सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 राजाहरू 20

यो अध्याय यसमा पर्छ: Elia en Achab

1अरामका राजा बेन-हददले आफ्ना सबै सेनालाई जम्मा गरे। तिनीसित बत्तिस स-साना राजा, घोडाहरू र रथहरू थिए। तिनी माथि उक्लेर सामरियालाई घेरा हाली यसको विरुद्धमा लडे। 2तिनले इस्राएलका राजा आहाबको सहरमा सन्देशवाकहरू पठाएर भने, “बेन-हदद यसो भन्नुहुन्छ, ' 3तपाईंका सुन र चाँदी मेरा हुन्। साथै, तपाईंका सबैभन्दा राम्रा-राम्रा पत्नीहरू र बालबच्चा मेरै हुन्'।” 4इस्राएलका राजाले भने, “हे मेरा मालिक राजा, तपाईंले भन्नुभएझैँ म र मेरा सबै तपाईंकै हुन्।” 5सन्देशवाकहरू फर्केर आएर भने, “बेन-हदद यसो भन्नुहुन्छ, 'तपाईंले तपाईंका चाँदी, तपाईंका सुन, तपाईंका पत्नीहरू र बालबच्चा मलाई दिनुपर्छ भनी मैले समाचार पठाएँ। 6तर म भोली यसै बेलातिर मेरा दासहरूलाई पठाउने छु, र तिनीहरूले तपाईंको घर र तपाईंका अधिकारीहरूका घरहरू खोजतलास गर्ने छन्। तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले आफ्ना हातले ती ल्याउने छन्'।” 7तब इस्राएलका राजाले देशका धर्म-गुरुहरूलाई जम्मा गरी भने, “यी मानिसले त सङ्कष्ट ल्याउन खोज्दै छन् भनी ख्याल गर्नुहोस्। मेरा पत्नीहरू, बालबच्चा, चाँदी र सुन लैजान तिनले मकहाँ समाचार पठाएका छन्, तर मैले इन्कार गरिदिएको छु।” 8सारा धर्म-गुरु र मानिसहरूले आहाबलाई भने, “तिनको कुरा नसुन्नुहोस्, वा तिनको आज्ञामा सहमति नजनाउनुहोस्।” 9त्यसैले आहाबले बेन-हददका सन्देशवाहकरूलाई भने, “मेरा मालिक राजालाई भनिदेऊ, 'तपाईंले पहिलो पटक आफ्नो दासमार्फत भन्नुभएको हरेक कुरामा म सहमत हुन्छु, तर यो दोस्रो मागलाई चाहिँ स्वीकार गर्दिनँ'।” त्यसैले सन्देशवाहकरू त्यहाँबाट प्रस्थान गरे र बेन-हददको निम्ति यो जवाफ लिएर गए। 10तब बेन-हददले आहाबलाई जवाफ पठाए, “सामरियाको बाँकी धूलो मेरो हरेक मानिसलाई एक-एक मुट्ठी दिन पुग्यो भने पनि देवताहरूले मलाई त्यस्तै वा त्योभन्दा कठोर व्यवहार गरून्।” 11इस्राएलका राजाले जवाफ दिए, “बेन-हददलाई भन्, 'भर्खरै कवच भिर्ने मानिसले त्यो फुकाल्ने मानिसले झैँ घमण्ड गर्नुहुँदैन'।” 12बेन-हदद र तिनी मुनिका राजाहरूले तिनीहरूका पालहरूमा मद्य पिइरहँदा तिनले यो समाचार सुने। बेन-हददले आफ्ना मानिसहरूलाई आज्ञा दिए, “युद्धको लागि पङ्क्तिबद्ध होओ।” त्यसैले तिनीहरू त्यस सहरलाई आक्रमण गर्न तयार भए। 13तब हेर, एक जना अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “परमप्रभु भन्नुहुन्छ, 'के तैँले यो विशाल सेनालाई देख्दै छस्? हेर्, म आज यसलाई तेरो हातमा सुम्पिदिने छु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस्'।” 14आहाबले जवाफ दिए, “कोद्वारा?” परमप्रभुले जवाफ दिनुभयो, “जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूद्वारा।” तब आहाबले भने, “कसले युद्धको थालनी गर्ने छ?” परमप्रभुले जवाफ दिनुभयो, “तैँले।” 