सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 राजाहरू 4

यो अध्याय यसमा पर्छ: Elisa

1अगमवक्ताका छोराहरूमध्ये एउटाकी पत्‍नी एलीशाकहाँ रुँदै आएर यसो भनिन्, “मेरा पति तपाईंका दास मर्नुभयो, र तपाईंका दास परमप्रभुदेखि डराउनुहुन्थ्यो भनी तपाईंलाई थाहा छ। अब मेरा दुई छोरालाई कमारा बनाउन लैजानलाई ऋणदाता आएका छन्।” 2त्यसैले एलीशाले तिनलाई भने, “तिम्रो निम्ति म के गरौं? घरमा तिमीसँग के छ मलाई भन।” तिनले भनिन्, “तपाईंका दासीको घरमा एउटा भाँडोमा तेलबाहेक केही छैन।” 3तब एलीशाले भने, “तिम्रा छिमेकीहरूबाट रित्ता भाँडाहरू पैँचो माग्‍न जाऊ। सकेजति धेरै पैँचो माग। 4त्यसपछि तिमी भित्र जाऊ र तिम्रा छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गर, अनि ती सबै भाँडामा तेल खन्याऊ। भरिएका भाँडाहरू एकापट्टि राख।” 5त्यसैले तिनी एलीशाबाट विदा भइन्, र तिनले आफ्ना छोराहरूलाई पनि भित्र राखेर ढोका बन्द गरिन्। तिनीहरूले तिनीकहाँ भाँडाहरू ल्याए, र तिनले ती तेलले भरिन्। 6जब ती भाँडाहरू भरिए तब तिनले आफ्नो छोरोलाई भनिन्, “अर्को भाँडा मकहाँ ल्याऊ।” तर उसले तिनलाई भन्‍यो, “अब एउटै भाँडा पनि छैन।” त्यसपछि तेल आउन पनि छाड्यो। 7तब तिनी आइन् र परमेश्‍वरका मानिसलाई त्यो कुरो बताइन्। तिनले भने, “गएर तेल बेच। तिम्रो ऋण तिर, र आफ्ना छोराहरूसित आरामसित बस।” 8एक दिन एलीशा शूनेममा गए जहाँ एक जना प्रतिष्‍ठित स्‍त्री बस्थिन्। उनले तिनलाई तिनीसँगै खाना खान अनुरोध गरिन्। त्यसैले जब एलीशा त्यो बाटो भएर जान्थे, तब तिनी खानको लागि त्यहाँ रोकिन्थे। 9ती स्‍त्रीले आफ्ना पतिलाई भनिन्, “हेर्नुहोस्, अब मलाई थाहा भयो, कि यिनी परमेश्‍वरका पवित्र मानिस हुन् जो सधैँ यो बाटो हिंड्‍छन्। 10कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाऔँ, र त्यसमा एउटा खाट, टेबल, आसन र बत्ती राखौँ। तब तिनी हामीकहाँ आउँदा तिनी त्यहीँ बस्‍नेछन्।” 11यसरी फेरि एक दिन आयो जतिबेला एलीशा त्‍यहाँ रोकिए, तिनी त्‍यो कोठामा बसे, र त्यहीँ विश्राम गरे। 12एलीशाले आफ्नो सेवक गेहजीलाई भने, “ती शूनम्मीलाई बोला।” त्यसले तिनलाई बोलाएपछि तिनी एलीशाको सामु खडा भइन्। 13एलीशाले उसलाई भने, “तिनलाई भन्, 'हाम्रो वास्ता गर्न तिमीले यो सबै कष्‍ट झेलेकी छ्यौ। तिम्रो लागि के गर्न सकिन्छ? के हामी तिम्रो लागि राजा वा सेनापतिसित कुरा गरौं'?” तिनले जवाफ दिइन्, “मेरा आफ्नै जातिको बिचमा म बस्‍दैछु।” 14त्यसैले एलीशाले भने, “त्यसो हो भने, तिनको लागि हामी के गर्न सक्छौँ त?” गेहजीले जवाफ दियो, “वास्तवमा तिनीसँग छोरो छैन, र तिनका पति बुढो भएका छन्।” 