सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रेरित 18

यो अध्याय यसमा पर्छ: De reizen van Paulus

1यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्थमा गए। 2त्यहाँ उनले इटालीबाट आएका अकिला नाउँ गरेका पोन्टस निवासी एक यहूदी र तिनकी पत्‍नी प्रिस्किलालाई भेटे। किनभने क्लाउडियसले यहूदीहरूलाई रोम छाड्न आदेश दिएका थिए; र पावल तिनीहरूकहाँ आए। 3पावल तिनीहरूसँगै बसे र काम गरे किनकि उनीहरूको पेसा मिल्दथ्यो। तिनीहरूले पाल बनाउँथे। 4तब पावल हरेक सबाथ-दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवै समुदायका मानिसहरूसँग बहस गर्न थाले। 5तर जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावललाई पवित्र आत्माले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउन लगाउनु भयो। 6तर जब यहूदीहरूले पावलको विरोध गरे, तब आफ्नो कपडा टकटक्याउँदै पावलले तिनीहरूलाई यसो भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु। अबदेखि म अन्यजातिहरूकहाँ जानेछु।” 7तब उनी त्यो ठाउँ छाडेर तीतस युस्तसको घरमा गए जसले परमेश्‍वरको आराधना गर्दथे। उनको घर सभाघरको छेउमा पर्दथ्यो। 8सभाघरका अगुवा क्रिस्पस र तिनका सारा परिवारले प्रभुमा विश्‍वास गरे। पावलका कुरा सुन्‍ने कोरिन्थका धेरै मानिसहरूले विश्‍वास गरे र बप्‍तिस्मा लिए। 9राति दर्शनमा प्रभुले पावललाई भन्‍नुभयो, “नडराऊ, तर बोल र चुप नलाग। 10किनकि म तिमीसँग छु र तिमीलाई कसैले हानि गर्न सक्‍नेछैन किनकि यस सहरमा मेरा थुप्रै मानिसहरू छन्।” 11त्यस ठाउँमा पावल एक वर्ष छ महिनासम्म बसे र तिनीहरूका बिचमा परमेश्‍वरको वचन सिकाए। 12तर जब गालियो अखैयाका शासक बने तब यहूदीहरू एक भई पावलको विरुद्धमा उठे र फैसला गर्न पावललाई न्याय आसनको सामु ल्याए। 13तिनीहरूले भने, “यस मानिसले व्यवस्थाको विपरित परमेश्‍वरको आराधना गर्न लगाउँछ।” 14तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू; यदि यो कुनै गल्ति वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुने थियो। 15तर यी शब्दहरू र नाउँहरू त तिमीहरूका आफ्नै व्यवस्थासँग सम्बन्धित विषयमा भएकाले तिमीहरू आफैँ मिलाऊ। यी विषयहरूमा म न्याय गर्न चाहन्‍नँ।” 16तब गालियोले तिनीहरूलाई न्याय आसन छोडेर जाने आदेश दिए। 17तर तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्याय आसनको अगाडि नै पिटे। तर गालियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन्। 18धेरै दिन त्यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि अकिला र प्रिस्किलालाई साथमा लिएर जहाज चढी सिरियातिर अगि बढे। बन्दरगाह छोड्नुभन्दा पहिले किंक्रियामा पावलले आफ्नो कपाल खौरे किनकि उनले नाजरी भाकल गरेका थिए। 19जब उनीहरू एफिससमा आइपुगे तब पावलले अकिला र प्रिस्किलालाई त्यहीँ छोडे। तर उनीचाहिँ सभाघरमा गए र यहूदीहरूसँग बहस गरे। 20तिनीहरूले पावललाई अझै केही समय बस्‍न अनुरोध गरे तर उनले इन्कार गरे। 21तर तिनीहरूसँग बिदा लिँदै उनले भने, “यदि परमेश्‍वरको इच्छा भएमा म तपाईंहरूकहाँ फर्किआउनेछु।” त्यसपछि उनी जहाज चढेर एफिससतर्फ लागे। 22कैसरियामा जहाजबाट उत्रेपछि पावल उक्लेर यरूशलेममा गए र त्यहाँको मण्डलीलाई अभिवादन गरे अनि एन्टिओखियातर्फ झरे। 23त्यहाँ केही समय बिताएपछि पावल त्यहाँबाट फ्रिगिया र गलातिया क्षेत्रका सबै चेलाहरूलाई उत्साह दिँदै गए। 24अब अपोलोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, उनी पनि एफिससमा आए। उनी धर्मशास्‍त्रीय ज्ञानमा र बोल्नमा दक्ष थिए। 25अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका व्यक्ति थिए। आत्मामा जोशिलो हुँदै येशू ख्रीष्‍टको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे तर उनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्र ज्ञान थियो। 26अपोलोसले सभाघरहरूमा बडो साहसका साथ बोल्न थाले। जब अकिला र प्रिस्किलाले उनको बारेमा सुने तब तिनीहरू उनको साथ लागे र उनलाई परमेश्‍वरको वचनको बारेमा अझै ठिकसँग बताइदिए। 27जब उनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले उनलाई त्यहाँ जान प्रोत्साहन दिए र अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे। त्यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई ठूलो मद्दत गरे। 28धर्मशास्‍त्रद्वारा येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा सबैका सामु प्रमाणित गरेर देखाउन सक्‍ने अपोलोको शक्ति र सीप देखेर यहूदीहरू नाजवाफ भए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।