15तब आहाबले जिल्ला-जिल्लाका जल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूलाई भेला गराए। तिनीहरू दुई सय बत्तिस जना थिए। त्यसपछि तिनले इस्राएलका सबै सिपाहीलाई जम्मा गरे। तिनीहरू सात हजार थिए। 16तिनीहरू मध्य दिनमा बाहिर निस्के। बेन-हदद र तिनको समर्थन गर्ने तिनीमुनिका बत्तिस जना राजा पालमा मद्य पिएर मातिरहेका थिए। 17पहिले जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरू अगाडि बढे। बेन-हददद्वारा पठाइएका चेवा गर्ने मानिसहरूले तिनलाई भने, “सामरियाबाट मानिसहरू आउँदै छन्।” 18बेन-हददले भने, “तिनीहरू मेलमिलाप वा युद्ध जेसुकैको लागि आएको भए तापनि तिनीहरूलाई जिउँदै ल्याओ।” 19त्यसैले जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरू सहरबाट बाहिर गए, र सेना तिनीहरूको पछिपछि लागे। 20हरेकले आ-आफ्नो प्रतिद्वन्द्वीलाई मार्‍यो। अरामीहरू भागे, र इस्राएलीहरूले तिनीहरूलाई खेदे। अरामका राजा बेन-हदद केही घोडचढीहरूसँगै घोडामा चढेर उम्के। 21तब इस्राएलका राजा बाहिर निस्केर घोडाहरू र रथहरूलाई आक्रमण गरे, र अरामीहरूको ठुलो संहार गरे। 22त्यसैले अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “जानुहोस्, र आफैलाई बलियो पार्नुहोस्, अनि तपाईंले जे गर्दै हुनुहुन्छ त्यसलाई बुझेर योजना बनाउनुहोस् किनकि नयाँ वर्षमा अरामका राजा तपाईंको विरुद्धमा आउने छन्।” 23अरामका राजाका अधिकारीहरूले तिनलाई भने, “तिनीहरूका ईश्वर त पहाडहरूका ईश्वर रहेछन्। त्यसकारण तिनीहरू हामीभन्दा शक्तिशाली भएका हुन्। तर अब तिनीहरूको विरुद्धमा मैदानमा लडौँ, र निश्चय नै हामी तिनीहरूभन्दा शक्तिशाली हुने छौँ। 24त्यसैले तपाईंले यसो गर्नुहोस्, 'सबै राजालाई तिनीहरूका पदबाट हटाई तिनीहरूको सट्टामा सेनाका नायकहरूलाई राख्नुहोस्। 25तपाईंले गुमाउनुभएका सेनाजस्तै सेना तयार पार्नुहोस्। घोडाको लागि घोडा र रथको लागि रथ तयार पार्नुहोस्। यसरी हामी तिनीहरूसित मैदानमा लड्न सक्छौँ। तब निश्चय नै हामी तिनीहरूभन्दा शक्तिशाली हुने छौँ।” त्यसैले बेन-हददले तिनीहरूको कुरा सुनेर त्यसैअनुसार गरे। 26नयाँ वर्षको थालनीपछि बेन-हददले अरामीहरूलाई जम्मा गरी इस्राएलको विरुद्धमा लड्न अपेकमा गए। 27इस्राएलीहरू पनि भेला भए, र अरामीहरूको विरुद्धमा लड्न तिनीहरूलाई खानेकुरा दिइयो। इस्राएलीहरूले तिनीहरूको सामुन्ने छाउनी हाले, र तिनीहरू बाख्राका दुईवटा स-साना बगालजस्तै थिए, जब कि अरामीहरूले पुरै मैदानलाई ढाकेका थिए। 28तब एक जना परमेश्वरका जन नजिक आई इस्राएलका राजालाई भने, “परमप्रभु भन्नुहुन्छ, 'अरामीहरूले परमप्रभु पहाडहरूका ईश्वर हुनुहुँदोरहेछ, उपत्यकाको ईश्वर होइन रहेछ भनी भनेकाले म यो विशाल सेनालाई तेरो हातमा सुम्पिदिने छु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस्'।” 29त्यसैले सेनाहरूले सात दिनसम्म एक-अर्काको सामुन्ने छाउनी हाले। अनि सातौँ दिनमा युद्ध सुरु भयो। इस्राएलका मानिसहरूले एकै दिनमा एक लाख पैदल अरामीलाई मारे। 30बाँकी रहेकाहरू अपेक सहरभित्र भागे, र सत्ताइस हजारमाथि पर्खाल ढलेर बज्र्यो। बेन-हदद भागेर सहरको भित्री कोठामा गए। 