15त्यसैले एलीशाले भने, “तिनलाई बोला।” जब त्यसले तिनलाई बोलायो, तिनी ढोकामा खडा भइन्। 16एलीशाले भने, “एक वर्षपछि यही समयमा तिम्रो काखमा एउटा छोरो हुनेछ।” तिनले जवाफ दिइन्, “होइन, हे मेरा मालिक र परमेश्‍वरका मानिस, आफ्नी दासीसित झुट नबोल्नुहोस्।” 17तर एलीशाले त्‍यो स्‍त्रीलाई भनेझैँ तिनी गर्भवती भइन् र अर्को वर्ष ठिक त्यही समयमा एउटा छोरो जन्माइन्। 18बालक हुर्केपछि एक दिन त्यो आफ्नो बुबाकहाँ गयो जो कटनी गर्नेहरूसँगै थिए। 19त्यसले आफ्नो बुबालाई भन्यो, “मेरो टाउको दुख्यो। मेरो टाउको दुख्‍यो। उसका बुबाले आफ्नो सेवकलाई भने, “त्यसलाई त्यसकी आमाकहाँ लिएर जाऊ।” 20जब नोकरले केटोलाई उठाएर त्यसकी आमाकहाँ ल्यायो तब केटो मध्यान्हसम्म आमाको काखमा बस्यो, र त्यो मर्‍यो। 21त्यसैले ती स्‍त्री उठिन्, र केटोलाई परमेश्‍वरका मानिसको ओछ्यानमा सुताइन्, ढोका बन्द गरेर बाहिर निस्किन्। 22तिनले आफ्ना पतिलाई बोलाइन् र भनिन्, “कृपया, मलाई एक जना नोकर र एउटा गधा पठाउनुहोस् ताकि म छिटो परमेश्‍वरका मानिसकहाँ जान र फर्केर आउन सकूँ।” 23तिनका पतिले भने, “किन तिमी आजै उहाँकहाँ जान चाहन्छ्यौ? आज न औँसी हो, न त शबाथ हो।” उनले जवाफ दिइन्, “यो ठिक हुनेछ।” 24त्यसपछि उनले गधामा काठी कसिन्, र आफ्नो सेवकलाई भनिन्, “छिटो कुदा। मैले नभनेसम्म दौडन ढिला नगर।” 25त्यसैले तिनी गइन् र कर्मेल डाँडामा परमेश्‍वरका मानिस भएको ठाउँमा आइन्। जब परमेश्‍वरका मानिसले टाढैबाट तिनलाई देखे तिनले आफ्नो सेवक गेहजीलाई भने, “हेर्, शूनम्मी स्‍त्री आउँदैछिन्। 26तिनलाई भेट्न दौडेर जा र तिनलाई सोध, 'तिमी, तिम्रा पति र छोरोलाई सबै ठिकै छ'?” तिनले भनिन्, “ठिकै छ।” 27जब तिनी डाँडामा परमेश्‍वरका मानिस भएको ठाउँमा आइपुगिन् तब तिनले एलीशाको पाउ समातिन्। गेहजी तिनलाई हटाउनलाई अगाडि बढ्यो, तर परमेश्‍वरका मानिसले भने, “तिनलाई नछोऊ किनकि तिनी अत्यन्तै दुखी छिन्, र परमप्रभुले मबाट समस्या लुकाउनुभएको छ, र मलाई केही भन्‍नुभएको छैन।” 28तब तिनले भनिन्, “हे मेरा मालिक, मैले, तपाईंसँग छोरो मागेकी थिएँ र? मैले 'मलाई नछकाउनुहोस्' भनेकी थिइनँ र'?” 29तब एलीशाले गेहजीलाई भने, “यात्राको लागि लुगा लगा, र तेरो हातमा मेरो लट्ठी समात्। तिनको घरमा जा। कुनै मानिसलाई भेटिस् भने अभिवादन नगर्, र कसैले तँलाई अभिवादन गर्‍यो भने जवाफ नदे। बालकको अनुहारमा मेरो लट्ठी राखिदे।” 30तर बालककी आमाले भनिन्, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर म भन्छु, कि म तपाईंलाई छाड्दिनँ।” त्यसैले एलीशा उठे, र तिनको पछि लागे। 