सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रेरित 10

यो अध्याय यसमा पर्छ: Judea en Samaria

1कैसरिया सहरमा कर्नेलियस नाउँका एक जना मानिस थिए जो इटालिया नामक पल्टनका कप्‍तान थिए। 2तिनी ईश्‍वरभक्त मानिस थिए। तिनी र तिनका सारा घरानाले परमेश्‍वरको आराधना गर्थे। तिनले यहूदीहरूलाई धेरै रूपैयाँ-पैसा सहयोग गरे र तिनले सधैँ परमेश्‍वरलाई प्रार्थना चढाइरहन्थे। 3दिउँसो तिन बजेतिर तिनले दर्शनमा परमेश्‍वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे। स्वर्गदूतले भने, “ए कर्नेलियस” 4कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र भयभीत हुँदै भने, “हजुर, भन्‍नुहोस्।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्‍वरको उपस्थितिमा पुगेका छन्। 5पत्रुस पनि भनेर चिनिने सिमोन भनिने मानिसलाई ल्याउन योप्पा शहरमा मानिसहरू पठाऊ। 6तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा छ।” 7आफूसित बोल्ने स्वर्गदूत गएपछि कर्नेलियसले आफ्नो घरका दुई जना नोकर र तिनको सेवा गर्ने सिपाहीहरूमध्ये परमेश्‍वरलाई पुज्‍ने एक जना सिपाहीलाई बोलाए। 8कर्नेलियसले तिनीहरूलाई सबै कुरा बताएर तिनीहरूलाई योप्पा पठाए। 9भोलिपल्ट लगभग दिउँसोको बाह्र बजेको थियो। तिनीहरू यात्रा गरेर शहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले। 10तिनी भोकाए र तिनलाई केही खान मन लाग्यो। तर मानिसहरूले खानेकुरा पकाइरहँदा तिनीले एउटा दर्शन देखे। 11तिनले आकास खुलेको र एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे जुन चारै कुनामा बाँधिएको एउटा ठुलो तन्‍नाजस्तो थियो। 12त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू, पृथ्वीमा घस्रने जन्तुहरू र आकासका चराचुरुङ्गीहरू थिए। 13त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “पत्रुस, उठ अनि मारेर खाऊ।” 14तर पत्रुसले भने, “हुँदैन प्रभु। किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ।” 15तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्‍वरले जेलाई शुद्ध पार्नुभएको छ तिमीले त्यसलाई अशुद्ध नभन।” 16तिन पटकसम्म यसै भयो। त्यसपछि त्यो तन्‍नाजस्तो वस्तु तुरुन्तै आकासतिर लगियो। 17आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अन्योलमा परिरहँदा कर्नेलियसले पठाइएका मानिसहरू ढोकाको सामु खडा भए। तिनीहरू घर खोज्दै त्यहाँ आइपुगेका थिए। 18पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले सोधे। 19पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्‍नुभयो, “हेर, तिन जना मानिसले तिम्रो खोजी गर्दैछन्। 20उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग। तिनीहरूसँगै जानदेखि नडराऊ किनकि मैले नै तिनीहरूलाई पठाएको हुँ।” 21त्यसैले, पत्रुस ती मानिसहरूकहाँ ओर्ले र तिनले भने, “तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ। तपाईंहरू किन आउनुभएको?” 22तिनीहरूले भने, “परमेश्‍वरको आराधना गर्ने कर्नेलियस नाउँ गरेका कप्‍तान धर्मी मानिस हुनुहुन्छ जो सारा यहूदी जातिको बिचमा प्रसिद्ध हुनुहुन्छ। परमेश्‍वरका पवित्र स्वर्गदूतले तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई आज्ञा दिए ताकि उहाँले तपाईंको सन्देश सुन्‍न सकून्।” 23त्यसैले, पत्रुसले तिनीहरूलाई भित्र आई तिनी र तिनका मानिसहरूसित बस्‍न निमन्‍त्रणा दिए। भोलिपल्‍ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए। योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे। 24अर्को दिन तिनीहरू कैसरिया आइपुगे। कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए। तिनले आफ्ना नातेदारहरूसाथै घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए। 25पत्रुस भित्र पसेपछि कर्नेलियसले तिनलाई स्वागत गरे र तिनको सम्मान गर्दै तिनले दण्डवत् गरे। 26तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्नुहोस्। म आफैँ पनि केवल मानिस हुँ।” 27पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे। 28पत्रुसले तिनीहरूलाई भने, “तपाईंहरूलाई थाहा छ कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो। तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्‍नु हुँदैन भनी परमेश्‍वरले मलाई देखाउनुभएको छ। 29त्यसकारण, मलाई बोलाइँदा म गनगन नगरीकन आएँ। तपाईंहरूले मलाई किन बोलाउनुभएको?” 30कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा दिउँसो तिन बजे प्रार्थना गरिरहँदा सेतो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए। 31तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानको सम्झना गर्नुभएको छ। 32त्यसैले, कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ। तिनी सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् जुन समुद्रको छेउमा पर्छ।’ 33त्यसैले, तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ। तपाईं गनगन नगरीकन आइदिनुभयो। अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै यहाँ परमेश्‍वरको उपस्थितिमा छौँ।” 34तब पत्रुसले आफ्नो मुख खोलेर भनेः “साँच्‍चै म जान्दछु कि परमेश्‍वरले कसैको पक्षपात गर्नुहुन्‍न। 35बरु, हरेक जातिमा उहाँको आराधना गर्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ। 36परमेश्‍वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ। उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्‍टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो। 37यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ। 38ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्‍वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो। उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्‍वर उहाँसित हुनुहुन्थ्यो। 39यहूदीहरूको देश र यरूशलेम दुवैमा उहाँले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौँ। यही येशूलाई तिनीहरूले काठमा झुण्ड्याएर मारे। 40परमेश्‍वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो, 41सबैकहाँ होइन तर परमेश्‍वरले पहिले नै छान्‍नुभएका साक्षीहरूकहाँ। हामी नै ती साक्षीहरू हौँ जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौँ र पियौँ। 42परमेश्‍वरले उहाँलाई नै जिउँदा र मरेकाहरूको न्यायकर्ता हुन चुन्‍नुभएको छ भनी मानिसहरूलाई प्रचार गर्न र गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो। 43सबै अगमवक्‍ताहरूले उहाँको गवाही दिएका छन् ताकि उहाँमाथि विश्‍वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस्।” 44पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्‍नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो। 45पत्रुससँगै आएका यहूदी विश्‍वासीहरू छक्‍क परे किनकि पवित्र आत्माको वरदान अन्यजातिहरूलाई पनि दिइएको थियो। 46किनभने तिनीहरूले यी अन्यजातिहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्‍वरको प्रशंसा गरेका सुने। तब पत्रुसले जवाफ दिए, 47“हामीले जस्तै पवित्र आत्मा प्राप्‍त गर्ने यी मानिसहरूलाई पानीको बप्‍तिस्मा लिनदेखि कसैले रोक्‍न सक्छ?” 48तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लिनू भन्‍ने आज्ञा दिए। तिनीहरूले तिनलाई केही दिन तिनीहरूसँगै बस्‍न अनुरोध गरे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।