सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

मर्कूस 15

यो अध्याय यसमा पर्छ: In Jeruzalem

1बिहान सबेरै मुख्य पुजारीहरूसँगै धर्म-गुरुहरू, शास्‍त्रीहरू र सम्पूर्ण यहूदी परिषद्‍सँगै भेला भए। अनि तिनीहरूले येशूलाई बाँधे र लिएर गए। तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए। 2पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ।” 3मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए। 4पिलातसले फेरि पनि येशूलाई सोधे, “किन तिमी जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन्?” 5तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन, र जसले गर्दा तिनी छक्‍क परे। 6अब चाडको समयमा पिलातसले सामान्यतया तिनीहरूले अनुरोध गरेअनुसार एउटा कैदीलाई मुक्‍त गर्थे। 7विद्रोहमा विद्रोहीहरूसँगै सहभागी भएका हत्याराहरूमध्ये त्यहाँ झ्यालखानामा बारब्बा नाउँ गरेका एक जना मानिस कैदमा थिए। 8भिड पिलातसकहाँ आयो र तिनले विगतमा गरेझैँ तिनीहरूका निम्ति गर्नलाई अनुरोध गर्न थाले। 9पिलातसले तिनीहरूलाई जवाफ दिए र भने, “के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्‍त गरेको चाहन्छौ?” 10किनभने डाहको कारणले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्‍ने तिनलाई थाहा थियो। 11तर मुख्य पुजारीहरूले भिडलाई बरु बारब्बालाई नै मुक्‍त गरिनुपर्छ भनी कराउन उक्साएका थिए। 12पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्यसो भए यहूदीहरूका राजालाई म के गरूँ त?” 13तिनीहरू फेरि चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस्!” 14पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्‍च्याए, “त्यसलाई क्रुसमा टाँग्‍नुहोस्।” 15पिलातसले भिडलाई सन्तुष्‍ट पार्न चाहे। त्यसैले, तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए। तिनले येशूलाई कोर्रा लगाए र क्रुसमा टाँग्‍नको निम्ति सुम्पिदिए। 16सिपाहीहरूले उहाँलाई (ब्यारेकभित्रको) चोकमा लगे र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई सँगै बोलाए। 17तिनीहरूले येशूलाई बैजनी रङको पोशाक पहिराइदिए र तिनीहरूले काँडाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए। 18तिनीहरूले “हे यहूदीहरूका राजा” भनी उहाँलाई सलाम गर्न थाले। 19तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए र उहाँलाई थुके। तिनीहरूले सम्मानमा उहाँको सामु घुँडा टेके। 20जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्‍न लिएर गए। 21तिनीहरूले गाउँबाट आइरहेका (अलेक्जेन्डर र रुफसका बुबा) कुरेनीका सिमोन नाउँ गरेका एउटा बटुवालाई सेवा गर्न दबाब दिए; तिनीहरूले तिनलाई येशूको क्रुस बोक्‍न कर लगाए। 22सिपाहीहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए (जसको अर्थ हुन्छः “खप्परको ठाउँ”)। 23तिनीहरूले उहाँलाई सिर्का मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्यो पिउनुभएन। 24तिनीहरूले उहाँलाई क्रुसमा टाँगे र प्रत्येक सिपाहीले उहाँको पोशाकको कुनचाहिँ टुक्रा लिने भनी एक-आपसमा चिट्ठा हाले र भाग लगाए। 25तिनीहरूले उहाँलाई क्रुसमा टाँग्‍दा तेस्रो पहर भएको थियो। 26तिनीहरूले उहाँको विरुद्धमा यस्‍तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा।” 27तिनीहरूले उहाँसँग दुई जना डाँकुलाई क्रुसमा टाँगेः एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि। 28[टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा २८ पदलाई हटाइएको छ (लूका २२:३ लाई हेर्नुहोस्) पद २८] अनि “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्‍ने धर्मशास्‍त्रको वचन पुरा भयो। 29त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, “आहा! तिमीले त मन्दिरलाई नष्‍ट गरेर तिन दिनभित्र नै निर्माण गर्थ्यौ त, 30आफैँलाई बचाऊ र क्रुसबाट ओर्लेर आऊ!” 31त्यसै गरी, मुख्य पुजारीहरूले शास्‍त्रीहरूसँग मिलेर एक-आपसमा यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “त्यसले अरूहरूलाई त बचायो, तर आफैँलाई बचाउन सक्दैन। 32इस्राएलका राजा ख्रीष्‍ट क्रुसबाट तल ओर्लेर आओस्, ताकि हामी देखेर विश्‍वास गर्न सकौँ।” अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्‍ला गरे। 33छैटौँ घडीदेखि नवौँ घडीसम्म सारा जगत्‌मा अन्धकार छायो। 34नवौँ घडीमा येशू ठुलो स्वरमा यसो भन्दै कराउनुभयो, “इलोई, इलोई, लामा सबख‍थनी?” जसको अर्थ, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, मलाई किन त्याग्‍नुभएको?” भन्‍ने हुन्छ। 35त्यहाँ उभिएकाहरूमध्ये केहीले यो सुनेर भने, “हेर, त्यसले एलियालाई बोलाउँदै छ।” 36कोही दौडेर गए एउटा स्पन्जमा सिर्का हाले, र यसलाई निगालोको लट्ठीमा राखे, अनि उहाँलाई दिए। त्यो मानिसले भने, “उसलाई तल झर्न एलिया आउँछन् कि हेरौँ है त।” 37तब येशू ठुलो सोरले कराउनुभयो र प्राण त्याग्‍नुभयो। 38मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा चिरियो। 39जब त्यहाँ उभिएर येशू यसरी मर्नुभएको देख्‍ने कप्‍तानले यो देखे, तिनले भने, “साँच्‍चै, यी मानिस परमेश्‍वरका पुत्र नै थिए।” 40त्यहाँ टाढाबाटै हेर्ने स्‍त्रीहरू पनि थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी, मरियम (सानो याकूब र योसेफकी आमा), र सलोमी थिए। 41उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याए र उहाँको सेवा गरे। अरू धेरै स्‍त्री पनि उहाँसँग यरूशलेम आएका थिए। 42जब साँझ पर्‍यो, यो तयारी गर्ने दिन अर्थात् शबाथ-दिनको अगिल्लो दिन भएको हुनाले 43अरिमाथियाका योसेफ त्यहाँ आए। तिनी परिषद्का आदरणीय व्‍यक्‍ति थिए, जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए। तिनी साहसका साथ पिलातसकहाँ गए, अनि येशूको लास मागे। 44येशू पहिले नै मरिसक्‍नुभएको थियो भनी सुन्दा पिलातस छक्‍क परे; तिनले कप्‍तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे। 45जब तिनले येशू मरिसक्‍नुभएको कुरा कप्‍तानबाट थाहा पाए, तिनले येशूको शरीर योसेफलाई दिए। 46योसेफले मलमलको कपडा ल्याएका थिए। तिनले उहाँलाई क्रुसबाट तल झारे; उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे। तब तिनले चिहानको मुखमा एउटा ढुङ्गालाई गुडाएर छोपे। 47मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्‍ने देखेका थिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।