सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

हितोपदेश 2

यो अध्याय यसमा पर्छ: Lof van de wijsheid

1हे मेरो छोरो, तैँले मेरा वचनहरू ग्रहण गरिस् र मेरा आज्ञाहरूलाई तेरो मनमा राखिस् भने, 2बुद्धिका कुराहरू सुन्‍न तेरो कान थापिस्, र तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने, 3तैँले समझशक्तिको लागि पुकारा गरिस्, र यसको लागि सोर उचालिस् भने, 4तैँले चाँदीलाई झैँ यसलाई खोजिस्, र गाडधनलाई झैँ समझशक्तिको खोजी गरिस् भने, 5तैँले परमप्रभुको भय बुझ्ने छस्, र परमेश्‍वरको ज्ञान पाउने छस्। 6किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन्। 7उहाँलाई खुसी तुल्याउनेहरूका लागि उहाँले पक्‍का बुद्धि साँचेर राख्‍नुभएको छ। निष्‍ठामा चल्नेहरूका लागि उहाँ ढाल हुनुहुन्छ। 8उहाँले न्यायका मार्गहरूलाई सुरक्षा दिनुहुन्छ, र उहाँप्रति विश्‍वासयोग्य हुनेहरूको मार्ग रक्षा गर्नुहुन्छ। 9तब तैँले धार्मिकता, न्याय, समानता र हरेक असल मार्गलाई बुझ्ने छस्। 10किनकि बुद्धि तेरो हृदयमा आउने छ, र ज्ञान तेरो प्राणको लागि आनन्ददायक हुने छ। 11विवेकले तँमाथि निगरानी गर्ने छ; समझशक्तिले तेरो रक्षा गर्ने छ। 12तिनीहरूले तँलाई दुष्‍ट चालबाट र छली कुराहरू गर्नेबाट जोगाउने छन्। 13त्यस्ताहरूले ठिक मार्गलाई त्याग्छन्, र अन्धकारका मार्गमा हिँड्छन्। 14तिनीहरूले खराबी गर्दा तिनीहरू रमाउँछन्, र दुष्‍टका बदमासीहरूमा आनन्द मनाउँछन्। 15तिनीहरू बाङ्गाटिङ्गा बाटाहरूमा हिँड्छन्, र छलको प्रयोग गर्दै तिनीहरूले आफ्ना चाल लुकाउँछन्। 16बुद्धि र विवेकले तँलाई व्यभिचारी स्‍त्री, र अनैतिक स्‍त्रीसाथै त्यसका चाप्लुसी वचानहरूबाट बचाउने छ। 17त्यसले आफ्नो युवावस्थाको मित्रलाई त्याग्छे, र आफ्ना परमेश्‍वरको करारलाई भुल्छे। 18किनकि त्यसको घरले मृत्युमा डोर्‍याउँछ, र त्यसका बाटाहरूले तँलाई चिहानमा भएकाहरूकहाँ पुर्‍याउने छन्। 19त्यसकहाँ जाने कोही पनि फेरि फर्केर आउने छैनन्, र तिनीहरूले जीवनका मार्गहरू भेट्टाउने छैनन्। 20त्यसकारण असल मानिसहरूको बाटोमा हिँड्, र धर्मी मानिसहरूको मार्गको पछि लाग। 21किनकि ती ठिक गर्नेहरूले देशमा घर बनाउने छन्, र निष्‍ठावान्‌हरू यसमा रहने छन्। 22तर दुष्‍टहरूचाहिँ देशबाट जरैदेखि उखेलिने छन्, र विश्‍वासहीनहरू यसबाट मिल्काइने छन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।