सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

मर्कूस 6

यो अध्याय यसमा पर्छ: In Galilea

1उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए। 2जब विश्रामको दिन आयो उहाँले सभाघरमा सिकाउनुभयो। धेरैले उहाँको शिक्षा सुने र छक्‍क परे। तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए? यिनलाई कस्तो बुद्धि दिइएको रहेछ? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन्?” 3“के यिनी सिकर्मी होइनन् र? के यिनी मरियमका पुत्र अनि याकूब, योसेफ, यहूदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू हामीसित छैनन् र?” र तिनीहरू येशूद्वारा क्रुद्ध पारिए। 4येशूले तिनीहरूलाई भन्‍नुभयो, “एउटा अगमवक्‍ताको आफ्नो गाउँ, नातेदार र आफ्नो घर परिवारबाहेक कहीँ पनि अनादर हुँदैन।” 5केही बिरामी मानिसहरूमा हात राखेर निको बनाउनुबाहेक त्यहाँ उहाँले कुनै शक्‍तिशाली कामहरू गर्न सक्‍नुभएन। 6तिनीहरूको अविश्‍वासले उहाँलाई अच्‍चम्मित तुल्यायो। अनि उहाँ गाउँहरूभरि शिक्षा दिँदै हिँड्नुभयो। 7उहाँले बाह्र जनालाई बोलाउनुभयो, र अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो र दुई-दुई जना गरी तिनीहरूलाई पठाउनुभयो। 8र उहाँले यात्रामा एउटा लट्ठीबाहेक न रोटी न झोला र कम्मरमा पैसा नै बोक्‍न दिनुभयो। 9तर उहाँले चप्पल लगाउन र दुई ओटा दौरा नलगाउनलाई निर्देशन दिनुभयो। 10उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरू कुनै घरभित्र पस्छौ, त्यो ठाउँ नछोडेसम्‍म त्यहीँ बस। 11यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन भने त्यो ठाउँ छोड, र तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू।” 12तिनीहरू त्यहाँबाट बाहिर गए र मानिसहरू आफ्नो पापबाट फर्केर आउनुपर्छ भनी घोषणा गरे। 13तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे। 14हेरोद राजाले यो सुने, किनभने येशूको नाउँ प्रसिद्ध भएको थियो। केहीले भनिरहेका थिए, “बप्‍तिस्मा-दिने यूहन्‍ना मृत्युबाट जीवित भई उठे। त्यसैले, यी आश्‍चर्यकर्महरू उहाँद्वारा हुँदै छन्।” 15अरूहरूले भने, “यिनी एलिया हुन्”, अझ हरूहरूले भने, “यिनी प्राचीन समयका एक जना अगमवक्‍ताहरूमध्ये एक हुन्।” 16तर जब हेरोदले यो सुने, तिनले भने, “यूहन्‍ना, जसको मैले टाउको कटाएको थिएँ, तिनी जीवित भई उठेछन्!” 17किनभने हेरोदले यूहन्‍नालाई हेरोदियास (तिनको भाइकी पत्‍नी) को कारण गिरफ्तार गर्न र कैदमा हाल्न लगाए, किनभने तिनले उनलाई विवाह गरेका थिए। 18किनभने यूहन्‍नाले हेरोदलाई भने, “आफ्नो भाइकी पत्‍नीलाई विवाह गर्न तिनलाई उचित छैन भनेका थिए।” 19तर हेरोदियासले वैरभाव राखेकि थिइन् र तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्, 20किनभने हेरोद यूहन्‍नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्‍ने तिनलाई थाहा थियो, अनि हेरोदले उनलाई सुरक्षित राखे। तिनको प्रचार सुन्दा हेरोद अशन्त हुन्थे, तरै पनि खुसीसाथ सुन्थे। 21त्यसपछि एउटा उपयुक्‍त मौका मिल्यो। हेरोदले तिनको जन्म दिनमा आफ्ना भारदारहरू, कप्‍तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए। 22हेरोदियासकी छोरी आफैँ आइन् र तिनीहरूको लागि नाचिन् अनि तिनले हेरोद र उनका पाहुनाहरूलाई प्रशन्‍न तुल्याइन्। राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्‍छ सो माग, म तिमीलाई दिनेछु।” 23तिनले शपथ खएर भने, “तिमीले मसित जे माग्छौ, म तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु।” 24तिनी बाहिर निस्किन् र आफ्नी आमालाई भनिन्, “म तिनीसित के मागौँ?” र तिनले भनिन्, “बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर।” 25तिनी तुरुन्तै राजाकहाँ आइन् र यसो भन्दै मागिन्, “मलाई झट्टै बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर थालीमा दिनुहोस् भन्‍ने म चाहन्छु।” 26राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले तिनको बिन्‍ती इन्कार गर्न सकेनन्। 