सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 राजाहरू 7

यो अध्याय यसमा पर्छ: Salomo

1आफ्नो राजदरबार बनाउन सोलोमनलाई तेह्र वर्ष लाग्यो। 2तिनले लेबनानको वन भनिने राजदरबार बनाए। यसको लमाइ एक सय हात, चौडाइ पचास हात र उचाइ तिस हात थियो। देवदारुका स्तम्भहरूका चारवटा लहर र तीमाथि देवदारुकै सत्तरीहरूले राजदरबार बनाइयो। 3स्तम्भहरूमा अडिएका ती सत्तीहरूमाथि देवदारुले छत बनाइयो। प्रत्येक लहरमा पन्ध्रवटा गरी जम्माजम्मी पैँतिसवटा सत्तरी थिए। 4सत्तरीहरू तिनवटा लहरमा राखिएका थिए, र हरेक झ्याल एक-अर्कामा आमनेसामने थिए। 5सबै ढोकाका आयतकार चौकोसहरू थिए अनि झ्याल तिन-तिनवटा पङ्क्तिमा एक अर्कातिर फर्केका थिए। त्यहाँ पचास हात लामो र तिस हात चौडा स्तम्भहरूले घेरिएको एउटा चोक थियो। 6त्यसको सामु एउटा दलान थियो, र त्यसको सामु खम्बाहरू थिए अनि एउटा बाहिर निस्केको छत थियो। 7सोलोमनले सिंहासन कक्ष अर्थात् न्याय गर्नको लागि न्यायको कक्ष बनाए। यसको भुइँ देवदारुको काठले ढाकिएको थियो। 8सोलोमनले आफू बस्ने महल त्यसको पछिल्तिर न्यायको भवनजस्तै बनाए। आफूले विवाह गरेर ल्याएका फारोकी छोरीको निम्ति पनि तिनले योजस्तै घर बनाए। 9यी भवनहरू ठिक तरिकाले मापन गरी करौँतीले काटी चारैतिर चिल्लो बनाइएका महङ्गा पत्थरहरूबाट सिङ्गारिएका थिए। यी ढुङ्गाहरू जगदेखि छतसम्म र विशाल चोकको बाहिरपट्टि पनि प्रयोग गरिएका थिए। 10जगमा आठ र दस हातका लामा-लामा महङ्गा ढुङ्गाहरू हालिएका थिए। 11तिनको माथि ठिक किसिमले काटिएका महङ्गा ढुङ्गाहरू र देवदारुका सत्तरीहरू थिए। 12परमप्रभुको मन्दिरको चोक र त्यसको दलानजस्तै विशाल चोकका चारैपट्टि काटेर मिलाइएका ढुङ्गाका तिनवटा पङ्क्ति थिए, र देवदारुका सत्तरीहरूको एउटा पङ्क्ति थियो। 13सोलोमन राजाले हुरामलाई टुरोसबाट बोलाउन लगाए। 14हुराम नप्ताली कुलकी एउटी विधवाका छोरा थिए। तिनका पिता टुरोसवासी काँसाका कारिगर थिए। हुराम बुद्धि र समझशक्तिले भरिएका र काँसाका महान् काम गर्ने सिप भएका मानिस थिए। सोलोमन राजाको लागि काँसाको काम गर्न तिनी राजाकहाँ आए। 15हुरामले दुईवटा काँसाका स्तम्भको रचना गरे। प्रत्येक स्तम्भको उचाइ अठार हात र परिधि बाह्र हातको थियो। 16तिनले स्तम्भहरूमाथि शिर राख्न ढालेका काँसाका दुईवटा स्तम्भ-शिर पनि बनाए। हरेक स्तम्भ-शिरको उचाइ पाँच हात थियो। 17हरेक स्तम्भमाथि भएको स्तम्भ-शिरको निम्ति जालीस्वरूप सातवटा झुण्डिएका सिक्री बनाइए। 18यसरी हुरामले स्तम्भहरूका स्तम्भ-शिर सिँगार्नलाई प्रत्येक सिक्रीको जालीका वरिपरि दुईवटा पङ्क्ति भएको बुट्टादार दारिम बनाए। 