिनका रगत लिएर वेदीमा छर्के, र तिनीहरूले थुमाहरू पनि मारे र तिनका रगत वेदीमा छर्के। 23तिनीहरूले पापबलिको निम्‍ति बोकाहरू राजा र समुदायको अघि ल्‍याए। तिनीहरूले तीमाथि आआफ्‍ना हात राखे। 24पुजारीहरूले ती बोकाहरू मारे, र सारा इस्राएलको निम्‍ति प्रायश्‍चित गर्न पापबलि स्‍वरूप वेदीमा चढाए, किनकि होमबलि र पापबलिचाहिं सारा इस्राएलको निम्‍ति चढाउनुपर्छ भन्‍ने हुकुम राजाले दिएका थिए। 25हिजकियाले लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले आज्ञा गरेअनुसार झ्‍याली, वीणा र सारङ्गीका साथमा आआफ्‍नो काममा खटाए, किनकि यो आज्ञा परमप्रभुले आफ्‍ना अगमवक्ताहरूद्वारा दिनुभएको थियो। 26लेवीहरू दाऊदका बाजाहरू र पुजारीहरू तुरहीहरू लिएर खडा भए। 27हिजकियाले वेदीमा होमबलि वेदीमा चढाउने हुकुम दिए। जब होमबलि सुरु भयो, तब तुरहीहरू र इस्राएलका राजा दाऊदका बाजाहरूका साथमा परमप्रभुको गीत पनि सुरु भयो। 28सारा समुदायले आराधना गरे, गायकहरूले गाए, र तुरही बजाउनेहरूले बजाए। यो काम होमबलि खतम नहोउञ्‍जेल निरन्‍तर जारी रह्‍यो। 29जब तिनीहरूले बलिदान चढाइसके, राजा र तिनीसँग भएका सबैले घोप्‍टो परे र आराधना गरे। 30यसको साथै राजा हिजकिया र तिनका अगुवाहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्‍दमा परमप्रभुको स्‍तुतिगान गर्न लाए। तिनीहरूले खुसीसाथ स्‍तुति गाए र घोप्‍टो परे र आरधना गरे। 31तब हिजकियाले भने, “अब तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ। यहाँ आओ र परमप्रभुको मन्दिरमा बलिदान र धन्‍यवादका बलिहरू ल्याओ।” समुदायले बलिदानहरू र धन्‍यवाद बलिहरू ल्‍याए, र राजीखुशी हृदय हुनेहरू सबैले आआफ्‍ना होमबलि ल्‍याए। 32समुदायले ल्‍याएका होमबलिको संख्‍या सत्तरी वटा साँढे, एक सय वटा भेडा, र दुई सय वटा थुमा थिए। यी सबै परमप्रभुको निम्‍ति होमबलि थिए। 33परमप्रभुमा अर्पण गरिएका बलिदानहरू छ सय साँढे र तीन हजार भेडा थिए। 34तर सबै होमबलिका छाला काढ्नका निम्ति पुजारीहरू साह्रै थोरै थिए, यसैले तिनीहरूका दाजुभाइ लेवीहरूले त्‍यो काम नसिद्धिएसम्‍म र पुजारीहरूले आफूलाई पवित्र नपारेसम्‍म तिनीहरूलाई सघाए, किनकि आआफूलाई पवित्र पार्नलाई पुजारीहरूभन्‍दा लेवीहरू नै बढी होसियार भएका थिए। 35यसबाहेक, त्यहाँ धेरै होमबलिहरू थिए। मेलबलिको बोसोको साथमा ती चढाइए र हरेक होमबलिको निम्ति त्‍यहाँ अर्घबलि थिए। यसरी परमप्रभुका मन्‍दिरको सेवा व्‍यवस्‍थित गरियो। 36परमेश्‍वरले मानिसहरूका निम्‍ति तयार पार्नुभएको कामको कारणले हिजकिया र सबै मानिसहरू आनन्दित भए, किनकि त्‍यो काम चाँडै नै पूरा भयो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।