सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 कोरिन्थी 3

यो अध्याय यसमा पर्छ: Verdeeldheid

1अनि भाइहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसित बोलेझैँ बोल्न सकिनँ, तर शारीरिक मानिसहरू अर्थात् ख्रीष्‍टमा बालकहरूसित बोलेझैँ बोलेँ। 2मैले तिमीहरूलाई दूध खुवाएँ, मासु होइन, किनकि तिमीहरू मासु खानको लागि तयार थिएनौ। 3किनभने तिमीहरू अझै सांसारिक नै छौ। यदि तिमीहरूका माझमा डाह र झगडा छँदै छ भने के तिमीहरू सांसारिक तवरले जिइरहेका छैनौ र? वा के तिमीहरू मानवीय मापदण्डअनुसार जिइरहेका छैनौ र? 4किनकि जब एक जनाले “म पावललाई पछ्याउँछु” भन्छ र अर्कोले “म अपोल्लोसलाई पछ्याउँछु” भन्छ भने के तिमीहरू सांसारिक तरिकाले जिइरहेका हुँदैनौ र? 5त्यसो भए अपोल्लोस को हो? अनि पावल को हो? सबै परमेश्‍वरका सेवकहरू हुन्, जसले परमेश्‍वरले दिनुभएका कामहरूअनुसार गरे र त्यही माध्यमद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ। 6मैले रोपेँ, अनि अपोल्लोसले पानी हाले, तर परमेश्‍वरले नै बढाउनुभयो। 7त्यसैले, रोप्‍ने र पानी हाल्ने केही होइन। तर परमेश्‍वर जसले बढाउनुहुन्छ, उहाँ नै महान् हुनुहुन्छ। 8अब रोप्‍ने र पानी हाल्ने एकै हुन्, ती हरेकले आफ्नो कामको परिश्रमअनुसार ज्याला पाउनेछन्। 9किनकि हामीहरू परमेश्‍वरका सहकर्मी हौँ। तिमीहरू परमेश्‍वरका बगैँचा र उहाँका भवनहरू हौ। 10परमेश्‍वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्यसमाथि घर बनाउँदै छ। तर हरेक व्यक्‍तिले कसरी बनाउँदै छ भन्‍ने बारेमा सावधान रहनुपर्छ। 11किनकि जुन जग बसालिएको छ, त्यो बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन, जुन जग ख्रीष्‍ट हुनुहुन्छ। 12यदि त्यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, वा परालको प्रयोग गरेर निर्माण गर्छ भने 13उसको काम दिनमा प्रकट गरिनेछ, किनकि दिनको उज्यालोले त्यो प्रकट गर्नेछ। किनकि त्यो आगोमा प्रकट हुनेछ। हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ। 14यदि कसैले गरेको काम रहिरह्‍यो भने त्यसले इनाम प्राप्‍त गर्नेछ। 15तर यदि कसैको काम जलेर नष्‍ट भयो भने त्यसले नोक्सानी भोग्‍नुपर्नेछ। तर ऊ आफैँचाहिँ आगोबाट फुत्केझैँ बचाइनेछ। 16के तिमीहरूलाई थाहा छैन, कि तिमीहरू परमेश्‍वरका मन्दिर हौ, र पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ? 17यदि कसैले परमेश्‍वरको मन्दिरलाई नाश गर्छ भने उहाँले त्‍यसलाई पनि नाश गर्नुहुनेछ। किनकि परमेश्‍वरको मन्दिर पवित्र छ, र तिमीहरू पनि त्यस्तै छौ। 18कसैले आफैँलाई धोका नदेओस्। यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” सम्झोस्, र त्यो बुद्धिमान् हुनेछ। 19किनकि संसारको ज्ञान परमेश्‍वरको निम्ति मूर्खता हो। किनकि यस्तो लेखिएको छ, “उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ।” 20धर्मशास्‍त्रमा यस्तो पनि लेखिएको छ, “परमेश्‍वर जान्‍नुहुन्छ कि संसारमा भएका ज्ञानीहरूको तर्क व्‍यर्थ छ।” 21त्यसैले, तिमीहरू मानिसहरूका निम्ति घमण्ड नगर! किनकि सबै कुरा तिमीहरूकै हुन्, 22चाहे पावल वा अपोल्लोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा वर्तमानका कुराहरू वा आउने कुराहरू सबै तिमीहरूकै हुन्, 23अनि तिमीहरूचाहिँ ख्रीष्‍टका हौ, र ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।