सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 राजाहरू 9

यो अध्याय यसमा पर्छ: Tot de val van Samaria

1अगमवक्ताहरूका छोराहरूमध्ये एक जनालाई एलीशा अगमवक्ताले बोलाए र तिनलाई भने, “यात्राको लागि लुगा लगाऊ, अनि तिम्रो हातमा तेलको यो सानो भाँडो लेऊ र रामोत-गिलादमा जाऊ। 2तिमी पुगेपछि निम्शीका नाति, यहोशापातका छोरा येहूलाई खोज, अनि भित्र जाऊ र तिनका साथीहरूका बिचबाट तिनलाई उठाऊ र भित्री कोठामा लैजाऊ। 3त्यसपछि तेलको भाँडो लेऊ र यो तिनको शिरमा खन्याऊ, र भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः “मैले तँलाई इस्राएलको राजा अभिषेक गरेको छु।” तब ढोका खोल, र दौड। ढिलो नगर।” 4त्‍यसैले ती जवान मानिस, जवान अगमवक्ता रामोत-गिलादमा गए। 5तिनी आइपुग्दा सेनापतिहरू बसिरहेका थिए। त्यसैले जवान अगमवक्ताले भने, “हे कप्‍तान, तपाईंलाई एउटा सन्‍देश लिएर आएको छु।” येहूले भने, “हामीमध्ये कसलाई?” जवान अगमवक्ताले जवाफ दिए, “तपाईंलाई कप्‍तान।” 6त्यसैले येहू उठेर घरभित्र गए र ती अगमवक्ताले येहूको शिरमाथि तेल खन्याए, र तिनलाई भने, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि अर्थात् परमप्रभुका मानिसहरूमाथि राजा अभिषेक गरेको छु। 7तैँले आफ्नो मालिक आहाबको घरानालाई मार्नुपर्छ, यसरी ईजेबेलको हातद्वारा मारिएका परमप्रभुका सबै सेवक अगमवक्ताहरूका रगत र मेरा सेवकहरूका रगतको बदला मैले लिन सक्छु। 8किनकि आहाबको पुरै घराना नष्‍ट हुनेछ, र म आहाबको घरानाबाट कमारा होस् वा फुक्‍का हरेक पुरुषलाई निमिट्ट्यान्‍न पार्नेछु। 9म आहाबको घरानालाई नबातका छोरा यारोबामको घराना र अहज्याहका छोरा बाशाको घरानाजस्तै तुल्याउनेछु। 10ईजेबेललाई यिजरेलमा कुकुरहरूले खानेछन्, र त्यसलाई गाड्ने कोही हुनेछैन'।” तब अगमवक्ताले ढोका खोले र भागे। 11तब येहू आफ्ना मालिकका सेवकहरूकहाँ आए र एक जनाले तिनलाई सोधे, “के सबै कुरा ठिकै छ? यो पागल मान्छे किन तपाईंकहाँ आएको?” येहूले तिनीहरूलाई जवाफ दिए, “तिमीहरू यी मानिस र तिनले कस्ता किसिमका कुरा भन्छन् भनेर तिमीहरू जान्‍दछौ।” 12तिनीहरूले भने, “त्यो कुरा झुट हो। हामीलाई भन्‍नुहोस्।” येहूले भने, “तिनले मलाई यी भने अनि यसो पनि भने, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेको छु'।” 13तब तिनीहरूले तुरुन्‍तै आ-आफ्ना बाहिरी वस्‍त्र उतारे र येहू हिंड्ने खुड्किलामा ओछ्याए। तिनीहरूले तुरही फुके र भने, “येहू राजा हुनुहुन्छ।” 14यसरी निम्शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे। अब योराम र सारा इस्राएलले अरामका राजा हजाएलको कारणले रामोत-गिलादलाई रक्षा गरिरहेका थिए, 15तर अरामका राजा हजाएलको विरुद्धमा लड्दा राजा योरामलाई अरामीहरूले घाइते बनाएका हुनाले तिनी निको हुन यिजरेलमा फर्केका थिए। येहूले योरामका सेवकहरूलाई भने, “तिमीहरूको राय यस्तै छ भने यिजरेलमा गएर यो समाचार बताउनलाई कोही पनि भागेर सहरबाहिर जान नपाओस्।” 16त्यसैले येहू रथमा चढी यिजरेल गए। किनकि योरामले त्यहीँ विश्राम गर्दै थिए। त्यस बेला यहूदाका राजा अहज्याह योरामलाई भेट्न तल झरेका थिए। 17यिजरेलको धरहरामा पहरेदार खडा थियो, र त्यसले येहूका फौज आइरहेको टाढैबाट देख्यो। त्यसले भन्यो, “मानिसहरूको एउटा समूह आइरहेको मैले देख्दछु।” योरामले भने, “एक जना घोडचढीलाई तिनीहरूलाई भेट्न पठा। त्यसलाई यसो भन्‍न लगा, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?” 18त्यसैले येहूलाई भेट्न एक जना मानिस घोडामा चढेर गयो। त्यसले भन्यो, “राजा यसो भन्‍नुहुन्छ, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?” येहूले भने, “मित्रभावसित तँलाई केको सरोकार? फर्केर मेरो पछि लाग्।” तब पहरेदारले राजालाई भन्यो, “सन्देशवाहकले तिनीहरूलाई भेट्यो, तर त्यो फर्केर आएन।” 