सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 कोरिन्थी 1

यो अध्याय यसमा पर्छ: Verdeeldheid

1परमेश्‍वरको इच्छाद्वारा येशूका प्रेरित हुन बोलाइएका पावल र हाम्रा भाइ सोस्थेनसबाट। 2कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई, ख्रीष्‍ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई। हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्‍टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौँ, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ। 3हाम्रा परमेश्‍वर पिता र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति। 4ख्रीष्‍ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्‍वरको अनुग्रहको निम्ति म परमेश्‍वरलाई सधैँ धन्यवाद दिन्छु। 5उहाँले तिमीहरूलाई सारा बोली र ज्ञानमा हर प्रकारले धनी बनाउनुभएको छ। 6ख्रीष्‍टको विषयमा भएको गवाही सत्य छ भनेर तिमीहरूका माझमा पुष्‍टि भएको छ, 7ताकि तिमीहरूले उत्सुकतासाथ हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस्। 8तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष हुन सक भन्‍ने हेतुले उहाँले तिमीहरूलाई अन्तिमसम्म नै सुदृढ राख्‍नुहुनेछ। 9परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्‍ट हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो। 10अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस्। म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ। 11किनकि तिमीहरूका माझमा गुटबन्दी छ भन्‍ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन्। 12मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्‍टको हुँ” भन्छौ। 13के ख्रीष्‍ट बाँडिनुभएको छ र? के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए र? के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्मा लियौ र? 14म परमेश्‍वरलाई धन्यवाद दिन्छु कि मैले क्रिस्पस र गायसबाहेक अरू कसैलाई पनि बप्‍तिस्मा दिइनँ। 15तिमीहरूले मेरो नाउँमा बप्‍तिस्मा लियौ भनी कसैले भन्‍न सक्दैन। 16(मैले स्तिफनसको परिवारलाई पनि बप्‍तिस्मा दिएँ। त्योभन्दा बढी अरू व्यक्‍तिलाई मैले बप्‍तिस्मा दिएको मलाई सम्झना छैन।) 17किनकि येशूले मलाई बप्‍तिस्मा दिनलाई होइन, तर प्रचार गर्नलाई पठाउनुभयो। ख्रीष्‍टको क्रुस शक्‍तिहीन नबनाइयोस् भनेर उहाँले मलाई मानवीय बुद्धिका वचनहरूद्वारा प्रचार गर्न पठाउनुभएन। 18किनकि क्रुसको सन्देश मरिरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्‍वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्‍ति हो। 19किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट गर्नेछु। म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु।” 20बुद्धिमान् कहाँ छ? शिक्षित कहाँ छ? यो संसारको तर्क गर्ने कहाँ छ? के परमेश्‍वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र? 21संसारले आफ्नो बुद्धिले परमेश्‍वरलाई चिनेन। यसको ज्ञानले उहाँलाई चिन्‍न नसकेको हुनाले विश्‍वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्‍वरलाई उचित लाग्यो। 22किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन्। 23तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्‍ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो। 24तर तिनीहरू अर्थात् यहूदी र ग्रिक दुवै जसलाई परमेश्‍वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्‍टलाई परमेश्‍वरको शक्‍ति र बुद्धिको रूपमा प्रचार गर्छौं। 25किनकि परमेश्‍वरको मूर्खता मानिसभन्दा बुद्धिमानी छ, र परमेश्‍वरको दुर्बलता मानिसभन्दा शक्‍तिशाली छ। 26भाइहरू हो, आफ्नो बोलावटलाई हेर। तिमीहरूमध्ये धेरै जना मानिसको स्तरको मापमा बुद्धिमान् थिएनौ। तिमीहरूमध्ये धेरै जना शक्‍तिशाली थिएनौ। तिमीहरूमध्ये धेरै जनाको जन्म महान् थिएन। 27तर परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो। संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्‍वरले दुर्बल कुरालाई छान्‍नुभयो। 28परमेश्‍वरले संसारमा भएको नीच र तुच्छ ठहरिएको कुरालाई छान्‍नुभयो। उहाँले नगण्य कुराहरू मूल्यवान् ठहरिऊन् भनेर नगण्य कुराहरूलाई छान्‍नुभयो। 29उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो। 30परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्‍टमा छौ, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो। उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्‍नुभयो। 31यसैले धर्मशास्‍त्र भन्दछ, “गर्व गर्नेले परमेश्‍वरमा नै गर्व गरोस्।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।