सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

मर्कूस 14

यो अध्याय यसमा पर्छ: In Jeruzalem

1यो निस्तार र अखमरी रोटीको चाडभन्दा दुई दिनअगि थियो। मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई कसरी गुप्‍त रूपमा गिरफ्‍तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए। 2किनकि तिनीहरूले भनिरहेका थिए, “चाडको समयमा होइन, ताकि मानिसहरूमाझ दङ्गा उत्पन्‍न नहोस्।” 3जब येशू बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एक जना स्‍त्री अति मूल्यवान् तरल पदार्थ सिङ्गमरमरको शिशीमा लिएर येशूकहाँ आइन्, जुन शुद्ध जटामसी थियो। तिनले त्यो शिशीलाई फुटाइन् र उहाँको टाउकोमा खन्याइन् 4तर त्यहाँका कोही-कोही रिसाए। तिनीहरूले आपसमा कुरा गरे र भने, “के कारणको लागि यो खेर फालिँदै छ? 5यो अत्तरलाई तिन सय चाँदीका सिक्‍काभन्दा बढीमा बेच्‍न सकिन्थ्यो र गरिबहरूलाई दिन सकिन्थ्यो।” र तिनीहरूले तिनलाई गाली गर्दै थिए। 6तर येशूले भन्‍नुभयो, “तिनलाई छोडिदेओ। तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ? तिनले मेरो निम्ति सुन्दर काम गरेकी छन्। 7गरिबहरू तिमीहरूसँग सधैँ हुन्छन्, र तिमीहरू जहिले चाहन्छौ तिनीहरूको निम्ति गर्न सक्छौ, तर म त तिमीहरूसित सधैँ हुनेछैन। 8तिनले जे गर्न सक्थिन् त्‍यही गरिन्ः तिनले मेरो शरीरलाई दफनको निम्ति अभिषेल गरेकी छन्। 9साँच्‍चै, म तिमीहरूलाई भन्दछु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ यी स्‍त्रीले गरेकी काम तिनको सम्झनामा बताइनेछ। 10अनि बाह्रमध्येका एक जना यहूदा इस्करियोत मुख्य पुजारीहरूकहाँ गयो, ताकि त्यसले उहाँलाई तिनीहरूका हातमा सुम्पन सकोस्। 11जब मुख्य पुजारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने वाचा गरे। उसले येशूलाई तिनीहरूका हातमा सुम्पनलाई अवसर हेर्न थाल्यो। 12अखमिरी रोटीको पहिलो दिन उनीहरूले निस्तारको थुमा चढाउने बेला उहाँका चेलाहरूले उहाँलाई भने, “हामी कहाँ गएर तयारी गरेको तपाईं चाहनुहुन्छ, ताकि तपाईंले निस्तारको खाना खान सक्‍नुभएको होस्?” 13उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई पठाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सहरमा जाओ र एक जना पानीको गाग्रो बोक्‍ने मानिसले तिमीहरूलाई भेट्नेछ र उसलाई पछ्याओ। 14जुन घरभित्र ऊ पस्छ, उसलाई पछ्याओ र त्यस घरको मालिकलाई भन, “गुरुज्यू भन्‍नुहुन्छ, मेरो पाहुना कोठा कहाँ छ जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु?” 15उनले तिमीहरूलाई एउटा तयार भएको ठुलो माथिल्लो तलाको कोठा देखाउनेछन्। त्यहाँ नै हाम्रो निम्ति तयारी गर्नू।” 16चेलाहरू निस्के र सहरतिर लागे। तिनीहरूले उहाँले तिनीहरूलाई भन्‍नुभएजस्तै पाए र तिनीहरूले निस्तार-चाडको तयारी गरे। 17जब साँझ पर्‍यो, उहाँ आफ्ना बाह्र जना चेलासँग आउनुभयो। 18जब उहाँहरू टेबुलमा अडेस लागेर खाँदै हुनुहुन्थ्यो, येशूले भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, मसँग खाइरहेकाहरूमध्ये एक जनाले मलाई धोखा दिनेछ।” 19उनीहरू सबै एकदमै निराश भए, र तिनीहरू एक-एक जनाले उहाँलाई भने, “के म त होइन?” 20येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “यी बाह्र जनामध्येका एक हुन्, जसले मसँग अहिले कचौरामा रोटी चोपिरहेको छ। 21मानिसका पुत्र धर्मशास्‍त्रमा उसको बारेमा लेखिएबमोजिम जानेछ। तर धिक्‍कार! जसद्वारा मानिसका पुत्रलाई धोखा दिइनेछ। त्यसको निम्ति त्यो त नजन्मेको भए नै असल हुने थियो।” 22तिनीहरूले खाँदै गर्दा येशूले रोटी लिनुभयो; आशिष्‌‌ दिनुभयो, र भाँच्‍नुभयो। उहाँले यो तिनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “यो लेओ। यो मेरो शरीर हो।” 