सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

हितोपदेश 4

यो अध्याय यसमा पर्छ: Lof van de wijsheid

1हे मेरा छोराहरू हो, बुबाको निर्देशन सुन, र ध्यान देओ ताकि समझशक्ति के रहेछ भनी तिमीहरूले जान्‍न सक। 2म तिमीहरूलाई असल निर्देशनहरू दिँदै छु। मेरो शिक्षालाई नत्याग। 3म मेरो बुबाको छोरो हुँदा, मेरी आमाको कोमल र एक मात्र सन्तान हुँदा, 4उहाँले मलाई सिकाउनुभयो, र भन्‍नुभयो, “तेरो हृदयले मेरा वचनहरू पक्रिराख्। मेरा आज्ञाहरू पालन गरेर बाँच्। 5बुद्धि र समझशक्ति प्राप्‍त गर्। मेरो मुखका वचनहरूलाई नबिर्सी र इन्कार नगर्। 6बुद्धिलाई नत्याग् र त्यसले तेरो निगरानी गर्ने छ। त्यसलाई प्रेम गर्, र त्यसले तँलाई सुरक्षा दिने छ। 7बुद्धि सबैभन्दा महत्त्वपूर्ण वस्तु हो। त्यसैले बुद्धि प्राप्‍त गर्, र समझशक्ति प्राप्‍त गर्न सबै मूल्य चुका। 8बुद्धिलाई कदर गर्, र त्यसले तँलाई माथि उठाउने छ। तैँले त्यसलाई अङ्गाल्दा त्यसले तेरो इज्‍जत गर्ने छ। 9बुद्धिले तेरो शिरमा आदरको माला पहिराइदिने छ। त्यसले तँलाई सुन्दर मुकुट दिने छ।” 10हे मेरो छोरो, मेरा वचनहरू सुन्, र तिनलाई ध्यान दे, अनि तेरो जीवनको आयु लामो हुने छ। 11म तँलाई बुद्धिको बाटोमा लैजान्छु। म तँलाई सिधा बाटाहरूमा अगुवाइ गर्छु। 12तँ हिँड्दा तेरो बाटोमा कोही खडा हुने छैन, र तँ दौडिस् भने पनि ठक्‍कर खाने छैनस्। 13निर्देशनलाई समातेर राख्; यसलाई जान नदे। यसलाई पहरा दे, किनकि यो तेरो जीवन हो। 14दुष्‍टहरूको चालमा नहिँड् र खराबी गर्नेहरूको मार्गमा नजा। 15त्यसलाई त्यागिदे; त्यसमा नहिँड्। त्यसबाट फर्केर अर्को बाटो लाग्। 16किनकि तिनीहरूले खराबी नगरेसम्म तिनीहरू सुत्‍न सक्दैनन्, र तिनीहरूले कसैलाई नलडाएसम्म तिनीहरूलाई निन्द्रै लाग्दैन। 17किनकि तिनीहरूले दुष्‍टताको रोटी खान्छन्, र हिंसाको मद्य पिउँछन्। 18तर धर्मी मानिसहरूको मार्ग प्रभातको पहिलो किरणजस्तै हो। मध्यदिन नआएसम्म यो झन्-झन् चम्किलो हुन्छ। 19दुष्‍टहरूको मार्ग अन्धकारजस्तै छ। तिनीहरू केमा ठक्‍कर खान्छन् भनी तिनीहरूलाई थाहै हुँदैन। 20हे मेरो छोरो, मेरा वचनहरूलाई ध्यान दे। मेरा भनाइहरू सुन्‍न तेरो कान थाप। 21तेरो नजरबाट तिनलाई उम्केर जान नदे। तिनलाई तेरो हृदयमा राख्। 22किनकि मेरा वचनहरू पाउनेका लागि ती जीवन हुन्, र तिनीहरूको पुरै शरीरको लागि स्वास्थ्य हो। 23तेरो हृदयलाई सुरक्षित राख्, र पुरा मेहनतसाथ यसको रक्षा गर्, किनकि यसबाट नै जीवनका मूलहरू उम्रन्छन्। 24कुवाक्यलाई तँबाट पर राख्, र भ्रष्‍ट कुराकानीलाई तँबाट टाढा राख्। 25तेरा आँखाले सिधा अगाडि हेरून्, र तेरो अगिल्तिर सिधा एकटक लगाएर हेर्। 26तेरो खुट्टाको लागि नैतिकताको मार्ग बना। तब तेरा सबै मार्गहरू सुरक्षित हुने छन्। 27दाहिने वा देब्रेतिर नलाग्। खराबीबाट तेरो चाललाई फर्का।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।