सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 कोरिन्थी 4

यो अध्याय यसमा पर्छ: Verdeeldheid

1यसरी कुनै व्यक्‍तिले हामीलाई ख्रीष्‍टका सेवकहरू र परमेश्‍वरको गोप्य सत्यताको भण्डारे ठान्‍नुपर्छ। 2यस सम्बन्धमा, भण्डारेहरू विश्‍वासयोग्य हुन आवश्‍यक छ। 3तर म तिमीहरूबाट र मानिसको अदालतबाट जाँचिनु मेरो निम्ति अति सानो कुरा हो। किनकि म आफैँ पनि मेरो जाँच गर्दिनँ। 4मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसको अर्थ म निर्दोष छु भन्‍ने चाहिँ होइन। परमेश्‍वरले नै मेरो न्याय गर्नुहुन्छ। 5यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर। उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ। त्यसपछि हरेकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ। 6अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ बुझ्न सकौला। तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो। 7किनकि कसले तिमीहरू र अरू मानिसहरूका बिचमा फरक देख्छ? तिमीहरूसँग भएको कुन कुरा तिमीहरूले सितैँमा पाएका होइनौ र? तिमीहरूले त्यो सितैँमा पाएका छौ भने तिमीहरूले त्यसरी नपाएको झैँ गरेर किन घमण्ड गर्छौ? 8तिमीहरूले चाहने कुराहरू तिमीहरूले अगाडि नै पाइसकेका छौ! तिमीहरू अगिबाटै धनी भएका छौ! तिमीहरूले हामीविना नै शासन गर्न सुरु गरेका छौ! वास्तवमा, तिमीहरूले शासन गर भन्‍ने म चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौँ। 9किनकि मलाई यस्तो लाग्छ कि परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै मारिनेको भिडको पछिल्लो लहरमा प्रदर्शनमा राख्‍नुभएको छ। हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बिचमा तमाशा भएका छौँ। 10हामी ख्रीष्‍टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ। हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ। तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ। 11यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौँ; हाम्रा कपडाहरू फाटिएका छन्; हामी नराम्ररी कुटिएका छौँ; हामी घरवारविहीन भएका छौँ। 12हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ। मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष्‌‌ दिन्छौँ। सतावटमा पर्दा हामी सहन्छौँ। 13मानिसले हामीलाई निन्‍दा गर्दा हामी दयापूर्वक बोल्‍छौँ। हामी संसारले इन्‍कार गरेको फोहोर कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरूजस्‍ता भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ। 14तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेख्छु। 15किनकि ख्रीष्‍टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि तिमीहरूका धेरै जना पिता छैनन्। किनकि सुसमाचारद्वारा म ख्रीष्‍टमा तिमीहरूका पिता बनेँ। 16त्यसैले, मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु। 17यसकारण, मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्‍वासयोग्य बालक तिमोथीलाई पठाएँ। मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्तो छ सो उनले तिमीहरूलाई सम्झना गराउनेछन्। 18म फेरि तिमीहरूकहाँ आउँदिनँ भन्‍ने ठानेर तिमीहरूमध्ये कोही अहङ्कारी भएका छन्। 19तर यदि परमेश्‍वरको इच्छा भयो भने म त्यहाँ चाँडै नै आउनेछु। त्यसपछि म ती अहङ्कारीहरूको कुरा मात्र होइन, तर तिनीहरूको शक्‍ति हेर्नेछु। 20किनकि परमेश्‍वरको राज्य कुरामा होइन, तर शक्‍तिमा छ। 21तिमीहरू के चाहन्छौ? म तिमीहरूकहाँ कसरी आऊँ, छडी लिएर वा प्रेम र नम्रताको आत्मामा?

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।