सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 राजाहरू 17

यो अध्याय यसमा पर्छ: Tot de val van Samaria

1यहूदाका राजा आहाजको बाह्रौं वर्षमा एलाहका छोरा होशियाले राज्‍य सुरु गरे। तिनले सामरियामा बसेर इस्राएलमाथि नौ वर्ष राज्य गरे। 2परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे, तापनि तिनीभन्दा अगिका इस्राएलका राजाहरूले जस्तै भने होइन। 3अश्शूरका राजा शलमनेशेरले होशियालाई आक्रमण गरे र उनी तिनका सेवक बने र तिनलाई कर तिरे। 4त्यसपछि आफ्‍नो विरुद्धमा होशियाले षड्यन्त्र गरेका कुराको जानकरी अश्शूरका राजाले थाहा पाए, किनकि होशियाले मिश्रका राजा सोकहाँ सन्देशवाहकहरू पठाएका थिए। साथै, तिनले अश्शूरका राजालाई वर्षैपिच्छे तिर्दै आएको कर पनि तिरेनन्। त्यसैले अश्शूरका राजाले तिनलाई बन्‍दी बनाए र झ्यालखानामा थुनेर राखे। 5तब अश्शूरका राजाले देशैभरि आक्रमण गरे, र सामरियामाथि आक्रमण गरे र यसलाई तिन वर्षसम्म घेराबन्दी गरे। 6होशियाको नवौँ वर्षमा अश्शूरका राजाले सामरियालाई कब्जा गरे र इस्राएलीहरूलाई अश्शूरमा लगे। तिनीहरूलाई गोजानको हाबोर नदीको किनारको हलहमा र मादीहरूका सहरहरूमा तिनले बसाले। 7इस्राएलीहरूले आफूलाई मिश्रदेशका राजा फारोको हातबाट छुटाउनुहुने, तिनीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका हुनाले यसरी तिनीहरू बन्‍दी भए। यी मानिसहरूले अरू देवताहरूको पुजा गरिरहेका थिए, 8र इस्राएलका मानिसहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूका अभ्यासहरू तथा इस्राएलका राजाहरूका अभ्यासहरू गरिरहेका थिए। 9इस्राएलका मानिसहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा जे कुराहरू गर्नु ठिक थिएन, गुप्‍त रूपमा त्यही गरे। धरहरादेखि किल्लासम्‍म नै आफ्‍ना सबै सहरहरूमा तिनीहरूले आफ्‍ना निम्‍ति उच्‍च थानहरू बनाए। 10हरेक उच्‍च डाँडा रहरेक हरियो रुखमुनि तिनीहरूले डुङ्गाका मूर्तिहरू र अशेराका खम्बाहरू बनाए। 11तिनीहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूले गरेजस्तै तिनीहरूले उच्‍च थानहरूमा धूप बाले। परमप्रभुलाई रिस उठाउनलाई इस्राएलीहरूले दुष्‍ट कुराहरू गरे, 12तिनीहरूले मूर्तिहरूको पुजा गरे, जसका बारेमा परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो, “तिमीहरूले यो कुरा गर्ने छैनौ।” 13तापनि परमप्रभुले हरेक अगमवक्ता र हरेक दर्शीद्वारा इस्राएल र यहूदालाई यसो भनरे चेताउनी दिनुभएको थियो, “आ-आफ्ना दुष्‍ट मार्गहरूबाट फर्केर मेरा आज्ञाहरू र विधिहरू पालन गर, अनि मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका अनि आफ्‍ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका सबै आज्ञा पालन गर्न सावधना होओ।” 14तर तिनीहरूले सुनेनन्। बरु परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि विश्‍वास नगर्ने आफ्‍ना पुर्खाहरूजस्तै तिनीहरू ज्‍यादै हठी भए। 