सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

लेवीहरू 26

यो अध्याय यसमा पर्छ: Wees heilig

1“तिमीहरूले मूर्तिहरू नबनाउनू, र आफ्नो निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खडा नगर्नू, र आफ्नो भूमिमा खोपिएको ढुङ्गाको प्रतिमूर्ति बनाएर त्यसलाई दण्डवत् नगर्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। 2तिमीहरूले मेरो शबाथ मान्‍नू र मेरो पवित्रस्थानको आदर गर्नू। म परमप्रभु हुँ। 3यदि तिमीहरू मेरा नियमहरूअनुसार हिँड्यौ र मेरा आज्ञाहरू पालन गरेर तीअनुसार चल्यौ भने, 4म तिमीहरूलाई ठिक मौसममा झरी दिने छु, र भूमिले आफ्नो उब्जनी दिने छ, र भूमिका रुखहरूले आफ्ना फल दिने छन्। 5दाख बटुल्‍ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्‍ने छौ। तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ। 6म देशमा शान्ति ल्याउने छु, र तिमीहरू कुनै डरविना नै निदाउने छौ। म तिमीहरूका देशबाट हिंसक पशुहरूलाई हटाइदिने छु, र तिमीहरूका देशमा तरवार प्रहार हुने छैन। 7तिमीहरूले आफ्ना दुश्मनहरूलाई लखेट्‍ने छौ, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूकै अगि तिनीहरू लड्‍ने छन्। 8तिमीहरूका पाँच जनाले सयलाई, र सयले हजार जनालाई लखेट्‍ने छन्, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूका दुश्मनहरू तिमीहरूकै अगि लड्‍ने छन्। 9म तिमीहरूमाथि कृपादृष्‍टि लगाउने छु र तिमीहरूलाई फलवन्‍त बनाएर तिमीहरूको सङ्ख्या वृद्धि गर्ने छु। म मेरो करार तिमीहरूसँग स्थापना गर्ने छु। 10तिमीहरूले लामो समयसम्म भण्डार गरेको खाने कुरा खाने छौ। तिमीहरूले भण्डार गरेको खाने कुरा बाहिर निकालेर नयाँ फसलको निम्ति ठाउँ तयार गर्ने छौ। 11म मेरो वेदी तिमीहरूकै बिचमा राख्‍ने छु, र म तिमीहरूलाई घृणा गर्ने छैनँ। 12म तिमीहरूका बिचमा हिँड्‍डुल गर्ने छु, र म तिमीहरूका परमेश्‍वर हुने छु, र तिमीहरू मेरा मानिसहरू हुने छौ। 13तिमीहरू मिश्रमा दास भइनरहोस् भनेर त्यस देशबाट तिमीहरूलाई निकालेर बाहिर ल्याउने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ। मैले तिमीहरूका जुवाका काठहरू भत्‍काइदिएको छु र तिमीहरूलाई ठाडो भएर हिँड्ने तुल्याएको छु। 14तर तिमीहरूले मेरा कुरा सुनेनौ, र मेरा यी सबै आज्ञाहरू मानेनौ, 15र मेरा विधि र नियमहरूलाई घृणा गरेर इन्‍कार गर्‍यौ, र मेरा सबै आज्ञाहरू पालन नगरेर मेरो करारलाई तोड्‍यौ भने, 16म तिमीहरूका बिचमा आतङ्क फैलाउने छु, आँखालाई नष्‍ट गर्ने र प्राणलाई शिथिल गराउने रोगहरू र ज्वरोहरू पठाउने छु। तिमीहरूले छरेका बिउ व्यर्थ हुने छन्, किनभने तिमीहरूका शत्रुहरूले त्यसको उब्जनी खाने छन्। 17म मेरो मुहार तिमीहरूबाट फर्काउने छु, र तिमीहरूका शत्रुले तिमीहरूलाई पराजय गर्ने छन्। तिमीहरूलाई घृणा गर्ने मानिसहरूले तिमीहरूमाथि शासन गर्ने छन्, र कसैले तिमीहरूलाई नखेदे तापनि तिमीहरू भाग्‍ने छौ। 18यी सबैपछि पनि तिमीहरूले मेरो कुरा सुनेनौ भने, म तिमीहरूका पापभन्दा सात गुणा बढी सजाय तिमीहरूलाई दिने छु। 