सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रेरित 2

यो अध्याय यसमा पर्छ: In Jeruzalem

1जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै जना एकै ठाउँमा थिए। 2एक्‍कासि स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्‍का जस्तै आवाज आयो र तिनीहरू बसिरहेको पुरै घर भरियो। 3आगोका जिब्राहरू जस्ता तिनीहरूकहाँ देखा परे र भागभाग भएर तिनीहरू हरेकमाथि बसे। 4तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले। 5यरूशलेममा स्वर्गमुनि भएका हरेक जातिबाट आएका ईश्‍वरभक्त यहूदीहरू बसिरहेका थिए। 6जब यो आवाज सुनियो मानिसहरूका भिड एकसाथ आए र अन्योलमा परे किनभने हरेकले तिनीहरू तिनीहरूका आफ्नै भाषामा बोलिरहेका सुने। 7तिनीहरू छक्‍क र चकित भए र तिनीहरूले भने, “साँच्‍चै, के यी बोलिरहनेहरू गालीलीहरू होइनन्? 8त्यसो भए किन तिनीहरूले हाम्रो आफ्नै भाषाहरूमा नै बोलिरहेका हामी हरेकले सुनिरहेका छौँ? 9पार्थीहरू र मादीहरू र एलामीहरू र मेसोपोटामिया, यहूदिया र कापाडोकिया, पोन्टस र एसिया 10फ्रिगिया र पाम्फिलिया, मिश्र र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्दाहरू, र रोमका आगन्तुकहरू, 11यहूदीहरू र यहूदी मत मान्‍नेहरू, क्रेट निवासी र अरबीहरू छौँ। तिनीहरूले परमेश्‍वरका महान् कामहरूका बारेमा हाम्रै भाषामा बताइरहेका हामीले सुन्दैछौँ।” 12तिनीहरू सबै जना चकित र जिल्ल परेर तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो?” 13तर अरूले चाहिँ गिज्याए र भने, “तिनीहरू नयाँ मद्यले टन्‍न भएका छन्।” 14तर पत्रुस एघार जनासँगै खडा भएर उच्‍च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्‍ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरो कुरा ध्यान दिएर सुन्‍नुहोस्। 15किनभने तपाईंहरूले ठान्‍नुभएजस्तो यी मानिसहरू मातेका छैनन्, कारण अहिले दिनको तेस्रो प्रहर मात्र भएको छ। 16तर अगमवक्‍ता योएलद्वारा यो कुरा बोलिएको छः 17‘परमेश्‍वर भन्‍नुहुन्छ, “अन्त्यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु, तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन्। 18ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्याउनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन्। 19म माथि स्वर्गमा अचम्मका कुराहरू र तल पृथ्वीमा रगत, आगो, र धुवाँको मुस्लोका चिन्हहरू देखाउनेछु। 20परमप्रभुको महान् र असाधारण दिन आउनअगि सूर्य अँध्यारोमा र चन्द्रमा रगतमा परिणत हुनेछ। 21यस्तो हुनेछ कि परमेश्‍वरको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ। 22हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्‍नुहोस्∶ परमेश्‍वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्‍वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ। 23परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो। 24उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्‍वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन। 25किनभने दाऊदले उहाँको बारेमा भनेकाछन्, ‘परमप्रभुलाई मैले सधैँ मेरो मुहार अगाडि देखेँ। उहाँ मेरो दाहिने हात नजिक हुनुहुन्छ, यसकारण म नडगमगाउनु पर्दैन। 26यसकारण मेरो हृदय आनन्दित थियो र मेरो जिब्रोले आनन्द मनायो। मेरो शरीरले पनि दृढतामा वास गर्नेछ। 27किनभने तपाईंले मेरो प्राणलाई पातालमा त्याग्‍नुहुनेछैन न त तपाईंले तपाईंका पवित्रजनलाई कुहिन दिनुहुनेछ। 28तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो। तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ। 29हे दाजुभाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा दृढतासाथ बोल्न सक्छु∶ तिनी मरे र गाडिए र तिनको चिहान आजको दिनसम्म हामीसँग छ। 30यसकारण तिनी एक अगमवक्‍ता थिए र परमेश्‍वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुने थियो भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो। 31तिनले यो कुरा पहिला नै देखे र ख्रीष्‍टको पुनरुथानको बारेमा यसरी बताए, ‘उहाँ नत पातालमा त्यागिनु भयो नत उहाँको शरीर नै कुहियो।’ 32यी नै येशूलाई परमेश्‍वरले जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौँ। 33यसकारण उहाँ परमेश्‍वरको दाहिने हातपट्टि उठाइनुभयो र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर, उहाँले यो खन्याउनुभएको छ जुन तपाईंहरू सुन्‍नु र देन्‍नु हुन्छ। 34दाऊद आफैँ स्वर्ग चढेनन् तर तिनी भन्‍छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “मेरो दाहिने हातपट्टि बस, 35जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन।”’ 36यसकारण इस्राएलका सबै घरानाले यो निश्‍चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट दुवै बनाउनु भयो। 37जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौँ?” 38अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ। 39यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो।” 40अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे। तिनले भने, “यो दुष्‍ट पुस्ताबाट तिमीहरूले आफैँलाई बचाओ।” 41तब तिनीहरूले तिनको वचन ग्रहण गरे र बप्‍तिस्मा लिए र झन्डै तिन हजार प्राणहरू त्यस दिन थपिए। 42तिनीहरू प्रेरितहरूको शिक्षा र सङ्गति, रोटी भाँच्‍ने कार्य र प्रार्थनामा लागिरहे। 43हरेक व्यक्तिमाथि डर छायो र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए। 44विश्‍वास गर्नेहरू सबै जना सँगसँगै बस्थे र तिनीहरूका सबै चिज साझा थिए। 45र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र विश्‍वासीहरूको आवश्यकता अनुसार एकअर्कामा बाँडचुँड गरे। 46यसरी तिनीहरू दिनहुँ एकै उद्देश्यसहित मन्दिरमा भेला हुन्थे र तिनीहरूले घरघरमा रोटी भाँच्थे र हृदयको नम्रता र आनन्दसाथ एकअर्कामा भोजन बाँडचुँड गर्थे। 47तिनीहरूले परमेश्‍वरको महिमा गर्थे र सबै मानिसहरूमाझ शुभेच्छा थियो। प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्‍नुभयो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।