सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

मर्कूस 1

यो अध्याय यसमा पर्छ: Begin

1यो परमेश्‍वरको पुत्र प्रभु येशू ख्रीष्‍टको सुसमाचारको सुरुवात हो। 2जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु, जसले तिम्रो बाटो तयार पार्नेछ।” 3“उजाड-स्थानमा कोही बोलाउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’।” 4यूहन्‍ना उजाड-स्थानमा बप्‍तिस्मा दिँदै र पाप-क्षमाको निम्ति पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए। 5यहूदियाको पुरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए। तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्मा लिए। 6यूहन्‍नाले ऊँटको रौँबाट बनेको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्‍थे र तिनले सलहहरू र वन मह खान्थे। 7उनले प्रचार गरे र भने, “मपछि कोही आउँदै हुनुहुन्छ जो मभन्दा शक्‍तिशाली हुनुहन्छ, र म त उहाँको चप्पलको फित्ता फुकाल्न निहुरन योग्य पनि छैन। 8मैले तिमीहरूलाई पानीले बप्‍तिस्मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ।” 9ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो। 10जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्‍नुभयो। 11अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ। तिमीसँग म अति प्रसन्‍न छु।” 12त्यसपछि पवित्र आत्माले उहाँलाई उजाड-स्थानमा जान बाध्य गराउनुभयो। 13उहाँ शैतानद्वारा परीक्षित हुँदै चालिस दिनसम्म उजाड-स्थानमा रहनुभयो। उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे। 14अब यूहन्‍ना पक्राउ परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो। 15र भन्‍नुभयो, “समय पुरा भएको छ, र परमेश्‍वरको राज्य नजिकै छ। पश्‍चात्ताप गर र सुसमाचारमा विश्‍वास गर। 16गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्‍नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए। 17येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु।” 18तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे। 19जसै येशू हिँडेर अलि अगाडि पुग्‍नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र उनका भाइ यूहन्‍नालाई देख्‍नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए। 20उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले तिनीहरूको पितालाई भाडाका नोकरहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे। 21र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि शबाथ-दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो। 22तिनीहरू उहाँको शिक्षामा छक्‍क परे, किनकि उहाँले तिनीहरूलाई शास्‍त्रीहरूले जस्तो होइन, तर अधिकार भएको व्यक्‍तिले जस्तै सिकाइरहनुभएको थियो। 23त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो। त्यो चिच्‍च्यायो र 24भन्‍यो, “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म चिन्छु। तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ।” 25येशूले भूतलाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज!” 26अनि अशुद्ध आत्माले त्यसलाई पछार्‍यो, र त्यो अशुद्ध आत्मा ठुलो स्वरमा चिच्‍च्याउँदै त्यसबाट निस्कियो। 27अनि सबै मानिस छक्‍क परेर एक आपसमा भन्‍न लागे, “यो के हो? अधिकारसहितको एउटा नयाँ शिक्षा! उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा मान्छन्!” 28उहाँको बारेमा भएको समाचार तुरुन्तै गालीलका सबै क्षेत्रमा जताततै फैलियो। 29सभाघरबाट बाहिर निस्‍कनुभएपछि उहाँहरू याकूब र यूहन्‍नासँगै सिमोन र अन्द्रियासको घरमा जानुभयो। 30अब सिमोनकी सासू जरो आएर सुतिरहेकी थिइन्। तिनीहरूले तिनको विषयमा येशूलाई बताए। 31यसकारण, उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो; जरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन्। 32त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँकहाँ ल्याए। 33सारा सहर नै त्यो घरको ढोकामा भेला भए। 34उहाँले विभिन्‍न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे। 35उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो; र उहाँ एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो। 36सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे। 37तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन्।” 38उहाँले भन्‍नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔँ, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ। त्यसैको लागि म यहाँ आएँ। 39उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो। 40एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो। त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो; त्यसले घुँडा टेक्‍यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ।” 41येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्‍नुभयो, “म चाहन्छु। तिमी शुद्ध होइजाऊ।” 42तुरुन्तै कुष्‍ठ रोगले त्यसलाई छोड्‍यो र त्यो शुद्ध भयो। 43येशूले त्यसलाई कडाइका साथ चेतावनी दिनुभयो र त्यसलाई पठाउनुभयो। 44उहाँले त्यसलाई भन्‍नुभयो, “कसैलाई केही नभन, तर जाऊ र पुजारीकहाँ आफैँलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम तिनीहरूलाई गवाहीको रूपमा तिम्रो शुद्धिकरणको निम्ति बलि चढाऊ।” 45तर त्यो व्‍यक्‍ति गयो र सबैलाई भन्‍न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुलमखुला जान सक्‍नुभएन। यसकारण, उहाँ एकान्त ठाउँहरूमा बस्‍नुभयो, र मानिसहरू उहाँकहाँ आए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।