31बेन-हददका अधिकारीहरूले तिनलाई भने, “अब हेर्नुहोस्, इस्राएलको घरानाका राजाहरू कृपालु छन् भनी हामीले सुनेका छौँ। हाम्रा कम्मरको वरिपरि भाङ्ग्रा लगाएर शिरका वरिपरि फेटा बाँधेर इस्राएलका राजाकहाँ जाऔँ। सायद तिनले तपाईंको ज्यान जोगाउनुहुने छ।” 32त्यसैले तिनीहरूले आ-आफ्ना कम्मरवरिपरि भाङ्ग्रा लगाए, र शिरमा फेटा बाँधे अनि इस्राएलका राजाकहाँ आई भने, 'तपाईंका दास बेन-हददले भन्नुभएको छ, 'कृपया, मलाई बाँच्न दिनुहोस्'।” आहाबले भने, “के तिनी अझै जिउँदै छन्? तिनी त मेरा भाइ हुन्।” 33अब ती मानिसहरूले राजाबाट कुनै चिन्ह सुन्ने अपेक्षा गर्दै थिए। त्यसैले तिनीहरूले झट्टै उत्तर दिए, “ज्यू, हजुरका दास बेन-हदद जीवितै हुनुहुन्छ।” तब बेन-हददले भने, “गएर तिनलाई ल्याओ।” तब बेन-हदद तिनीकहाँ आए, र आहाबले तिनलाई आफ्नो रथमा चढाए। 34बेन-हददले आहाबलाई भने, “मेरा पिताले तपाईंका पिताबाट लिनुभएका सहरहरू म तपाईंलाई पुनर्स्थापित गरिदिने छु, र मेरा पिताले सामरियामा गरेझैँ तपाईंले आफ्नो लागि दमस्कसमा बजारहरू स्थापित गर्न सक्नुहुन्छ।” आहाबले जवाफ दिए, “यो सम्झौतासहित म तिमीलाई छाडिदिने छु।” त्यसैले आहाबले तिनीसित सम्झौता गरी तिनलाई जान दिए। 35अगमवक्ताका छोराहरूमद्ये कोही एक जनाले आफ्नो कुनै अगमवक्ता साथीलाई परमप्रभुको वचनद्वारा भने, “मलाई हिर्काऊ।” तर ती मानिसले तिनलाई हिर्काउन इन्कार गरे। 36तब अगमवक्ताले आफ्ना मित्र अगमवक्तालाई भने, “तिमीले परमप्रभुको कुरा नमानेकाले तिमी मबाट जानेबित्तिकै एउटा सिंहले तिमीलाई मार्ने छ।” ती मानिस प्रस्थान गर्नेबित्तिकै एउटा सिंह आएर तिनलाई मारिदियो। 37तब अगमवक्ताले अर्को मानिसलाई फेला पारी तिनलाई भने, “मलाई हिर्काऊ।” 38त्यसैले ती मानिसले तिनलाई हिर्काई घाइते बनाए। तब अगमवक्ता प्रस्थान गरे र बाटोनेर राजाको प्रतीक्षा गरे। तिनले आँखामा पट्टी बाँधेर गुप्त भेष बनाएका थिए। 39राजा त्यही बाटो भएर आउँदा अगमवक्ताले राजालाई बोलाएर भने, “तपाईंका दास युद्धको मुखैमा गएका थिए, र एक जना सिपाहीले मलाई रोकेर मकहाँ एक जना मानिस लिएर आई मलाई भन्यो, 'यो मानिसको रक्षा गर। कुनै कारणले गर्दा यो मानिस हरायो भने यसको सट्टामा तिमीले आफ्नो प्राण दिनुपर्ने छ वा तिमीले करिब चौँतिस किलोग्राम चाँदी तिर्नुपर्ने हुन्छ।' 40तर तपाईंका दास यताउता जाँदैमा व्यस्त भएकाले त्यो मानिस भाग्यो।” तब इस्राएलका राजाले तिनलाई भने, “तेरो दण्ड यही हुने छ जुन तँ आफैले निधो गरिस्।” 41तब ती अगमवक्ताले झट्टै आफ्ना आँखाबाट पट्टी निकाले, र तिनी त एक अगमवक्ता रहेछन् भनी इस्राएलका राजाले चिने। 42अगमवक्ताले राजालाई भने, “परमप्रभु भन्नुहुन्छ, 'मैले मृत्युदण्ड तोकेको मानिसलाई तैँले आफ्नो हातबाट फुत्किन दिएकोले त्यसको प्राणको सट्टा तेरो प्राण र तिनीहरूका मानिसहरूको सट्टा तेरा मानिसहरू हुने छन्'।” 43त्यसैले इस्राएलका राजा उदास भए, र रिसाएर सामरियामा आफ्नो महलमा आइपुगे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।