सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 कोरिन्थी 15

यो अध्याय यसमा पर्छ: Opstanding

1भाइहरू हो, तिमीहरूका माझमा मैले घोषणा गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु जुन तिमीहरूले पायौ र तिमीहरू त्यसैमा रहन्छौ। 2मैले प्रचार गरेको वचनमा अटल रह्‍यौ भने यही सुसमाचारद्वारा तिमीहरू बचाइन्छौ। नत्रता तिमीहरूले व्यर्थमा विश्‍वास गर्‍यौ। 3किनकि मैले जे पाएँ ती तिमीहरूलाई अति महत्त्वका साथ सुम्पिदिएः धर्मशास्‍त्रअनुसार ख्रीष्‍ट हाम्रा पापका लागि मर्नुभयो, 4उहाँ गाडिनुभयो अनि धर्मशास्‍त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो। 5त्यसपछि उहाँ केफास र बाह्र जना चेलाकहाँ देखा पर्नुभयो। 6त्यसपछि उहाँ एकसाथ पाँचसय भाइहरूकहाँ देखा पर्नुभयो। तीमध्ये धेरै जना अहिलेसम्म जीवित छन्, तर कतिचाहिँ मरिसकेका छन्। 7त्यसपछि उहाँ याकूब र बाँकी रहेका सबै प्रेरितहरूका माझमा देखा पर्नुभयो। 8अन्त्यमा उहाँ असमयमा जन्मेको बालककहाँ जस्तै गरी मकहाँ देखा पर्नुभयो। 9किनकि म प्रेरितहरूमध्ये सबैभन्दा तुच्छ हुँ। म प्रेरित कहलाइन योग्य छैनँ किनकि मैले परमेश्‍वरको मण्डलीलाई सताएँ। 10तर म जे छु परमेश्‍वरको अनुग्रहमा छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन। बरु, मैले तिनीहरू सबैले भन्दा बढी परिश्रम गरेँ। तरै पनि त्यो मैले होइनँ तर ममा काम गर्नुहुने परमेश्‍वरको अनुग्रहले थियो। 11यसैकारण, म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्‍वास गर्‍यौ। 12अब यदि ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्‍न सक्छौ? 13तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन। 14र यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने हाम्रो प्रचार पनि व्यर्थ हुन्छ र तिमीहरूको विश्‍वास पनि व्यर्थ हुन्छ। 15अनि परमेश्‍वरले ख्रीष्‍टलाई जीवित नपारीकन उहाँले जीवित पार्नुभयो भनेर उहाँको विरुद्धमा झुटो गवाही दिएको कारण हामी झुटा गवाह हुन्छौँ। 16यदि मरेकाहरू जीवित पारिँदैनन् भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन। 17तर यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने तिमीहरूको विश्‍वास व्यर्थ हुन्छ र तिमीहरू अझै पनि पापमा नै छौ। 18तब ख्रीष्‍टमा मर्नेहरू पनि नष्‍ट भएका छन्। 19यदि यस जीवनको लागि मात्र हामीले ख्रीष्‍टमा भविष्यको निश्‍चयता पाएका छौँ भने त हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौँ। 20तर अब ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको छ र यसरी मरेकाहरूबाट जीवित भई उठ्नेमा उहाँ पहिलो फल हुनुभएको छ। 21किनकि मृत्यु एक जना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एक जना मानिसबाट नै आयो। 22किनकि जसरी आदममा सबैको मृत्यु हुन्छ, त्यसरी नै ख्रीष्‍टमा सबै जीवित परिनेछन्। 23तर प्रत्येक कुरा आफ्नै क्रमअनुसार हुनेछः ख्रीष्‍ट पहिलो फल हुनुहुन्छ र त्यसपछि ख्रीष्‍टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन्। 24त्यसपछि अन्त्य आउनेछ, जुन बेला ख्रीष्‍टले राज्यलाई परमेश्‍वर पिताको हातमा सुम्पिदिनुहुनेछ। त्यस बेला उहाँले सबै शासन, सारा अख्तियार र सबै सामर्थ्यलाई उन्मूलन गरिदिनुहुनेछ। 25किनकि आफ्ना सबै शत्रुहरूलाई आफ्ना खुट्टामुनि नपारुञ्‍जेलसम्म उहाँले शासन गर्नुहुनेछ। 26नष्‍ट गर्नुपर्ने अन्तिम शत्रु मृत्यु हो। 27किनकि “उहाँले सबै कुरालाई उहाँको आफ्नो पाउमुनि ल्याउनुहुनेछ।” तर “उहाँले सबै कुरा आफ्नो अधीनमा राख्‍नुभएको छ” भन्‍नाले यसको अर्थ हुन्छ कि सबै कुरा उहाँको अधीनमा राख्‍नेचाहिँ यसमा पर्नुहुन्‍न। 28जब सबै कुरा उहाँको अधीनमा राखिन्छन्, तब पुत्रको अधीनमा सबै कुराहरू राखिदिनेको अधीनमा उहाँ आफैँ आउनुहुनेछ। परमेश्‍वर पिता सबै कुरामा सर्वोच्‍च ठहरिन सक्‍नुभएको होस् भनेर यसो हुनेछ। 