सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 राजाहरू 18

यो अध्याय यसमा पर्छ: Elia en Achab

1धेरै दिन बितेपछि खडेरीको तेस्रो वर्षमा परमप्रभुको वचन एलियाकहाँ आयो, “आहाबकहाँ गएर आफैलाई प्रकट गर्, र म देशमा वृष्टि ल्याउने छु।” 2आफैलाई आहाबकहाँ प्रकट गर्न एलिया गए। सामरियामा घोर अनिकाल परेको थियो। 3आहाबले राजदरबारको जिम्मावाल ओबदियालाई बोलाए। ओबदियाले परमप्रभुलाई अत्यन्तै आदर गर्थे। 4किनकि ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा ओबदियाले एक सय अगमवक्तालाई लिएर तिनीहरूलाई पचास-पचास गरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएका थिए। 5आहाबले ओबदियालाई भने, “देशको चारैतिर भएका खोलानाला र त्यसका मुहानहरूमा जाऊ। सायद हामीले घाँस पाउनेछौँ अनि घोडा र खच्चरहरूलाई जीवितै राख्न सक्छौँ। यसरी हामीले सबै पशु गुमाउने छैनौँ। 6त्यसैले निरीक्षण र पानीको खोजीको लागि तिनीहरूले देश विभाजन गरे। आहाब एकलै एकातिर गए, र ओबदिया अर्कोतिर गए। 7ओबदिया बाटोमा जाँदै गर्दा एलियाले अकस्मात् तिनलाई भेटे। ओबदियाले तिनलाई चिनिहाले र भुइँतिर शिर निहुराए। तिनले भने, “के तपाईं मेरा मालिक एलिया हुनुहुन्न र?” 8एलियाले तिनलाई जवाफ दिए, “म नै हुँ। 'हेर, एलिया यहीँ छन्' भनी गएर तिम्रो मालिकलाई बताइदेऊ।” 9ओबदियाले भने, “मैले के पाप गरेको छु, कि तपाईं आफ्ना दासलाई आहाबको हातमा मर्नलाई सुम्पनुहुन्छ?” 10परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि यस्तो कुनै जाति वा राज्य छैन जहाँ मेरा मालिकले तपाईंलाई फेला पार्न मानिसहरू पठाएका छैनन्। 'एलिया यहाँ छैनन्' भनी कुनै जाति वा राज्यले बताउँदा तिनीहरूले फेला पार्न सकेनन् भनी आहाबले तिनीहरूलाई भाकल गर्न लगाउँछन्। 11तथापि अहिले तपाईं भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ।' 12म यहाँबाट जानेबित्तिकै परमप्रभुका आत्माले तपाईंलाई मैले नचिनेको ठाउँमा लैजानुहुने छ। तब मैले आहाबलाई गएर बताउँदा तिनले तपाईंलाई फेला नपारेपछि तिनले मलाई मार्ने छन्। तापनि म तपाईंका दासले त मेरो बाल्यकालदेखि नै परमप्रभुको आराधना गरेको छु। 13हे मेरा मालिक, ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा मैले परमप्रभुका एक सय जना अगमवक्तालाई पचास-पचास गरी कसरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएँ भन्ने कुरो तपाईंलाई बताइएको छैन र? 14अहिले तपाईं मलाई भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ।' तिनले मलाई मार्ने छन्।” 15तब एलियाले जवाफ दिए, “सर्वशक्तिमान् परमप्रभु जसको अगि म खडा छु, उहाँको नाउँमा शपथ खाएर म भन्दछु, कि निश्चय नै म आजै आहाबकहाँ देखा पर्ने छु।” 16त्यसैले ओबदिया आहाबलाई भेट्न गए, र एलियाले भनेका कुरा तिनलाई बताए। 