15तिनीहरूले उहाँका विधिहरू र तिनीहरूका पुर्खाहरूसित उहाँले बाँध्‍नुभएको करार र उहाँले तिनीहरूलाई दिनुभएका करारका आज्ञाहरूलाई इन्कार गरे। तिनीहरूले बेकम्मा अभ्यासहरूको अनुसरण गरे अनि तिनीहरू आफै पनि बेकम्मा भए। तिनीहरूले आफ्नो वरिपरि भएका अरू जातिहरूको अनुसरण गरे जसको नकल्ल नगर्नू भनेर परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएको थियो। 16तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञालाई बेवास्ता गरे। तिनीहरूले पुजा गर्नलाई पिटेर तयार पारिएका धातुको दुईवटा बाछाका बनाए। तिनीहरूले अशेरा देवीको खम्बा बनाए, र तिनीहरूले आकाशका सम्पूर्ण तारा र बालको पुजा गरे। 17तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा हिंड्‍न लगाए, तिनीहरूले जोखना हेर र टुनामुना गरे, तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे खराब छ, त्यही गर्न आफैलाई बेचे, र तिनीहरूले उहाँलाई रिस उठाए। 18त्यसकारण परमप्रभु इस्राएलसित अत्यन्तै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट हटाइदिनुभयो। त्यहाँ यहूदाको कुलबाहेक कोही पनि छोडिएन। 19यहूदाले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन्, र तिनीहरूले इस्राएलले गरेका अभ्‍यासहरूको अनुसरण गरे। 20यसैले परमप्रभुले इस्राएलका सबै सन्तानलाई इन्कार गर्नुभयो। उहाँले तिनीहरूलाई कष्‍ट दिनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट नफल्‍नुभएसम्म उहाँले तिनीहरूलाई लुटको मालको रूपमा अधिकार गर्नेहरूको हातमा सुम्पिनुभयो। 21उहाँले इस्राएललाई दाऊदको राजकीय वंशबाट अलग गर्नुभयो, र तिनीहरूले नबातका छोरा यारोबामलाई राजा बनाए। यारोबामले इस्राएललाई परमप्रभुको अनुसरण गर्नबाट बहकाए र तिनीहरूलाई ठुलो पाप गर्न लगाए। 22इस्राएलका मानिसहरूले यारोबामका सबै पापको अनुसरण गरे र तिनीहरू ती कुराबाट फर्केनन्, 23त्यसैले परमप्रभुले आफ्ना सबै सेवक अगमवक्ताहरूद्वारा आफूले गर्छु भन्‍नुभएझैँ इस्राएललाई आफ्नो दृष्‍टिबाट हटाउनुभयो। यसरी तिनीहरूको आफ्नै देशबाट इस्राएललाई अश्शूरमा बन्दी बनाएर लगियो, र आजको दिनसम्म पनि त्‍यस्‍तै भएको छ। 24अश्शूरका राजाले बेबिलोनबाट र कूताबाट र अव्वाबाट हमात र सपर्बेमबाट मानिसहरू ल्याए र इस्राएलका मनिसहरूको साटोमा तिनीहरूलाई सामरियाका सहरहरूमा बसाले। तिनीहरूले सामरिया कब्जा गरे र यसका सहरहरूमा बसे। 25तिनीहरूले बसोबाससुरु गर्दा तिनीहरूले परमप्रभुलाई आदर गरेनन्। त्यसैले परमप्रभुले तिनीहरूका बिचमा सिंहहरू पठाउनुभयो जसलेतिनीहरूमा कसैलाई मारे। 26त्यसैले तिनीहरूले अश्शूरका राजालाई यसो भने, “तपाईंले बन्दी बनाएर लैजानुभएका जातिहरू र सामरियाका सहरहरूमा बसोबास गरेका मानिसहरूले यस देशका देवताले चाहेका अभ्यासहरूका जान्‍दैनन्। त्यसैले उहाँले तिनीहरूका बिचमा सिंहहरू पठाउनुभएको छ, र सिंहहरूले यहाँ मानिसहरूलाई मर्दैछन् किनकि तिनीहरूले यस देशका देवताले चाहेका अभ्यासहरू जान्‍दैनन्।” 