29नत्रता मरेकाहरूको निम्ति बप्‍तिस्मा लिनेहरूले के गर्ने त? यदि मरेकाहरू जीवित नपारिने हो भने किन तिनीहरूका निम्ति उनीहरूले बप्‍तिस्मा लिए? 30र किन हामी हरपल खतरामा छौँ? 31म प्रतिदिन मर्दछु। भाइहरू हो, म तिमीहरूमा गर्व गर्दछु, जुन मैले येशू ख्रीष्‍ट हाम्रा प्रभुमा पाएको छु। 32यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने एफिससमा मैले मेरो ज्यानलाई नै जोखिममा पारेर जङ्गली जनावरसँग गरेको लडाइँले मानवीय दृष्‍टिबाट मलाई के लाभ हुन्छ र? त्यसैले, “हामी खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ।” 33भर्ममा नपर “खराब सङ्गतले असल चरित्रलाई बिगार्छ।” 34धोका नखाओ! धार्मिकतामा जिओ! पाप गरी नरहो। किनकि तिमीहरूमध्ये कतिलाई त परमेश्‍वरको कुनै ज्ञानै छैन। तिमीहरूलाई लज्जित पार्न म यो भन्दछु। 35तर कसैले यसरी भन्‍नेछ, “मरेकाहरू कसरी जीवित पारिन्छन्? अनि कस्तो शरीर लिएर तिनीहरू आउनेछन्?” 36तिमीहरू अति अन्जान छौ! जे रोप्छौ सो नमरेसम्म उम्रन थाल्नेछैन, 37अनि तिमीहरूले जे रोप्छौ त्यो पछि हुने शरीर होइन, तर बिउ मात्र हो। त्यो गहुँ या अन्य कुनै कुरा बन्‍न सक्छ। 38तर परमेश्‍वरले चाहेअनुसारको शरीर त्यसलाई दिनुहुनेछ र प्रत्येक बिउलाई त्यसको आफ्नै शरीर दिनुहुनेछ। 39सबै शरीर उस्तै हुँदैनन्। मानवीय शरीर एक किसिमको हुन्छ भने पशुको शरीर अर्को किसिमको र त्यसरी नै चराहरू वा माछाहरूको शरीर अर्कै किसिमको हुन्छ। 40त्यसरी नै स्वर्गीय तथा पार्थिव शरीरहरू हुन्छन्। तर स्वर्गीय शरीरको महिमा एक किसिमको र पार्थिव शरीरको महिमा अर्कै हुन्छ। 41सूर्यको महिमा एक किसिमको हुन्छ र चन्द्रमाको अर्कै र त्यसरी नै ताराहरूको महिमा फरक हुन्छ। किनकि एउटा ताराको महिमा अर्को ताराको भन्दा फरक हुन्छ। 42मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो। रोपिएको कुरा नष्‍ट भएर जानेछ र उठाइएको कुरा नष्‍ट हुनेछैन। 43त्यसलाई अनादरमा रोपिन्छ र महिमामा उठाइन्‍छ; त्यसलाई कमजोरीमा रोपिन्छ र शक्‍तिमा उठाइनेछ। 44त्यसलाई प्राकृतिक शरीरमा रोपिन्छ र आत्मिक शरीरमा उठाइन्छ। यदि प्राकृतिक शरीर हुन्छ भने आत्मिक शरीर पनि हुन्छ। 45त्यसैले, यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्यो।” अन्तिम आदम जीवन दिने आत्मा बन्‍नुभयो। 46तर पहिले आएकोचाहिँ आत्मिक होइन, तर प्राकृतिक थियो त्यसपछि आत्मिक आयो। 47पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो। दोस्रो मानिस स्वर्गबाट आएको हो। 48माटोबाट बनेको मानिसजस्तो हो; माटोबाट बनिएकाहरू पनि त्यस्तै हुन्। र स्वर्गको मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन्। 49जसरी हामी सबैले माटोबाट बनेको मानिसको रूप धारण गरेका छौँ, त्यसरी नै स्वर्गबाट आउनुभएका मानिसको रूपलाई धारण गरेका छौँ। 50त्यसैले, अब भाइहरू हो म भन्छु कि मासु र रगत परमेश्‍वरको राज्यको हकदार हुन सक्‍नेछैन, न त विनाशी अविनाशिको हकदार हुन सक्छ। 51हेर! म तिमीहरूलाई गोप्य सत्य बताउँछुः हामी सबै मर्नेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ। 52हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौँ। किनकि तुरही बज्‍नेछ र मरेकाहरू अविनाशी शरीरमा जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौँ। 53किनकि विनाशीले शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ। 54यो विनाशी शरीरले अविनाशीलाई धारण गर्नेछ र यो मरणशील शरीरले अमरत्व धारण गरेपछि यसरी लेखिएको वचन पुरा हुन आउनेछः “मृत्यु विजयमा निलिएको छ।” 55“हे मृत्यु तेरो विजय कहाँ छ? मृत्यु तेरो खिल कहाँ छ?” 56मृत्युको खिल पाप हो र पापको शक्‍ति व्यवस्था हो। 57तर येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा हामीलाई विजय दिने परमेश्‍वरलाई धन्यवाद होस्! 58त्यसैकारण, मेरा प्रिय भाइहरू हो, स्थिर र अटल रहो। सधैँ परमेश्‍वरको काममा व्यस्त रहो, किनकि परमेश्‍वरमा तिमीहरूको काम व्यर्थ हुँदैन।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।