सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रेरित 9

यो अध्याय यसमा पर्छ: Judea en Samaria

1तर शाऊल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्याको धम्की दिँदै प्रधान पूजाहारीकहाँ गए 2र त्यस मार्गका पुरुष होस् या स्‍त्री जोसुकैलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी तिनले दमस्कसका सभाघरहको नाउँमा पत्र मागे। 3तिनी जाँदै गर्दा जब तिनी दमस्कस नजिकै आइपुगे तब अकस्मात् तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो। 4तिनी भुइँमा ढले र तिनले यसो भन्‍ने आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ?” 5शाऊलले जवाफ दिए, “प्रभु, तपाईं को हुनुहुन्छ?” प्रभुले भन्‍नुभयो, “म येशू हुँ जसको तिमी खेदो गर्दैछौ। 6तर उठ र सहरमा जाऊ र तिमीले के गर्नुपर्छ भनी तिमीलाई बताइनेछ।” 7शाऊलसँगै यात्रा गर्ने मानिसहरूले आवाजचाहिँ सुने तर तिनीहरूले कसैलाई देखेनन् र तिनीहरू अवाक् भई उभिरहे। 8शाऊल भुइँबाट उठे र तिनले आफ्ना आँखा खोल्दा तिनले केही देखेनन्। त्यसैले, तिनीहरूले हात समातेर तिनलाई दमस्कस पुर्‍याए। 9तिनी तिन दिनसम्म दृष्‍टिविहीन भए र तिनले न खाए न पिए। 10दमस्कसमा हननिया नाउँ गरेका चेला थिए। प्रभुले दर्शनमा तिनलाई भन्‍नुभयो, “ए हननिया” तिनले भने, “प्रभु, म यहीँ छु।” 11प्रभुले तिनलाई भन्‍नुभयो, “उठ र सोझो भनिने गल्लीमा जाऊ र त्यहाँ यहूदाको घरमा टार्ससका शाऊल नाउँ गरेका मानिसको खोजी गर। किनकि तिनी प्रार्थना गर्दैछन्। 12र तिनले दृष्‍टि पाउन सकून् भनेर तिनले दर्शनमा हननिया नाउँका मानिसले तिनीमाथि हात राखेको देखेका छन्।” 13तर हननियाले जवाफ दिए, “प्रभु, तिनले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भन्‍ने बारेमा मैले धेरै मानिसहरूबाट सुनेको छु। 14तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन्।” 15तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्यजातिहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन्। 16किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु।” 17त्यसैले, हननिया गए र त्यस घरभित्र प्रवेश गरे। तिनीमाथि आफ्ना हात राख्दै उनले भने, “भाइ शाऊल, तिमीले आफ्नो दृष्‍टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ।” 18तुरुन्तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे र तिनले दृष्‍टि पाए। तिनी उठे र बप्‍तिस्मा लिए। 19तिनले केही खाएपछि तिनमा ताकत आयो। तिनी केही दिनसम्म दमस्कसका चेलाहरूसँगै बसे। 20तुरुन्तै येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे। 21तिनका कुरा सुन्‍नेहरू सबै छक्‍क परे र तिनीहरूले भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै होइनन् र? के तिनी उनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान यहाँ आएका होइनन् र?” 22तर प्रचारको लागि शाऊल अझै शक्तिशाली बने र येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाण दिएर दमस्कसमा बस्‍ने यहूदीहरूलाई तिनले अकमक्‍क पारिदिए। 23धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्यन्‍त्र रचे। 