19दलानभित्रका स्तम्भका स्तम्भ-शिरहरू लिली फुलको आकारका चार हात उचाइका थिए। 20दुवै स्तम्भका स्तम्भ-शिरमा जाली नजिकैको कचौराको आकार भएको भागमा स्तम्भ-शिरको चारैपट्टि पङ्क्ति-पङ्क्ति गरी दुई सय बुट्टादार दारिम बनाइए। 21तिनले मन्दिरको दलानमा ती स्तम्भहरू खडा गरे। दाहिनेपट्टिको स्तम्भलाई याकीन र देब्रेपट्टिको स्तम्भलाई बोआज नाउँ राखियो। 22स्तम्भ-शिरहरूलाई लिली फुलको आकारमा सजाइयो। यसरी स्तम्भहरूको काम सम्पन्न भयो। 23हुरामले ढालेर बनाइएको धातुको विशाल खड्कुँलो बनाए जसको बिट एउटा किनारादेखि अर्को किनारासम्म दस हात थियो। यसको उचाइ पाँच हात थियो, र परिधि तिस हात थियो। 24त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि हरेक हातमा दसवटा लौका बनाइएका थिए, र खड्कुँलो र लौका दुवै एउटै टुक्रा धातुबाट बनाइएका थिए। 25खड्कुँलोलाई बाह्रवटा गोरुमाथि राखिएको थियो– तिनवटा उत्तरतिर फर्केका, तिनवटा पश्चिमतिर फर्केका, तिनवटा दक्षिणतिर फर्केका र तिनवटा पूर्वतिर फर्केका थिए। खड्कुँलो तीमाथि राखिएको थियो, र तिनका सबै पछिल्ला भाग भित्रपट्टि फर्केका थिए। 26खड्कुँलोको चौडाइ चार अङ्गुल थियो, र यसको बिटचाहिँ कचौराको बिटजस्तो फक्रेको लिली फुलजस्तो थियो। यसमा लगभग चवालिस हजार लिटर पानी अटाउँथ्यो। 27हुरामले काँसाका दसवटा आधार बनाए। प्रत्येक आधार चार हात लामो, चार हात चौडा र तिन हात अग्लो थियो। 28ती आधार यसरी बनाइएका थिएः तिनका वरिपरिका पाटाहरू ठाडो फ्रेममा जोडिएका थिए, 29र ती पाटा र फ्रेमहरूमा सिंह, गोरु र करूबहरू थिए। सिंह र गोरुहरूको माथि र तल ढलौटे मालाहरू थिए। 30प्रत्येक आधारमा काँसाका धुरा भएका चारवटा चक्का थिए, र हरेकमा चार टेकामा अडेको एउटा बाटा थियो जसको चारैतिर ढलौटे मालाहरू थिए। 31आधारभित्र खुला भाग थियो, जसको गोलाकार साढे एक हात थियो, र त्यसभित्र एक हात अग्लो मुकुट थियो। त्यसको खुला भागको वरिपरि बुट्टाहरू कुँदिएका थिए, र आधारका पाटाहरू गोलाकार नभई वर्गाकार थिए। 32चारवटा चक्का पाटाहरूको मुनि थिए, र चक्काहरूका धुरा आधारसँग गाँसिएका थिए। हरेक चक्काको उचाइ साढे एक हात थियो। 33ती चक्काहरू रथका चक्काजस्ता थिए। तिनका धुरा, बिट, सुइरा र नाभि सबै ढालेर बनाइएका धातुका थिए। 34हरेक आधारका चारवटा समात्ने बिँड एउटा-एउटा कुनामा थिए, जुन आधारबाट बाहिर निस्केका थिए। 35आधारहरूको टुप्पामा आधा हात गहिरो गोलाकार धातुको फित्ता थियो, अनि आधारका टेका र पाटाहरू त्यसकै टुप्पासँग गाँसिएका थिए। 