सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 राजाहरू 10

यो अध्याय यसमा पर्छ: Salomo

1जब शेबाकी रानीले परमप्रभुको नाउँको सम्बन्धमा सोलोमनको कीर्ति सुनिन्, उनी कठिन प्रश्नहरू लिएर तिनलाई जाँच गर्न आइन्। 2उनी मसलाहरू लादिएका ऊँटहरू, थुप्रै सुन र धेरै बहुमूल्य रत्नहरू लिएर ज्यादै ठुलो लावालश्करसाथ यरूशलेम आइन्। उनी आइपुगेपछि उनले आफ्नो ह्रदयमा भएका सबै कुरा सोलोमनलाई बताइन्। 3सोलोमनले उनका सबै प्रश्नका जवाफ दिए। उनले सोधेका सबै प्रश्नको राजाले जवाफ दिए। 4जब शेबाकी रानीले सोलोमनका सबै बुद्धि, तिनले बनाएका राजदरबार, 5तिनको टेबुलको भोजन, तिनका वरिपरि बस्ने अधिकारीहरू, तिनका अधिकारीहरूका काम र तिनीहरूका पोशाक, सेवा टहल गर्ने नोकर-चाकरहरू, तिनले परमप्रभुको घरमा बलिदान गर्ने होमबलिको तरिका देखिन्, तब उनी अवाक् भइन्। 6उनले राजालाई भनिन्, “तपाईंका वचन र तपाईंको बुद्धिको बारेमा मैले मेरो देशमा सुनेको कुरो साँचो रहेछ। 7म यहाँ नआएसम्म मैले सुनेको कुरामा मैले विश्वास गरिनँ। अब मेरा आफ्नै आँखाले मैले देखेको छु। तपाईंको बुद्धि र धन-सम्पत्तिको बारेमा मलाई आधा मात्र बताइएको रहेछ! तपाईंको कीर्ति मैले सुनेको भन्दा ज्यादा रहेछ। 8तपाईंका पत्नीहरू कति प्रसन्न होलान्! तपाईंको बुद्धि सुन्न पाएकाले तपाईंको सामु निरन्तर खडा हुने तपाईंका सेवकहरू कति प्रसन्न होलान्! 9परमप्रभु तपाईंका परमेश्वरको स्तुति होस् जो तपाईंमा प्रसन्न हुनुहुन्छ र जसले तपाईंलाई इस्राएलको सिंहासनमा राख्नुभएको छ। परमप्रभुले इस्राएललाई सदाको निम्ति प्रेम गर्नुभएकाले न्याय र धार्मिकता कायम गर्न उहाँले तपाईंलाई राजा बनाउनुभएको छ।” 10उनले राजालाई चार टन सुन र प्रशस्त मात्रामा मसलासाथै बहुमूल्य रत्नहरू दिइन्। शेबाकी रानीले सोलोमन राजालाई दिएकी जत्तिकै यति प्रशस्त मसला तिनलाई फेरि कहिल्यै दिइएन। ओपीरबाट सुन ल्याउने 11हीरामका जहाजहरूले पनि ठुलो परिमाणमा चन्दनको काठ र बहुमूल्य पत्थरहरू ल्याउँथे। 12राजाले ती चन्दनका काठहरूबाट परमप्रभुको मन्दिर र राजदरबारका खम्बाहरू बनाउनुका अतिरिक्त गायकहरूका लागि वीणा र सारङ्गीहरू बनाए। चन्दनको काठको यति धेरै परिमाण आजको दिनसम्म फेरि कहिल्यै देखिएको छैन। 13राजा सोलोमनले शेबाकी रानीले इच्छा गरेकी हरेक थोक दिए। राजाले आफ्नो राजकीय उदारताका अतिरिक्ता उनले मागेकी हरेक कुरा दिए। यसरी उनी आफ्ना सेवकहरूसँगै आफ्नो देशमा फर्किन्। 14सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको ओजन तेइस टन थियो। 