24तर शाऊलले तिनीहरूको षड्यन्‍त्र थाहा पाए। तिनलाई मार्ने उद्देश्यले तिनीहरू दिनरात ढोकाहरूमा चेवा गरेर बस्थे। 25तर तिनका चेलाहरूले तिनलाई राती नै पर्खालबाट टोकरीमा हालेर खसालिदिए। 26शाऊल यरूशलेममा आएपछि तिनी चेलाहरूसँग मिल्न खोजे। तर तिनी चेला हुन् भन्‍ने कुरा नपत्याएर तिनीहरू सबै तिनीदेखि डराए। 27तर बारनाबासले तिनलाई चेलाहरूकहाँ ल्याए। दमस्कसको बाटोमा कसरी शाऊलले प्रभुलाई देखे र प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले उनीहरूलाई बताए। 28यरूशलेमको भित्र-बाहिर गर्दा तिनले उनीहरूलाई भेटे। तिनले साहसपूर्वक प्रभु येशूको नाउँमा बोले। 29र तिनले ग्रिक-यहूदीहरूसित वादविवाद गरे। तथापि उनीहरूले तिनलाई मार्न खोजिरहे। 30भाइहरूले यो कुरा थाहा पाएर तिनलाई कैसरिया ल्याए र त्यहाँबाट तिनलाई टार्सस पठाइदिए। 31यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो। परमप्रभुको भय र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो। 32पत्रुस पुरै इलाकामा जाने क्रममा तिनी लुड्‌डा नगरमा बस्‍ने परमेश्‍वरका मानिसहरूकहाँ पनि आइपुगे। 33तिनले त्यहाँ एनियास नाउँका कोही एक जना मानिसलाई भेट्टाए जो आठ वर्षसम्म ओछ्यानमा थिए किनकि तिनलाई पक्षाघात भएको थियो। 34पत्रुसले तिनलाई भने, “ए एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको पार्नुहुन्छ। उठ र तिम्रो ओछ्यान मिलाऊ।” तिनी तुरुन्तै उठे। 35लुड्‌डा र शारोनमा बस्‍ने सबैले ती मानिसलाई देखे र तिनीहरू प्रभुमा आए। 36अब योप्पामा तबीता (ग्रिकमा डोरकास) नाउँकी एक जना चेली थिइन्। यी स्‍त्री असल काम र कृपापूर्ण कार्यले भरिएकी थिइन् र उनले गरिबहरूको हेरचाह गर्थिन्। 37ती दिनमा उनी बिरामी परिन् र मरिन्। तिनीहरूले उनको मृत शरीरलाई धोएर माथिल्लो कोठामा राखे। 38लुड्‌डा योप्पाबाट नजिकै भएकोले र पत्रुस त्यहाँ थिए भनी चेलाहरूले सुनेकाले तिनीहरूले यस्तो अनुरोध गर्न तिनीकहाँ दुई जना मानिस पठाए, “विलम्ब नगरीकन हामीकहाँ आइदिनुहोस्।” 39पत्रुस उठे र तिनीहरूसँगै गए। तिनी आइपुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे। पत्रुसको नजिकै बसेका सबै विधवाहरू रुँदै थिए र तिनीहरूले डोरकास तिनीहरूसँग छँदा उनले बनाएका वस्‍त्रहरू र अरू पोशाकहरू तिनलाई देखाउँदै थिए। 40पत्रुसले सबैलाई कोठाबाट बाहिर पठाए र घुँडा टेकी प्रार्थना गरे। मृतकपट्टि फर्केर तिनले भने, “ए तबीता, उठ।” उनले आफ्ना आँखा खोलिन् र पत्रुसलाई देखेपछि उनी बसिन्। 41त्यसपछि पत्रुसले उनलाई आफ्ना हातले उठाए। तिनले विश्‍वासीहरू र विधवाहरूलाई डाके र तिनीहरूको उपस्थितिमा उनलाई जीवित प्रस्तुत गरे। 42यो खबर सारा योप्पाभरि फैलियो र धेरै मानिसहरूले प्रभुमा विश्‍वास गरे। 43पत्रुस धेरै दिनसम्म योप्पामा सिमोन नाउँ गरेका चर्मकारसँग बसे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

Statenvertaling (1637) · World English Bible (2000) · पवित्र बाइबल (2019): © 2019 Door43 World Missions Community, door43.org, via eBible.org. CC BY-SA 4.0; notes and headings omitted. · स्रोत र इजाजतपत्रहरू

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।