27त्यसैले, राजाले आफ्ना रक्षकहरूमध्ये एक जना सिपाहीलाई यूहन्‍नाको शिर ल्याउने आदेश दिएर पठाए। सुरक्षाकर्मी गए र झ्यालखानामा उनको टाउको काटे। 28सिपाहीले थालमा उनको टाउको ल्याए र ती केटीलाई दिए, र ती केटीले आफ्नी आमालाई दिइन्। 29त्यो सुनेर यूहन्‍नाका चेलाहरू आए, र उनको लासलाई चिहानमा राखे। 30अनि प्रेरितहरू येशूको वरिपरि भेला भए, र तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई बताए। 31उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफैँ निर्जन स्थानमा आओ र केही समय आराम गर।” किनभने धेरै जना आउने र जाने गरिरहेका थिए र तिनीहरूसँग खाना खाने समय पनि थिएन। 32त्यसैले, उहाँहरू डुङ्गा चढेर निर्जन स्थानतिर जानुभयो। 33तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे। 34जब उहाँहरू समुयद्र तटमा आउनुभयो, उहाँले ठुलो भिड देख्‍नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, किनकि उनीहरू गोठालाविनाका भेडाहरूजस्तै थिए। अनि उहाँले धेरै कुरा सिकाउन थाल्नुभयो। 35जब ढिला भयो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र समय गइसकेको छ। 36उनीहरूलाई पठाउनुहोस्, ताकि उनीहरू नजिकैको गाउँघरतिर जाऊन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्‍न सकून्।” 37तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै उनीहरूलाई केही खानेकुरा देओ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनारी वराबरको रोटी किन्‍न जाऊँ र उनीहरूलाई खान दिऊँ?” 38उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्? जाओ र हेर।” जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, “पाँच रोटी र दुई माछा छन्।” 39उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह-समूहमा मिलेर बस्‍ने आज्ञा गर्नुभयो। 40उनीहरू सय र पचासको समूह- समूहमा बसे। 41जब उहाँले पाँच रोटी र दुईवटा माछा लिनुभयो, स्वर्गतिर हेरर आशिष्‌‌ दिनुभयो, र भाँच्‍नुभयो अनि त्यो भिडलाई बाँडिदिन चेलाहरूलाई दिनुभयो। अनि उहाँले दुईवटा माछा पनि सबै जनालाई बाँडिदिनुभयो। 42तृप्‍त नहुन्जेल उनीहरू सबै जनाले खाए। 43तिनीहरूले बाह्र डालाभरी टुक्रा रोटीहरू बटुले र माछाका टुक्राहरू पनि बटुले। 44त्यहाँ रोटी खानेहरू पाँच हजार जना थिए। 45उहाँका चेलाहरूलाई डुङ्गामा चढ्न लगाएर उहाँले भिडलाई पारिपट्टि बेथसेदातिर उहाँभन्दा अगि जना लगाउनुभयो। 46जब तिनीहरू गए, त्यसपछि उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो। 47साँझ पर्‍यो, र अब डुङ्गा समुद्रको बिचमा थियो, र उहाँ जमिनमा एकलै हुनुहुन्थ्यो। 48तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्‍नुभयो, किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो। लगभग रातको चौथो पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्‍न चाहनुभयो। 49तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनुभएको देखे, उहाँ भूत हुनुहन्थ्यो भनेर तिनीहरू चिच्‍च्याए, 50किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए। अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साहसी होओ। म नै हुँ। नडराओ।” 51उहाँ तिनीहरूसँगै डुङ्गामा चढ्नुभयो, र बतास चल्न छोड्यो। तिनीहरू पूर्ण रूपमा अचम्मित भए। 52किनभने तिनीहरूले रोटीको अर्थ के हो भनी बुझेका थिएनन्। बरु तिनीहरूका हृदय कठोर पारिएको थियो। 53जब उहाँहरू पारी तरे, उहाँहरू गनेसरेतमा आए, र डुङ्गालाई त्यहीँ अड्‍याए। 54जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरुन्तै चिने। 55तिनीहरू सबै क्षेत्रमा गए, र उहाँ जहाँ-जहाँ आउँदै हुनुहुन्छ भनी तिनीहरूले सुने तिनीहरूले त्यहाँ-त्यहाँ बिरामीहरूलाई उहाँकहाँ ओछ्यानसँगै ल्याउन थाले। 56जहाँ-जहाँ उहाँ गाउँहरूमा, सहरहरूमा, वा ग्रामीण ठाउँहरू भएर जानुहुन्थ्यो उनीहरूले बिरामीहरूलाई बजार क्षेत्रहरूमा राख्थे र उनीहरूले उहाँको कपडाको छेउ मात्र भए पनि छुन दिइयोस् भनी बिन्ती गर्थे। र जतिले छोए, तिनीहरू निको हुन्थे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।