27तब अश्शूरका राजाले यसो भनेर आज्ञा दिए, “तिमीहरूले त्यहाँबाट ल्याएका पुजारीहरूमध्ये एउटालाई लिएर जाओ। तिनी गएर त्यहीँ बसून्, र तिनले त्यस देशका देवताले चाहेका अभ्यासहरू मानिसहरूलाई सिकाऊन्।” 28त्यसैले तिनीहरूले सामरियाबाट बन्दी बनाएर लगेका पुजारीहरूमध्ये एक जना आए र बेथेलमा बसे। तिनीहरूले परमप्रभुलाई कसरी आदर गर्नुपर्छ भनी तिनले तिनीहरूलाई सिकाए। 29हरेक जातिले आ-आफ्ना देवताहरू बनाए, अनि सामरीहरूले बनाएका उच्‍च थानहरूमा तिनलाई राखे। आफू बसोबास गर्ने ठाउँमा हरेक जातिले त्‍यसै गरे। 30बेबिलोनका मानिसहरूले सुक्‍कोन-बनोत बनाए, कूताका मानिसहरूले नेर्गल बनाए, हमातका मानिसहरूले अशीमा बनाए, 31अव्वीहरूले नेभज र तर्ताक बनाए। सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीलाई आगोमा जलाए। 32तिनीहरूले परमप्रभुको पनि आदर गरे, र तिनीहरूका बिचबाट उच्‍च थानहरूमा पुजारीहरू नियुक्त गरे, जसले उच्‍च स्‍थानमा निर्मित मन्दिरहरूमा आफ्‍ना निम्ति बलि चढाए। 33तिनीहरूले परमप्रभुलाई आदर गर्थे र जुन जातिहरूबाट आफू ल्याइएका थिए तिनीहरूकै प्रचलनअनुसार आ-आफ्नै देवताहरूको पनि पुज्थे। 34आजको दिनसम्म तिनीहरू आफ्‍ना पुराना प्रचलनहरूमा लागेकै छन्। तिनीहरूले न परमप्रभुलाई आदर गर्छन्, न त परमप्रभुले इस्राएल नाउँ दिनुभएको याकूबका मानिसहरूलाई उहाँले दिनुभएका विधिहरू, उर्दीहरू, व्यवस्था वा आज्ञाहरू नै तिनीहरूले पालन गर्छन्— 35अनि तिनीहरूसित परमप्रभुले करार बाँध्‍नुभयो र तिनीहरूलाई आज्ञा दिनुभयो, “तिमीहरूले अन्य देवताहरूको भय मान्‍ने छैनौ, न तिनीहरूको सामु निहुरिनेछौ, न तिनीहरूकको पुजा गर्नेछौ न त तिनीहरूलाई बलि चढाउनेछौ। 36तर महान् शक्ति र उठेका हातहरूले तिमीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभुलाई मात्र तिमीहरूले आदर गर्नुपर्छ। तिमीहरूले उहाँलाई मात्र दण्डवत् गर्नुपर्छ, र उहाँलाई मात्र बलि चढाउनुपर्छ। 37उहाँले तिमीहरूका निम्ति लेख्‍नुभएका विधिहरू र उर्दीहरू, व्यवस्था र आज्ञाहरूलाई तिमीहरूले सदासर्वदा पालन गर्नेछौ। त्यसैले तिमीहरू अन्य देवताहरूको डर मान्‍नुहुँदैन, 38र मैले तिमीहरूसित बाँधेको करार तिमीहरूले बिर्सनेछेनौ, न त तिमीहरूले अन्य देवताहरूको आदर गर्नेछौ। 39तर तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको आदर गर्नेछौ। उहाँले तिमीहरूका शत्रुहरूको शक्तिबाट तिमीहरूलाई छुटकारा दिनुहुनेछ।” 40तिनीहरूले यो कुरा सुनेनन्, किनकि तिनीहरूले विगतमा गरेका कुरामा तिनीहरू लागिरहे। 41यसरी यी जातिहरू परमप्रभुदेखि डराए र आफूले खोपेर बनाएका मूर्तिहरूको पनि तिनीहरूले पुजा गरे, अनि तिनीहरूका छोराछोरी र नातिनातिनाले पनि त्‍यसै गरे। आजको दिनसम्म आफ्ना पुर्खाहरूले गरेझैँ तिनीहरूले निरन्‍तर त्‍यसै गर्दैछन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।