23उहाँले कचौरा लिनुभयो; धन्यवाद दिनुभयो; तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए। 24उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो। यो रगत धेरैका निम्ति बगाइएको छ।” 25साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यो दाखको फलबाट तबसम्म पिउनेछैनँ जबसम्म मैले परमेश्‍वरको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ। 26जब उहाँहरूले एउटा भजन गाउनुभयो, उहाँहरू जैतून डाँडामा जानुभयो। 27येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबै मेरो कारणले पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई हिर्काउनेछु र भेडाहरू छरपष्‍ट हुनेछन्।’ [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा “मेरो कारणले” भन्‍ने पदावली छैन।] 28तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” 29पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे पनि म पछि हट्नेछैनँ।” 30येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्दछु, कि यस रात भाले दुई पल्ट बास्‍नुअगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ।” 31तर पत्रुसले भने, “यदि म तपाईंसँगै मर्नुपर्छ भने पनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ।” तिनीहरू सबैले उही प्रतिज्ञा गरे। 32उहाँहरू गेतसमनी भन्‍ने ठाउँमा आइपुग्‍नुभयो र येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना गर्दा यहाँ बस।” 33उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई आफूसँग लानुभयो, र उहाँ दुःखित र अति व्याकुल हुनुभयो। 34उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण मरेजतिकै गहिरो वेदनामा छ। यहाँ बस र जागा रहो।” 35येशू अलि परतिर जानुभयो, भुइँमा लम्पसार पर्नुभयो र प्रार्थना गर्नुभयो, कि यदि यो सम्भव थियो भने यो घडी उहाँबाट हटेर जाओस्। 36उहाँले भन्‍नुभयो, “हे अब्बा, पिता तपाईंमा सबै थोक सम्भव छ। यो कचौरा मबाट हटाउनुहोस्। तर मेरो इच्छा होइन, तपाईंको इच्छा पुरा होस्।” 37उहाँ फर्केर आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, के तिमी पनि मस्त निद्रामा छौ? के एक घण्टा पनि जागा रहन सकेनौ? 38जागा रहो र परीक्षामा नपरौँ भनी प्रार्थना गर। वास्तवमा आत्मा त तत्पर छ, शरीर कमजोर छ।” 39उहाँ फेरि जानुभयो अनि प्रार्थना गर्नुभयो र उहाँले उही वचनहरू प्रयोग गर्नुभयो। 40फेरि उहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा लोलाएका थिए र उहाँलाई के भन्‍ने भनी तिनीहरूले जानेनन्। 41उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका छौ र आराम गरिरहेका छौ? भयो! समय आएको छ। हेर! मानिसका पुत्र पापीहरूको हातमा सुम्पिँदै छ। 42उठ र जाऔँ। हेर, मलाई धोखा दिने नजिकै छ।” 43उहाँ बोल्दै गर्नुहुँदा बाह्र जनामध्येको यहूदा आइपुग्यो अनि त्योसँग मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरूबाट आएका तरवार र लाठा बोकेको एउटा ठुलो हुल थियो। 44अब, उहाँलाई विश्‍वासघात गर्नेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, ऊ त्‍यही हो। उसलाई समात र सुरक्षा घेरामा लैजाओ।” 45जब यहूदा आयो, तुरुन्तै त्यो येशूकहाँ आयो र भन्यो, “रब्बी!” र त्यसले उहाँलाई चुम्बन गर्‍यो। 46त्यसपछि तिनीहरूले उहाँमाथि हात हाले र पक्रे। 47तर त्यहाँ उभिनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुते र मुख्य पुजारीका नोकरको कान काटिदिए। 48येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू डाँकुको विरुद्धमा आएझैँ तरवार र भाला लिएर आउँछौ? 