19तब तिनले घोडामा अर्को मानिसलाई पठाए। त्यो तिनीहरूकहाँ आएर भन्यो, “राजा यसो भन्‍नुहुन्छ, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?” येहूले भने, “मित्रभावसित तँलाई केको सरोकार? फर्केर मेरो पछि लाग्।” 20फेरि पहरेदारले भन्‍यो, “त्यसले तिनीहरूलाई भेटेको छ, तर त्यो फर्केर आएन। किनकि जुन तरिकाले रथ हाँकिएको छ त्यो त निम्शीका छोरा येहूले हाँकेजस्तै छ। तिनले बौलाहाले जस्तै हाँक्दैछन्।” 21त्यसैले योरामले भने, “मेरो रथ तयार पार।” तिनीहरूले तिनको रथ तयार पारे, र इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह आ-आफ्नै रथमा चढेर येहूलाई भेट्न बाहिर निस्के। तिनीहरूले यिजरेली नाबोतको जग्गामा तिनलाई भेटे। 22योरामले येहूलाई देखेपछि तिनले भने, “येहू, के तिमी मित्रभावले आएको हो?” तिनले जवाफ दिए, “तिम्री आमा ईजेबेलका यति धेरै मूर्तिपूजा र वेश्यावृत्ति हुँदाहुँदै पनि कसरी मित्रभाव हुन्छ?” 23त्यसैले योरामले आफ्नो रथ घुमाए र अहज्याहलाई यसो भनेर भागे, “अहज्याह, धोका भएछ।” 24तब येहूले आफ्नो धनु निकाले र पुरा शक्ति लगाएर योरामका काँधहरूका बिचैमा तिनलाई हाने। काँडले तिनको मुटुलाई नै छेड्यो, र तिनी आफ्नो रथमा लडे। 25तब येहूले आफ्ना सेनापति बिदकारलाई भने, “तिनलाई उठाऊ र यिजरेली नाबोतको खेतमा फालिदेऊ। तिनका पिता आहाबको पछि रथमा तिमी र म जाँदा परमप्रभुले तिनको विरुद्धमा भन्‍नुभएको यो अगमवाणीको बारेमा वोचार गरः 26'परमप्रभु घोषणा गर्नुहुन्छ— हिजो मैले नाबोतको रगत र त्यसका छोराहरूको रगत देखेँ, र परमप्रभु भन्‍नुहुन्छ, निश्‍चय नै म यही खेतमा त्यसको बदला लिनेछु।' अब परमप्रभुको वचनअनुसार तिनलाई उठाऊ र यही खेतमा फालिदेऊ।” 27जब यहूदाका राजा अहज्याहले यो देखे, तिनी बेथ-हागान जाने बाटोतिर भागे। तर येहूले तिनलाई पछ्याए, र भने, “तिनलाई पनि रथमा मार।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा प्रहार गरे। अहज्याह मगिद्दोमा भागे, र त्यहीँ मरे। 28तिनका सेवकहरूले तिनको लाशलाई रथमा राखेर यरूशलेम ल्याए, र दाऊदको सहरमा तिनका पर्खाहरूसित तिनकै चिहानमा गाडे। 29आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्याहले यहूदामाथि राज्‍य सुरु गरेका थिए। 30येहू यिजरेलमा आएको कुरा ईजेबेलले सुनिन्, र तिनले आफ्ना आँखामा गाजल लगाइन्, कपाल बाटिन् र झ्यालबाट हेरिन्। 31येहू मूल ढोकामा भित्र आउँदै गर्दा तिनले उनलाई भनिन्, “ए आफ्ना मालिकका हत्यारा जिम्री, के तिमी मित्रभावले आएका हौ?” 32येहूले माथि झ्यालमा हेरे र भने, “मेरो पक्ष लिने को छ? को छ?” तब दुई वा तिन जना नपुंसकले बाहिर हेरे। 33येहूले भने, “तिनलाई तल फालिदेओ।” त्यसैले तिनीहरूले ईजेबेललाई तल फालिदिए, र तिनका केही रगत उछिट्टिएर भित्तामा र घोडाहरूमा परे, अनि येहूले तिनलाई खट्टाले कुल्चिदिए। 34जब येहू दरबारभित्र पसे, तब तिनले खानपान गरे। तब तिनले भने, “अब त्‍यो श्रापित स्‍त्रीलाई हेर र त्‍यसलाई गाडिदेओ, किनकि त्‍यो राजाकी छोरी थिई।” 35तिनलाई गाड्न तिनीहरू गए तर तिनीहरूले तिनको खप्पर, खुट्टा र हत्केलाबाहेक केही भेट्टाएनन्। 36त्‍यसैले तिनीहरू आएर येहूलाई बताए। तिनले भने, “आफ्ना सेवक तिश्बी एलियाद्वारा परमप्रभुले बोल्नुभएको वचन यही हो, 'यिजरेलको जमिनमा कुकुरहरूले ईजेबेलको मासु खानेछन्, 37र ईजेबेलको लाश यिजरेलका खेतहरूमा मलझैँ हुनेछ ताकि कसैले यस्तो भन्‍न नसकोस्, 'यो ईजेबेल हो'।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।