15यसबाहेक, पैकारीहरू र व्यापारीहरूले पनि सुन ल्याउँथे। अरब देशका सबै राजा र प्रादेशिक राज्यपालहरूले पनि सोलोमनकहाँ सुनचाँदी ल्याउने गर्थे। 16सोलोमन राजाले पिटेको सुनबाट दुई सयवटा ठुला-ठुला ढाल बनाए। प्रत्येक ढाल बनाउन साढे तिन किलोग्राम लागेको थियो। 17तिनले पिटेको सुनका तिन सयवटा स-साना ढाल पनि बनाए। प्रत्येक ढालमा करिब डेढ किलोग्राम सुन लागेको थियो। राजाले तिनलाई लेबनानको वन भनिने राजदरबारमा राखे। 18त्यसपछि राजाले हस्ती-हाडको एउटा ठुलो सिंहासन बनाई त्यसलाई सबैभन्दा उत्तम सुनले मोहोरे। 19सिंहासनमा उक्लने छवटा खुड्किला थिए, र यसको पछाडिपट्टि गोलाकार टुप्पो थियो। बस्ने आसनको दुवैपट्टि हात अड्याउने बाहु थिए, र बाहुका छेउ-छेउमा उभिएका एक-एकवटा सिंह थिए। 20छवटै खुट्किलाको एक-एकपट्टि एउटा-एउटा सिंह गरी खुट्किलाहरूमा बाह्रवटा सिंह खडा थिए। अन्य कुनै पनि राज्यमा यस्तो किसिमको सिंहासन थिएन। 21सोलोमन राजाका सबै पिउने कचौरा सुनका थिए, र लेबनानको वन भनिने राजदरबारका भएका सबै पिउने कचौरा निखुर सुनका थिए। कुनै पनि कचौरा चाँदीको थिएन किनकि सोलोमनको समयमा चाँदीलाई मूल्यवान् ठानिदैनथ्यो। 22हीरामका जहाजहरूसँगै समुद्रमा सोलोमन राजाका पनि जहाजहरू थिए। हरेक तिन वर्षमा एक पटक जहाजहरूले सुन, चाँदी, हस्ति-हाडसाथै ढेडु र बाँदरहरू ल्याउने गर्थे। 23यसरी सोलोमन राजा धन-सम्पत्ति र बुद्धिमा संसारका सबै राजाभन्दा श्रेष्ठ थिए। 24परमेश्वरले सोलोमनको ह्रदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्नलाई सारा दुनियाँले तिनको उपस्थितिको खोजी गर्थे। 25तिनलाई भेट्नेहरूले हरेक वर्ष कोसेली, सुन र चाँदीका भाँडाकुँडाहरू, लुगाहरू, हातहतियार, मसलासाथै घोडा र खच्चरहरू ल्याउँथे। 26सोलोमनले रथहरू र घोडचढीहरू जम्मा गरे। तिनका चौध सयवटा रथ र बाह्र हजार घोडचढी थिए जसलाई तिनले रथ राख्ने सहरहरू र आफूसितै यरूशलेममा पनि राख्ने गर्थे। 27राजाले यरूशलेममा चाँदी जमिनको ढुङ्गासरह बनाए। तिनले देवदारुचाहिँ पहाडका जङ्गली अञ्जीरका बोटहरूसरह प्रशस्त तुल्याए। 28सोलोमनका घोडाहरू मिश्र र क्यूएबाट पैठारी गरिन्थे, अनि राजाका व्यापारीहरूले तिनलाई क्यूएबाट किन्ने गर्थे। 29मिश्रबाट चाँदीका छ सय सिक्कामा एउटा रथ र चाँदीको डेढ सय सिक्कामा एउटा घोडा किनिन्थ्यो। त्यसपछि यीमध्ये धेरैजसो हित्ती र अरामीहरूका राजाहरूलाई बेचिन्थे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।