17तब राजा एलियालाई भेट्न गए। जब आहाबले एलियालाई देखे, तिनले तिनलाई भने, “तिमी नै एलिया हौ? इस्राएलमा कष्ट ल्याउने तिमी नै हौ!” 18एलियाले जवाफ दिए, “मैले इस्राएलमा कष्ट ल्याएको छैनँ, तर तपाईं र तपाईंको परिवारले परमप्रभुका आज्ञाहरू त्यागेर बाल देवताको पछि लागी कष्ट ल्याउनुभएको छ। 19अब मलाई कर्मेल डाँडामा भेट गर्न सारा इस्राएलीलाई बोलाउनुहोस्। ईजेबेलको टेबुलमा बसेर खाने बालका चार सय पचास अगमवक्ता र अशेराका चार सय अगमवक्तालाई पनि ल्याउनुहोस्।” 20त्यसैले आहाबले सारा इस्राएलीलाई भेल हुन खबर पठाए, र तिनीहरू अगमवक्ताहरूसँगै कर्मेल डाँडामा जम्मा भए। 21एलिया सबै मानिसका नजिक आई भने, “कहिलेसम्म तिमीहरू आफ्नो मन बद्लिरहन्छौ? परमप्रभु नै परमेश्वर हुनुहुन्छ भने उहाँको पछि लाग। तर बाल परमेश्वर हो भने त्यसको पछि लाग।” तापनि मानिसहरूले तिनलाई जवाफ दिएनन्। 22तब एलियाले मानिसहरूलाई भने, “परमप्रभुको अगमवक्ताको रूपमा म एकलै छाडिएको छु, तर बालका अगमवक्ताहरू ४५० जना छन्। 23तिनीहरूले हामीलाई दुईवटा साँढे देऊन्। तिनीहरू आफैले एउटा साँढेको छनोट गरी त्यसलाई टुक्राटुक्रा पारून्, अनि त्यसलाई दाउरामाथि राखून्, तर त्यसको मुनि आगो भने नलगाऊन्। त्यसपछि म अर्को साँढेलाई तयार पार्ने छु, र त्यसलाई दाउरामाथि राख्ने छु, तर त्यसको मुनि आगो भने लगाउँदिनँ। 24तिमीहरूले आफ्नो देवतालाई पुकार गर, र म परमप्रभुलाई पुकार्ने छु। जसले आगोद्वारा जवाफ दिनुहुन्छ उहाँ नै परमेश्वर हुनुहुने छ।” सबै मानिसले भने, “यो असल कुरो हो।” 25त्यसैले एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरूले एउटा साँढे छनोट गरी त्यसलाई तयार पार किनकि तिमीहरू सङ्ख्यामा धेरै छौ। त्यसपछि आफ्नो देवतालाई पुकार गर, तर साँढेको मुनि आगो नलगाओ।” 26तिनीहरूले तिनीहरूलाई दिइएको एउटा साँढे लिएर त्यसलाई तयार पारे, र बिहानदेखि दिउँसोसम्म यसो भन्दै बाललाई पुकार गरे, “हे बाल, हाम्रा कुरा सुन्नुहोस्।” तर त्यहाँ कुनै आवाज आएन, न त कसैले जवाफ दियो। तिनीहरूले बनाएका वेदीको वरिपरि तिनीहरू नाचे। 27मध्यान्हमा एलियाले तिनीहरूको खिसी गर्दै भने, “अझै चर्को गरी कराओ। त्यो पो देवता हो! उसले सोचविचार गर्दै होला वा काममा व्यस्त होला वा यात्रामा होला वा सुतिहरको छ होला। त्यसैले उसलाई ब्युँझाइनुपर्छ।” 28त्यसैले तिनीहरू अझै चर्को गरी चिच्च्याए, र तिनीहरूको आदतअनुसार तिनीहरूले आ-आफूलाई तरवार र भालाले प्रहार गरे। 29मद्यदिन बितेर गयो, र तिनीहरू साँझको बलिदान चढाउने बेलासम्म तिनीहरू बरबराउँदै थिए, तर त्यहाँ कुनै आवाज सुनिएन न त कसैले जवाफ दियो। तिनीहरूका बिन्तीलाई ध्यान दिने कोही भएन। 30तब एलियाले मानिसहरूलाई भने, “मेरो नजिक आओ।” सबै मानिस तिनको नजिक आए। त्यसपछि तिनले परमप्रभुको भत्केको वेदी मर्मत गरे। 