सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 राजाहरू 2

यो अध्याय यसमा पर्छ: Elisa

1जब परमप्रभुले एलियालाई हावाको भूमरीद्वारा उठाएर स्‍वर्गमा लानै लाग्‍नुभएको थियो, तब एलीशालाई साथ लिएर एलिया गिलगालबाट गए। 2एलियाले एलीशालाई भने, “कृपागरी यहीँ बस, किनकि परमप्रभुले मलाई बेथेलमा पठाउनुभएको छ।” एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्‍छु, म तपाईंलाई छोड्नेछैनँ।” त्यसैले तिनीहरू बेथेलमा झरे। 3बेथेलमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए र तिनलाई भने, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा छ?” एलीशाले जवाफ दिए, “हो, मलाई थाहा छ, तर यसबारेमा कुरा नगर।” 4एलियाले तिनलाई भने, “एलीशा, कृपागरी यहीँ बस, किनकि परमप्रभुले मलाई यरीहोमा पठाउनुभएको छ।” तब एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्छु, म तपाईंलाई छोड्नेछैनँ।” त्यसैले तिनीहरू यरीहोमा गए। 5तब यरीहोमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए र तिनलाई भने, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा छ?” एलीशाले जवाफ दिए, “हो, मलाई थाहा छ, तर यसबारेमा कुरा नगर।” 6तब एलियाले तिनलाई भने, “कृपागरी, यहीँ बस, किनकि परमप्रभुले मलाई यर्दनमा पठाउनुभएको छ।” एलीशाले जवाफ दिए, “परमप्रभु र तपाईंको नाउँमा शपथ खाएर भन्छु, म तपाईंलाई छोड्नेछैनँ।” त्यसैले ती दुई जना गइरहे। 7पछि यी दुई जना यर्दन नदीनेर उभिरहँदा तिनीहरूका सामु अगमवक्ताहरू पचास जना छोराहरू उभिए। 8एलियाले आफ्नो खास्टो उतारे, त्यसलाई बेह्रे अनि त्यसले पानीलाई हिर्काए। नदी दुईतिर विभाजित भयो जसको कारणले ती दुई जना सुक्खा जमिनबाट हिंडे। 9तिनीहरू पारि पुगेपछि एलियाले एलीशालाई भने, “तिमीबाट मलाई लानुअघि तिम्रो निम्ति मैले के गर्नुपर्छ मलाई भन?” एलीशाले जवाफ दिए, “तपाईंको आत्माको दोब्बर भाग ममा आउन दिनुहोस्।” 10एलियाले भने, “तिमीले कठिन कुरा मागेका छौ। तापनि तिमीबाट मलाई लगिएको तिमीले देख्यौ भने, तिम्रो निम्‍ति यो हुनेछ, तर देखेनौ भने, यो हुनेछैन।” 11तिनीहरू कुराकानी गर्दै अगाडि बढ्दा थिए, हेर, एउटा अग्‍निमय रथ र घोडाहरू देखा परे, जसले यी दुई जना मानिसलाई एक-अर्काबाट अलग गरिदियो, अनि एलिया हावाको भूमरीद्वारा स्वर्गमा लगिए। 12एलीशाले यो देखे र तिनी चिच्‍च्याए, “हे मेरा पिता, हे मेरा पिता, इस्राएलका रथहरू र तिनीहरूका घोडाहरू!” तिनले एलियालाई फेरि देखेनन्, र तिनले आफ्‍ना वस्‍त्र समाते र दुई भागमा च्याते। 13तिनले एलियाबाट खसेको खास्टो उठाए र यर्दन नदीको किनारमा खडा हुनलाई फर्केर गए। 14एलियाबाट खसेको खास्टोले तिनले पानीलाई हिर्काए र भने, “एलियाका परमप्रभु परमेश्‍वर कहाँ हुनुहुन्छ? जब तिनले पानीलाई हिर्काए तब त्‍यो दुईतिर विभाजित भयो र एलीशा पारि गए। 15जब यरीहोबाट आएका अगमवक्ताहरूका छोराहरूले तिनी पारि तरेको देखे तब तिनीहरूले भने, “एलियाका आत्माले एलीशामा बास गरेको छ।” त्यसैले तिनलाई भेट्न तिनीहरू आए, र तिनको अघि आफैलाई भुइँसम्मै निहुराए। 16तिनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईंका दासहरूका माझमा पचास जना बलिया मानिस छन्। हामी अनुरोध गर्छौं कि तिनीहरूलाई जान र तपाईंका मालिकको खोजी गर्न दिनुहोस्, कतै परमप्रभुका आत्माले तिनलाई माथि लानुभएको र तिनलाई कुनै पहाड वा उपत्यकामा फाल्‍नुभएको छ कि?” एलीशाले जवाफ दिए, “अहँ, तिनीहरूलाई नपठाओ।” 17तर एलिशा लाजमा पारून्‍जेलसम्म तिनीहरूले बिन्ती गरेको हुनाले तिनले भने “तिनीहरूलाई पठाओ।” तब तिनीहरूले पचास जना मानिस पठाए, र तिनीहरूले तिन दिनसम्म खोजी गरे, तर तिनलाई पाएनन्। 18एलीशा यरीहोमा हुँदा तिनीहरू तिनीकहाँ फर्केर आए, र तिनले तिनीहरूलाई सोधे, “के 'नजाओ' भनी मैले तिमीहरूलाई भनेको थिइनँ र?” 19सहरका मानिसहरूले एलीशालाई भने, “हेर्नुहोस्, तपाईं देख्‍न सक्‍नुहुन्छ यो सहरको अवस्था राम्रै छ, तर पानी दूषित छ, र जमिनले फल दिंदैन।” 20एलीशाले जवाफ दिए, “एउटा नयाँ कचौरा मकहाँ लेओ, र यसभित्र नून हाल।” त्यसैले तिनीहरूले त्‍यो तिनीकहाँ ल्याए। 21एलीशा पानीको मुहानमा गए, र त्यसमा नुन छर्किदिए। तब तिनले भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'मैले यो पानीलाई शुद्ध पारेको छु। अब फेरि मृत्यु हुने वा फलविहीन जमिन हुनेछैन'।” 22त्यसैले एलीशाले बोलेको वचनद्वारा आजको दिनसम्म पानी शुद्ध छ। 23त्यसपछि एलीशा त्यहाँबाट बेथेलमा गए। तिनी बाटोमा जाँदै गर्दा सहरबाट केही केटाहरू आए र तिनको खिसी गरे। तिनीहरूले भने, “ए मुडुले, तिमी माथि जाऊ! ए मुडुले, तिमी माथि जाऊ!” 24एलीशा आफ्‍नो पछाडि फर्के र तिनीहरूलाई देखे। तिनीहरूमाथि सराप परोस् भनी तिनले परमप्रभुलाई पुकारे। त्यसपछि जङ्गलबाट दुईवटा पोथी भालु निस्केर आयो र बयालिस जना केटाहरूलाई घाइते बनाए। 25तब एलीशा त्यहाँबाट कर्मेल डाँडामा गए, र त्यहाँबाट तिनी सामरिया फर्के।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।