सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 राजाहरू 1

यो अध्याय यसमा पर्छ: Elisa

1आहाबको मृत्युपछि मोआब इस्राएलको विरुद्धमा बागी भयो। 2तब अहज्याह सामरियामा माथिल्लो कोठाको झ्यालबाट तल खसे र घाइते भए। यसैले तिनले सन्देशवाहकहरू पठाए र तिनीहरूलाई भने, “जाओ र यस चोटबाट म निको हुन्छु कि हुन्‍न एक्रोनको देवता बाल-जिबबलाई सोध।” 3तर परमप्रभुका दूतले तिश्बी एलियालाई भने, “उठ, र सामरियाका राजाका सन्देशवाहकहरूलाई भेट्न जाऊ, अनि तिनीहरूलाई सोध, 'के इस्राएलमा कुनै परमेश्‍वर नभएको हुनाले तिमीहरू एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन जाँदैछौ? 4त्यसकारण परमप्रभु भन्‍नुहुन्‍छ, “तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस्। बरु, तँ निश्‍चय नै मर्नेछस्'।” तब एलिया गए। 5जब सन्देशवाहकहरू अहज्याहकहाँ फर्के तब तिनले तिनीहरूलाई सोधे, “तिमीहरू किन फर्केका छौ?” 6तिनीहरूले तिनलाई भने, “एक जना मानिस हामीलाई भेट्न आए जसले हामीलाई भने, 'तिमीहरूलाई पठाउने राजाकहाँ फर्के जाऊ र तिनलाई भन, “परमप्रभु यसो भन्‍नुहुन्छः 'के इस्राएलमा कुनै परमेश्‍वर नभएको हुनाले तिमीहरू एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन जाँदैछौ? त्यसकारण तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस्। बरु, तँ निश्‍चय नै मर्नेछस्'।” 7अहज्याहले आफ्ना सन्देशवाहकहरूलाई भने, “तिमीहरूलाई भेट्न आउने र यी कुराहरू भन्‍ने मानिस कस्‍तो किसिमको थियो?” 8तिनीहरूले तिनलाई जवाफ दिए, “तिनले रौँका लुगा लगाएका थिए, र आफ्नो कम्मरमा छालाको पेटी बाँधेका थिए।” त्यसैले राजाले भने, “तिनी त तिश्बी एलिया हुन्।” 9तब राजाले पचास जना सिपाहीसँगै एक जना कप्‍तानलाई एलियाकहाँ पठाए। कप्‍तान एलियाकहाँ गए जहाँ तिनी डाँडाको टाकुरामा बसिरहेका थिए। कप्‍तानले तिनलाई भने, “हे परमेश्‍वरका मानिस, राजाले भन्‍नुभएको छ, 'तल आउनुहोस्'।” 10एलियाले कप्‍तानलाई भने, “म परमेश्‍वरका मानिस हुँ भने स्वर्गबाट आगो झरोस् र तपाईं र तपाईंका पचास जना मानिसलाई भस्म पारोस्।” तब स्वर्गबाट आगो झर्‍यो र तिनलाई र तिनका पचास जना मानिसलाई भस्म पार्‍यो। 11फेरि राजा अहज्याहले अर्का कप्‍तानलाई पचास जना सिपाहीसहित एलियाकहाँ पठाए। यी कप्‍तानले पनि एलियालाई भने, “हे परमेश्‍वरका मानिस, राजा भन्‍नुहुन्छ, 'झट्टै तल आउनुहोस्'।” 12एलियाले तिनीहरूलाई भने, “म परमेश्‍वरका मानिस हुँ भने स्वर्गबाट आगो झरोस् र तपाईं र तपाईंका पचास जना मानिसलाई भस्म पारोस्।” फेरि स्वर्गबाट परमेश्‍वरको आगो झर्‍यो र तिनलाई र तिनका पचास जना मानिसलाई भस्म पार्‍यो। 13तथापि राजाले पचास जना योद्धाको तेस्रो समूह पठाए। यो कप्‍तान माथि उक्‍ले, एलियाको सामु आफ्‍ना घुँडा टेके र तिनले विनम्रतापूर्वक बिन्ती गरेर भने, “हे परमेश्‍वरका मानिस, म तपाईंसँग बिन्‍ति गर्छु, कि मेरो जीवन र तपाईंका यी पचास जना दासका जीवन तपाईंको दृष्‍टिमा मूल्यवान् होऊन्। 14वास्तवमा स्वर्गबाट आगो झर्‍यो र यस अघिका दुई जना कप्‍तानलाई तिनीहरूका मानिसहरूसँगै भस्म पार्‍यो, तर मेरो जीवन तपाईंको दृष्‍टिमा मूल्यवान् होस्।” 15परमप्रभुका दूतले एलियालाई भने, “त्‍योसँगै तल जा। त्‍योदेखि नडरा।” त्यसैले एलिया उठे र त्‍योसँगै राजाकहाँ गए। 16पछि एलियाले अहज्याहलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'तैँले एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन सन्देशवाहकहरू पठाएको छस्। जानकारी लिनको लागि इस्राएलमा कुनै परमेश्‍वर नभएको हुनाले त्‍यसो गरेको हो? यसैले तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस्। तँ निश्‍चय नै मर्नेछस्'।” 17यसरी एलियाले बोलेको परमप्रभुको वचनअनुसार अहज्याह मरे। अहज्याहको कुनै छोरो नभएको हुनाले यहूदाका राजा यहोशापातका छोरा यहोरामको दोस्रो वर्षमा योरामले तिनको ठाउँमा राज्य गर्न थाले। 18अहज्याहका सम्‍बन्‍धमा भएका अरू कुराहरूका बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।