31एलियाले बाह्रवटा ढुङ्गा लिए। प्रत्येकले याकूबका बाह्र छोराको प्रतिनिधित्व गर्थ्यो। यी तिनै याकूब हुन् जसकहाँ परमप्रभुको यस्तो वचन आएको थियो, “तेरो नाउँ इस्राएल हुने छ।” 32ती ढुङ्गाहरूले तिनले परमप्रभुको नाउँमा एउटा वेदी बनाए, र त्यस वेदीको वरिपरि पन्ध्र लिटर जति बिउ जाने ठुलो खाडल खने। 33तिनले आगो लगाउन दाउराको बन्दोवस्त गरे, साँढेलाई टुक्राटुक्रा पारे, र ती टुक्राहरूलाई दाउरामाथि राखे। तिनले भने, “चार गाग्रा पानी भरेर यो बलि र दाउरामाथि खन्याइदेओ।” 34त्यसपछि तिनले भने, “दोस्रो पटक पनि यसै गर।” तिनीहरूले दोस्रो पटक पनि त्यसै गरे। फेरि एक पटक तिनले भने, “तेस्रो पटक पनि यसै गर।” तिनीहरूले तेस्रो पटक पनि त्यसै गरे। 35पानी वेदीको चारैतिर पोखियो र खाडल भरियो। 36साँझको बलिदान चढाउने समयमा एलिया अगमवक्ता नजिक आएर भने, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, तपाईं इस्राएलका परमेश्वर हुनुहुन्छ र म तपाईंका दास हुँ र यी सबै कुरा मैले तपाईंको वचनअनुसार गरेको छु भनी आज थाहा होस्। 37हे परमप्रभु, मेरो कुरा सुन्नुहोस्, तपाईं परमप्रभु नै परमेश्वर हुनुहुन्छ र तपाईंले नै यी मानिसहरूका ह्रदय फर्काउनुभएको छ भनी यी मानिसहरूले जानून्।” 38तब परमप्रभुको आगो खसी होमबलि, दाउरा, ढुङ्गाहरू, धूलोलाई नष्ट पार्‍यो, र खाडलको पानी पनि सुकाइदियो। 39जब सबै मानिसले यो देखे तिनीहरूले आ-आफ्ना शिर झुकाई भने, “परमप्रभु नै परमेश्वर हुनुहुन्छ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ!” 40त्यसैले एलियाले तिनीहरूलाई भने, “बालका अगमवक्ताहरूलाई पक्र। एउटै पनि भाग्न नपाओस्।” त्यसैले तिनीहरूले बालका अगमवक्कताहरूलाई पक्रे र तिनीहरूलाई कीशोन खोलामा ल्याई मारे। 41एलियाले आहाबलाई भने, “उठ्नुहोस्, खानपान गर्नुहोस् र पिउनुहोस् किनकि ठुलो झरीको आवाज आउँदै छ।” 42त्यसैले आहाब खानपान गर्न र पिउनलाई गए। तब एलिया कर्मेल डाँडाको टाकुरामा उक्ले, भुइँमा आफ्नो शिर झुकाई आफ्ना घुँडाहरूका बिचमा आफ्नो मुहार राखे। 43तिनले आफ्नो नोकरलाई भने, “गएर समुद्रतिर गएर हेर्।” तिनको नोकर गएर हेर्‍यो र फर्केर आई भन्यो, “त्यहाँ केही छैन।” त्यसैले एलियाले भने, “सातपल्ट गएर हेर्।” 44सातौँ पटकमा नोकरले भन्यो, “हेर्नुहोस्, मानिसको हातजस्तै समुद्रबाट सानो बादल उठिरहेको छ।” एलियाले जवाफ दिए, “गएर आहाबलाई भन्, 'आफ्नो रथ तयार गरेर तल जानुहोस् नत्रता पानीले तपाईंलाई रोक्ने छ।” 45केही क्षणमा नै बादल कालो भयो र हुरी चल्यो, अनि त्यहाँ ठुलो झरी पर्‍यो। आहाब रथमा चढेर यिजरेलमा गए, 46तर परमप्रभुको हात एलियामाथि थियो। तिनले आफ्नो खास्टो पटुकामा कसे, र यिजरेलको प्रवेशद्वारसम्मै आहाबको अगिअगि कुदे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।