49जब म तिमीहरूसँग दैनिक हुन्थेँ र मैले मन्दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ। तर धर्मशास्‍त्र पुरा होस् भनेर यस्तो भयो।” 50अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे। 51एक जना जवान मानिस उहाँको पछि लाग्यो जसले सूतीको कपडा मात्र लगाएका थिए जसलाई तिनको कम्मरमा बेह्रिएको थियो; तिनीहरूले त्यसलाई पक्रे, तर 52उसले त्यो सूतीको कपडा त्यहीँ नै छाडे र नाङ्गै भागे। 53तिनीहरूले उहाँलाई प्रधान पुजारीकहाँ लगे। त्यहाँ तिनीसँग मुख्य पुजारीहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू भेला भएका थिए। 54अब पत्रुसले चाहिँ टाढैबाट उहाँलाई प्रधान पुजारीको घरको आँगनसम्म पछ्याए। तिनी पहरेदारहरूसँगै बसे, जसले न्यानो हुन आगो ताप्दै थिए। 55अब, मुख्य पुजारीहरू र सबै यहूदी परिषद्‍ले येशूको विरुद्धमा गवाही खोजिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन सकून्। तर तिनीहरूले कुनै पनि कुरा भेट्टाएनन्। 56किनभने धेरैले उहाँको विरुद्धमा झुटो गवाही ल्याए, तर तिनीहरूका गवाही मिलेन। 57कोही खडा भए र उहाँको विरुद्धमा झुटो गवाही ल्याए; तिनीहरूले भने, 58“यसले यसो भनेको हामीले सुन्यौँ, ‘हातद्वारा बनाइएका यो मन्दिर मैले नष्‍ट गर्नेछु, र तिन दिनमा हातविना नै बनाइएको अर्को मन्दिर मैले बनाउनेछु।’” 59तापनि तिनीहरूको गवाही एकै मतको भएन। 60प्रधान पुजारी तिनीहरूका बिचमा उभिए र येशूलाई सोधे, “के तिमी कुनै जवाफ दिँदैनौ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिएका गवाही के हुन् नि?” 61तर उहाँ चुपचाप रहनुभयो, र जवाफ दिनुभएन। प्रधान पुजारीले उहाँलाई फेरि प्रश्‍न गरे र भने, “के तिमी धन्यका पुत्र ख्रीष्‍ट हौ?” 62येशूले भन्‍नुभयो, “म हुँ। र तिमीहरूले मानिसका पुत्रलाई शक्‍तिको दाहिने हातपट्टि बसेको र आकाशको बादलसँग आएको देख्‍नेछौ।” 63प्रधान पुजारीले आफ्नो लुगा च्याते र भने, “के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र? 64तपाईंहरूले ईश्‍वर-निन्दा सुन्‍नुभएकै छ। तपाईंहरूको के निर्णय छ?” अनि तिनीहरू सबैले मृत्युको योग्य भएकालाई झैँ दोष लगाए। 65केहीले उहाँलाई थुक्‍न र उहाँको अनुहार छोप्‍न र हिर्काउन थाले र भने, “भविष्‍यवाणी गर्!” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे। 66पत्रुस तल आँगनमा हुँदा प्रधान पुजारीका नोकर्नीहरूमध्ये एक जना तिनीकहाँ आई। 67त्यो न्यानो हुन आगोको नजिक उभिँदा त्यसले पत्रुसलाई देखी र उनलाई नियालेर हेरी। त्यसले भनी, “तिमी पनि येशू नासरीसँग थियौ?” 68तर उनले इन्कार गरे र भने, “तिमीले के भनिरहेका छौ, मैले न बझ्छु न जान्दछु। त्यसपछि उनी आँगनमा गए। [टिपोटः केही प्राचीन प्रतिलिपिहरूले “अनि भाले बास्यो” भनी थप्छन्, तर उत्कृष्‍ट प्राचीन प्रितिलिपिहरूले यसलाई समावेश गरेका छैनन्।] 69तर नोकर्नीले उनलाई त्यहाँ देखी र ती उभिएकाहरूलाई फेरि भन्‍न थाली, “यो मान्छे पनि तिनीहरूमध्येकै एक जना हो।” 70तर उनले फेरि पनि इन्कार गरे। केही समयपछि त्यहाँ उभिनेहरूले पत्रुसलाई भने, “निश्‍चय नै, तिमी पनि तिनीहरूमध्येकै एक हौ, किनकि तिमी पनि गालीली नै हौ।” 71तर उनले आफैँलाई सराप्‍न र किरिया हालेर भन्‍न लागे, “तिमीहरूले कुरा गरिरहेका यी मानिसबारे मलाई केही थाहा छैन।” 72तुरुन्तै भाले दोस्रो चोटि बास्यो। त्यसपछि पत्रुसले येशूले उनलाई भन्‍नुभएका वचनहरू स्मरण गरेः “दुई चोटि भाले बास्‍नुअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ।” र उनी धुरुधुरु रोए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।