31गेहजी तिनीहरूभन्दा अगिअगि गयो र बाललको अनुहारमा लट्ठी पसार्‍यो, तर बालकले बोलेन र सुनेन। त्यसैले गेहजी एलीशालाई भेट्न फर्क्यो र तिनलाई यसो भन्यो, “बालक ब्युँझेको छैन।” 32जब एलीशा घरमा आइपुगे, तब बालक मरिसकेको थियो, र ओछ्यानमा शान्‍त थियो। 33त्यसैले एलीशा भित्र गएर बालक र आफूलाई राखेर ढोका बन्द गरे, र परमप्रभुलाई प्रार्थना चढाए। 34तिनी ओछ्यानमाथि चढे र बालकमाथि सुते। तिनले आफ्नो मुख उसको मुखमा, आफ्ना आँखा उसको आँखामा, र आफ्ना हात उसको हातमा राखे। तिनले आफैलाई बालकमाथि लमतन्‍न पारे, र बालकको शरीर न्यानो भयो। 35तब एलीशा उठे, र कोठाको वरिपरि घुमे अनि तिनी फेरि ओछ्यानमा चढे र बालकमाथि लमतन्‍न परे। बालकले सात पटक छिउँ काड्‍यो र आफ्ना आँखा खोल्यो। 36त्यसैले एलीशाले गेहजीलाई बोलाए र भने, “शूनम्मीलाई बोला।” त्यसले उनलाई बोलायो, र जब तिनी कोठाभित्र आइन्, तब एलीशाले भने, “तिम्रो छोरोलाई बोक।” 37तब एलीशाको पाउमा तिनी भुइँसम्‍मै घोप्टो परिन्, अनि आफ्नो छोरोलाई उठाइन् र बाहिर गइन्। 38तब एलीशा फेरि गिलगालमा आए। देशमा अनिकाल परेको थियो अनि अगमवक्ताहरूका छोराहरू तिनका सामु बसिरहेका थिए। तिनले आफ्नो सेवकलाई भने, “आगोमा ठुलो भाँडो बसाल र यी अगमवक्ताहरूका छोराहरूका निम्ति जाउलो पका।” 39तिनीहरूमध्‍ये एक जना तरकारी खोज्न बारीमा गयो। त्यसले जङ्गली दाख भेट्टायो, र त्यसले जङ्गली लौका आफ्नो पोल्टाभरि जम्मा गर्‍यो। तिनीहरूले ती काटे र जाउलोमा हाले, तर ती कस्‍ता किसिमका थिए भनी तिनीहरूलाई थाहा थिएन। 40मानिसहरूले खानलाई तिनीहरूले जाउलो खन्याए। पछि तिनीहरूले खाँदै गर्दा तिनीहरू चिच्‍च्याए र भने, “हे परमेश्‍वरका मानिस, भाँडामा त मृत्यु पो छ।” त्यसैले तिनीहरूले त्यो फेरि खान सकेनन्। 41तर एलीशाले भने, “केही पिठो ल्याऊ।” तिनले त्यसलाई भाँडोभित्र हाले र भने, “मानिसहरूलाई यो खान देऊ ताकि तिनीहरूले त्‍यो खानसकून्।” तब त्‍यस भाँडोमा त्यस्तो हानिकारक कुनै कुरो बाँकी रहेन। 42बाल-शलीशाको कोही एक जना मानिस परमेश्‍वरकका मानिसकहाँ आयो, र त्यसले अगौटे फलबाट तयार गरिएको जौँका बिसवटा रोटी र केही अन्‍नका ताजा बाला आफ्नो बोरामा लिएर आयो। त्यसले भन्यो, “यो मानिसहरूलाई दिनुहोस् ताकि तिनीहरूले खान सकून्।” 43तिनको सेवकले भन्यो, “एक सय जना मानिसलाई मैले यसबाट कसरी भाग पुर्‍याउन सक्छु र?” तर एलीशाले भने, “यो मानिसहरूलाई ताकि तिनीहरूलेखान सकून्, किनकि परमप्रभु भन्‍नुहुन्छ, 'तिनीहरूले खानेछन्, र केही बच्‍नेछ'।” 44त्यसैले तिनको सेवकले त्यो तिनीहरूका सामु राखिदियो र तिनीहरूले खाए अनि परमप्रभुको वचनले प्रतिज्ञा गरेझैँ केही बच्‍यो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।