सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

मर्कूस 7

यो अध्याय यसमा पर्छ: In Galilea

1यरूशलेमबाट आएका फरिसीहरू र केही शास्‍त्रीहरू उहाँको वरिपरि भेला भए। 2तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले खाएको देखे। 3(फरिसी र सबै यहूदी आफ्ना हात राम्ररी नधोउन्जेल केही खाँदैनन्, तिनीहरू आफ्ना धार्मिक अगुवाहरूको परम्परामा लागि पर्छन्, 4जब फरिसीहरू बजारबाट आउँछन्, तिनीहरू आफैँ ननुहाईकन केही खाँदैनन्। कचौरा, भाँडाहरू, काँसाका भाँडाहरू र खानलाई बस्‍ने ठाउँहरू धुनेलगायत धेरै नियम तिनीहरू कडाइका साथ पालन गर्छन्।) 5फरिसी र शास्‍त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्पराअनुसार चल्दैनन्, किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्?” 6तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यशैयाले तिमी पाखण्डीहरूको विषयमा राम्ररी भविष्यवाणी गरे, उनले लेखे, ‘यी मानिसहरूले मलाई तिनीहरूका ओठले आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढिएको छ।’ 7तिनीहरूको शिक्षाको रूपमा मानिसहरूका नियमहरूलाई सिकाउँदै तिनीहरूले मलाई खोक्रो आराधना चढाउँछन्। 8तिमीहरू परमेश्‍वरको आज्ञालाई त्याग्दछौ र मानिसहरूको परम्परालाई पक्री राख्छौ।” 9अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू परमेश्‍वरको आज्ञालाई सहजै इन्कार गर्दछौ, कि तिमीहरूले आफ्नो परम्परा पालन गर्न सक! 10किनभने मोशाले भने, ‘तिम्रो बुबा र आमाको आदर गर’, र ‘जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ, त्यो निश्‍चय नै मारिनेछ।’ 11तर तिमीहरू भन्छौ, ‘यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, “तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो त कुर्बान हो’ (अर्थात् परमेश्‍वरलाई दिइएको छ)।” 12तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिँदैनौ। 13तिमीहरूले परमेश्‍वरको आज्ञालाई चल्दै आएको आफ्नो परम्पराले व्यर्थ तुल्याएका छौ। र तिमीहरू त्यस्तै धेरै काम गर्छौ।” 14उहाँले भिडलाई फेरि बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मेरो कुरा सुन, र बुझ। 15व्यक्‍तिलाई बाहिरबाट त्यसभित्र पसेर त्यसलाई नै अशुद्ध पार्न सक्‍ने त्यस्तो कुनै कुरा छैन। व्यक्‍तिबाट बाहिर निस्कने कुराले नै त्यसलाई अशुद्ध पार्छ।” 16(नोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा १६ पद हटाइएको छ) यदि कुनै मानिससित सुन्‍ने कान छ भने त्यसले सुनोस्। 17जब येशूले भिडहरूलाई छोडेर घरभित्र पस्‍नु‍भयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे। 18येशूले भन्‍नुभयो, “के तिमीहरूले अझ पनि बुझेका छैनौ? के तिमीहरू देख्‍दैनौ, कि बाहिरबाट मानिसभित्र पस्‍ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन, 19किनकि यो उसको हृदयमा जान सक्दैन, तर उसको पेटमा जान्छ र निस्‍केर शौचालयमा पुग्‍छ?” यो भनाइद्वारा येशूले सबै भोजनलाई शुद्ध तुल्याउनुभयो। 20उहाँले भन्‍नुभयो, “मानिसको भित्रबाट जुन कुरा बाहिर निस्कन्छ त्यसले नै त्यसलाई अशुद्ध पार्छ। 21किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्‍ट विचार, यौन अनैतिकता, चोरी, हत्या, 22व्यभिचार, लोभ, दुष्‍टता, धोखा, कामुकता, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्। 23यी सबै खराबी भित्रबाट नै आउँछन्, र यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छन्।” 24उहाँ त्यहाँबाट उठ्नुभयो र त्यहाँबाट टुरोस र सीदोनको क्षेत्रतिर जानुभयो। उहाँ एउटा घरभित्र आउनुभयो र उहाँ त्यहाँ हुनुहुन्छ भनी कसैले थाहा नपाऊन् भन्‍ने उहाँ चाहनुहुन्थ्यो, तैपनि उहाँ लुक्‍न सक्‍नुभएन। 25तर तुरुन्तै एउटा स्‍त्रीले उहाँको बारेमा सुनिन् र त्यहाँ आईन् जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो। तिनी उहाँको पाउमा घोप्‍टो परिन्। 26ती स्‍त्री एक ग्रिक र सिरियाको फोनिकेमा जन्मेकी थिइन्। तिनले आफ्नी छोरीबाट भूत निकाली दिनलाई उहाँसँग बिन्ती गरिन्। 27उहाँले तिनलाई भन्‍नुभयो, “छोराछोरीहरूलाई पहिले खुवाइयोस्। किनकि छोराछोरीहरूको रोटी खोसेर कुकुरहरूलाई दिनु ठिक होइन।” 28तर तिनले जवाफ दिएर उहाँलाई भनिन् “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूको टेबलबाट झरेको रोटीका टुक्राहरू त खान्छन् नि।” 29उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्‍त्र छौ। तिम्री छोरीबाट भूत निस्केर गएको छ।” 30तिनी आफ्नो घर फर्केर गइन् र आफ्नी छोरी ओछ्यानमा पल्टिरहेकी पाइन्, र भूत निस्केर गएको थियो। 31उहाँ फेरि टुरोसको क्षेत्रबाट निस्केर सिदोन हुँदै डेकापोलिसको प्रदेश भएर गालील समुद्रतिर जानुभयो। 32तिनीहरूले सुन्‍न नसक्‍ने र बोल्‍न कठिनाइ भएको कसैलाई उहाँकहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनु हुन अनुरोध गरे। 33उहाँले त्यसलाई भिडबाट एकातिर एकान्तमा लैजानुभयो र त्यसको कानमा औला हाल्नुभयो र थुकिसकेपछि उहाँले त्यसको जिब्रो छुनुभयो। 34उहाँले स्वर्गतिर हेर्नुभयो; सुस्केरा हाल्‍नुभयो र त्यसलाई भन्‍नुभयो, “इफ्फाता” जसको अर्थ हुन्छ, “खोलिजा।” 35तुरुन्तै त्यसको कान खोलियो, र त्यसको जिब्रोलाई बाधा दिने कुरा नष्‍ट भयो र त्यसले प्रस्टसँग बोल्न सक्यो। 36उहाँले कसैलाई केही पनि नभन्‍नू भनी तिनीहरूलाई आज्ञा गर्नुभयो। तर उहाँले जति धेरै तिनीहरूलाई त्यस्तो आज्ञा दिनुभयो त्यति धेरै तिनीहरूले यसलाई बताए। 37तिनीहरू अत्यन्तै अचम्मित भए र भने, “उहाँले सबै कुरा असल गर्नुभएको छ। उहाँले बहिरालाई सुन्‍ने र गुँगोलाई बोल्ने पनि बनाउनुहुन्छ।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।