सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 राजाहरू 3

यो अध्याय यसमा पर्छ: Salomo

1सोलोमनले विवाहद्वारा मिश्रका राजा फारोसित मैत्रीपूर्ण सम्बन्ध गाँसे। तिनले फारोकी छोरीसित विवाह गरे, र तिनले आफ्नै महल, परमप्रभुको मन्दिरसाथै यरूशलेमको पर्खाल निर्माण गरेपछि उनलाई दाऊदको सहरमा ल्याए। 2परमप्रभुको नाउँमा कुनै पनि घर निर्माण नभइसकेकोले मानिसहरूले उच्च स्थानहरूमा बलिदान चढाउँदै थिए। 3आफ्ना पिता दाऊदका विधिविधानहरूमा हिँडी सोलोमनले परमप्रभुप्रति आफ्नो प्रेम देखाए, तर तिनले उच्च स्थानहरूमा बलिदान चढाए र धूप बाले। 4राजा बलिदान चढाउन गिबोनमा गए किनकि त्यो निकै उच्च स्थान थियो। सोलोमनले त्यस वेदीमा एक हजारवटा होमबलि चढाए। 5रातमा गिबोनमा परमप्रभु सपनामा सोलोमनकहाँ देखा पर्नुभयो। उहाँले भन्नुभयो, “तँ मबाट के चाहन्छस्, माग्।” 6त्यसैले सोलोमनले भने, “मेरा पिता दाऊद तपाईंको सामु विश्वसनियतामा, धार्मिकतामा र ह्रदयको सोझोपनमा हिँडेकाले तपाईंले आफ्ना दास दाऊदलाई करारको ठुलो विश्वसनीयता देखाउनुभएको छ। तपाईंले उहाँप्रति करारको ठुलो विश्वसनीयता कायमै राख्नुभएको छ, र आज उहाँको सिंहासनमा बस्न एक जना पुत्र दिनुभएको छ। 7अब हे परमप्रभु मेरा परमेश्वर, म सानो बालक भए तापनि तपाईंले आफ्ना दासलाई मेरा पिता दाऊदको ठाउँमा राजा बनाउनुभएको छ। मलाई मेरो कर्तव्य थाहा छैन। 8तपाईंका दास तपाईंले छान्नुभएका मानिसहरूका बिचमा छन् जो असङ्ख्य र अनगिन्ती छन्। 9त्यसैले मैले खराब र असल छुट्ट्याउन सकूँ भनेर मानिसहरूको न्याय गर्न तपाईंका दासलाई समझशक्तिको ह्रदय दिनुहोस्। किनकि तपाईंको यस महान् जातिलाई न्याय गर्न को सक्षम छ?” 10सोलोमनको यस बिन्तीले परमप्रभुलाई खुसी तुल्यायो। 11त्यसैले परमेश्वरले तिनलाई भन्नुभयो, “तैँले आफ्नो लागि लामो जीवन वा धनसम्पत्ति वा तेरा शत्रुहरूको जीवन नमागी न्याय छुट्ट्याउने समझशक्ति मागेको छस्। 12हेर्, अब तैँले मबाट मागेको सबै कुरा म पुरा गर्ने छु। म तँलाई बुद्धिमानी र समझशक्तिको हृदय दिने छु। यसरी तेरो सामु कोही पनि तँजस्तो हुने छैन, र तँपछि पनि कोही पनि तँजस्तो खडा हुने छैन। 13तैँले मबाट नमागेका कुराहरू अर्थात् धनसम्पत्ति र मान पनि मैले तँलाई दिएको छु ताकि राजाहरूका बिचमा तेरो जीवनभर तँजस्तो कोही पनि नहोस्। 14तेरा पिता दाऊदझैँ मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न तँ मेरो मार्गमा हिँडिस् भने म तेरो आयु लम्ब्याउने छु।” 15त्यसपछि सोलोमन ब्युँझे, र यो त सपना पो रहेछ! तिनी यरूशलेममा आए, र परमप्रभुको करारको सन्दुकको सामु खडा भए। तिनले होमबलि र मेलबलिहरू चढाए, अनि आफ्ना सबै सेवकहरूलाई भोज दिए। 16त्यसपछि दुई जना वेश्या स्त्री राजाकहाँ आई तिनको सामु खडा भए। 17एक जना स्त्रीले भनी, “हे मेरा मालिक, यो स्त्री र म एउटै घरमा बस्छौँ, अनि त्यस घरमा मैले एउटा बालक जन्माएँ। 18मैले जन्म दिएको तेस्रो दिनमा यस स्त्रीले बालक जन्माई। हामी सँगसँगै थियौँ। घरमा हामीसित कोही पनि थिएन, तर हामी दुई जना मात्र थियौँ। 19त्यसपछि रातमा यो स्त्रीले बालकलाई थिचेर मारिछ। 20त्यसैले मध्य रातमा तपाईंकी दासी सुतिरहेको बेलामा त्यो उठी र छेउमा राखिएको मेरो छोरो लिएर काखमा राखिछ अनि मेरो काखमा चाहिँ त्यसको मरेको छोरो राखिछ। 21म मेरो बच्चालाई दूध खुवाउन बिहान उठ्दा त्यो मरेको रहेछ। बिहान मैले त्यसलाई नियालेर हेर्दा त्यो मैले जन्माएको मेरो छोरो थिएन।” 22त्यसपछि अर्की स्त्रीले भनी, “त्यसो होइन। जीवित छोरोचाहिँ मेरो छोरो हो, र मरेकोचाहिँ तेरो छोरो हो।” पहिलो स्त्रीले भनी, “त्यसो होइन। मरेकोचाहिँ तेरो छोरो हो, र जीवितचाहिँ मेरो छोरो हो।” यसरी तिनीहरूले राजाको सामु बताए। 23तब राजाले भने, “तिमीहरूमध्ये एउटीले भन्छौ, 'यो जीवितचाहिँ मेरो छोरो हो, र तेरो छोरोचाहिँ मरेको छ।' त्यसै गरी, अर्कीले भन्छौ, 'त्यसो होइन। तेरो छोरो मरेको छ, र मेरो छोरोचाहिँ जीवितै छ'।” 24राजाले भने, “मलाई एउटा तरवार ल्याइदेऊ।” त्यसैले तिनीहरूले राजाको सामु एउटा तरवार ल्याइदिए। 25तब राजाले भने, “जीवित छोरोलाई काटेर दुई भाग लगा अनि आधा भाग एउटी स्त्रीलाई र बाँकी आधा भाग अर्की स्त्रीलाई दिनू।” 26तब आफ्नो छोरोको निम्ति दयाले भरिएर जीवित छोरोकी आमाले राजालाई भनी, “हे मेरा मालिक, जीवित बालक त्यसलाई नै दिनू र त्यसलाई कुनै पनि हालतमा नमार्नू।” तर अर्की स्त्रीले भनी, “त्यो न मेरो हुने छ न तेरो। त्यसलाई दुई टुक्रा पारियोस्।” 27तब राजाले जवाफ दिए, “जीवित बालक पहिलो स्त्रीलाई दिनू, र त्यसलाई कुनै पनि हालतमा नमार्नू। त्यो नै बालककी आमा हो।” 28जब सारा इस्राएलले राजाले गरेको न्याय सुने तिनीहरू राजादेखि डराए किनकि न्याय सम्पादन गर्न परमेश्वरको बुद्धि तिनमा थियो भनी तिनीहरूले देखे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।