36पाटा र टेकाहरूका खाली ठाउँमा हुरामले करूबहरू, सिंहहरू र खजूरका रुखहरूको चित्र कुँदी त्यसको वरिपरि मालाहरू लगाए। 37यसरी नै तिनले दसवटा आधार बनाए। ती सबै एउटै नाप र एउटै आकार भएका ढालेर बनाइएका थिए। 38हुरामले काँसाका दसवटा बाटा बनाए। एउटा बाटामा आठ सय असी लिटर पानी अटाउँथ्यो। हरेक बाटा चार हातको थियो, र दसवटै आधारका लागि एउटा-एउटा बाटा थियो। 39तिनले पाँचवटा आधार मन्दिरको दक्षिणपट्टि र पाँचवटा आधार उत्तरपट्टि राखे। तिनले खड्कुँलोचाहि मन्दिरको दक्षिणपट्टि फर्कने गरी पूर्वी किनारामा राखे। 40हुरामले बाटाहरू, बेल्चाहरू र छर्कने बाटाहरू बनाए। यसरी तिनले परमप्रभुको मन्दिरमा सोलोमन राजाको लागि सबै काम सिद्ध्याए। 41तिनले दुईवटा स्तम्भ, स्तम्भको टुप्पामा कचौरा आकारका दुईवटा स्तम्भ-शिर माथिका स्तम्भ-शिरहरू सजाउने दुईवटा बुट्टादार जाली बनाए। 42तिनले दुईवटा सजाउने जालीका निम्ति चार सयवटा दारिम (दुईवटा स्तम्भका कचौराको आकार भएका स्तम्भ-शिरलाई ढाक्ने प्रत्येक जालीको निम्ति दुई पङ्क्ति दारिम), 43दसवटा आधार र आधारमाथि राख्नलाई दसवटा बाटा बनाए। 44तिनले खड्कुँलो भनिने विशाल बाटा र त्यसको मुन्तिर बाह्रवटा गोरु, 45भाँडाकुँडाहरू, बेल्चाहरू, बाटाहरू अनि सबै चिजहरू बनाए। हुरामले परमप्रभुको मन्दिरको लागि सोलोमन राजाको निम्ति टल्काइएका काँसाबाट बनाएका थिए। 46राजाले ती यर्दनको मैदानमा सुक्कोत र सार्तानको बिचमा ढालेर बनाउन लगाएका थिए। 47सोलोमनले धेरै भाँडाकुँडा बनाएकाले तिनले जोखेनन्। तिनले काँसाको ओजन निधो गरेनन्। 48सोलोमनले परमप्रभुको मन्दिरमा राखिने सबै सजाउने सामान सुनबाट बनाएका थिएः सुनको वेदी, उपस्थितिको रोटी राखिने सुनको टेबुल, 49निखुर सुनका सामदानहरू जसलाई भित्री कोठाको दाहिनेपट्टि पाँचवटा र देब्रेपट्टि पाँचवटा गरी राखिन्थ्यो; फुलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र चिम्टाहरू। 50सोलोमनले गिलासहरू, सलेदाका चिम्टाहरू, बाटाहरू, चम्चाहरू र धुपोराहरू पनि बनाए र यी सबै निखुर सुनका थिए। तिनले भित्री कोठा (अर्थात् महा-पवित्रस्थान) का ढोकाहरू र मन्दिरको मुख्य सभाकक्षका ढोकाहरूका निम्ति सुनका खोपिल्टाहरू पनि बनाए। 51यसरी सोलोमन राजाले परमप्रभुको मन्दिरको निम्ति सबै काम गरी सिद्ध्याए। त्यसैले सोलोमनले आफ्ना पिता दाऊदद्वारा अलग गरिएका चीजहरू अर्थात् चाँदी, सुन, सजाउने सामानहरू भित्र ल्याई परमप्रभुको मन्दिरका भण्डारमा राखे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।