19आफ्नो शक्‍तिमाथिको तिमीहरूको घमण्डलाई म तोडिदिने छु। तिमीहरूमाथिको आकाशलाई फलामझैँ र तिमीहरूको भूमिलाई काँसोझैँ बनाउने छु। 20तिमीहरूको मेहनत व्यर्थ हुने छ, किनभने तिमीहरूको भूमिले आफ्नो फसल दिने छैन, र तिमीहरूका भूमिका रुखहरूले आफ्ना उब्जनी दिने छैनन्। 21यदि तिमीहरू मेरो विरुद्ध भयौ र मेरो कुरा सुनेनौ भने, तिमीहरूका पापहरूको बदलामा म सात गुणा विपत्ति ल्याउने छु। 22म तिमीहरूकहाँ डर लाग्‍दा पशुहरू पठाउने छु, र तिनीहरूले तिमीहरूका छोराछोरीहरू चोरी लैजाने छन्, र तिमीहरूका गाईवस्तुलाई नष्‍ट गर्ने छन्, र तिमीहरूको सङ्ख्यामा कमि ल्याउने छन्। यसरी तिमीहरूका मार्गहरू विराना हुने छन्। 23यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरा सुधारहरूलाई स्वीकारेनौ र मेरो विरुद्धमा हिँड्न छोडेनौ भने, 24म तिमीहरूका विरुद्ध हुने छु, र तिमीहरूका पापका कारण म तिमीहरूलाई सात गुणा दण्ड दिने छु। 25म तिमीहरूमाथि तरवार प्रहार गर्ने छु र तिमीहरूले करार भङ्ग गरेको कारण त्यस तरवारले बदला लिने छ। तिमीहरू आफ्ना सहरहरूमा भेला गराइने छौ, र तिमीहरूका बिचमा मैले एउटा रोग पठाउने छु, र तिमीहरूका दुश्‍मनका हातमा तिमीहरूलाई सुम्‍पने छु। 26जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु, दस जना स्‍त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन्। तिमीहरूले खाने त छौ, तर तृप्‍त हुने छैनौ। 27यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरो कुरा सुनेनौ र मेरो विरुद्ध हिँडिरह्‍यौ भने, 28म क्रोधित हुने छु र तिमीहरूको विरुद्ध हुने छु, र तिमीहरूका पापभन्दा सात गुणा बढी दण्ड म दिने छु। 29तिमीहरूले आफ्ना छोराछोरीहरूका मासु खाने छौ। 30म तिमीहरूका डाँडाका थानहरू नाश गर्ने छु, तिमीहरूका धूपका वेदीहरू भत्‍काइदिने छु, र तिमीहरूका लाशहरू तिमीहरूका मृत मूर्तिहरूमाथि फालिदिने छु, र म तिमीहरूलाई तिरस्कार गर्ने छु। 31म तिमीहरूका सहरहरूलाई भग्‍नावशेषमा परिणत गरिदिने छु र तिमीहरूका पवित्र स्थलहरू नष्‍ट गरिदिने छु। म तिमीहरूका बलिदानहरूका सुगन्धबाट प्रसन्‍न हुने छैनँ। 32म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु। त्यहाँ बस्‍ने तिमीहरूका दुश्‍मनहरूले त्यस्तो विनाश देखेर आश्‍चर्यचकित हुने छन्। 33म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितरबितर पारिदिने छु, र मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्‍ने छु। तिमीहरूको देश त्यागिने छ र तिमीहरूका सहरहरू विनाश हुने छन्। 34त्यो देश जबसम्म त्यागिएको हुन्छ र जबसम्म तिमीहरू दुश्‍मनको भूमिमा हुन्छौ, तबसम्म त्यो देशले शबाथ मनाउने छ। त्यस समयसम्म देशले विश्राम गर्ने छ र आफ्नो शबाथ मनाउने छ। 35त्यो जबसम्म त्यागिएको हुन्छ, त्यो विश्राममा हुन्छ। तिमीहरू त्यहाँ बसोबास गर्दा तिमीहरूका शबाथसँगै त्यसले यस्तो विश्राम पाएको थिएन। 36तिमीहरूका दुश्‍मनका देशमा छोडिएकाहरूका हृदयहरूमा यस्तो डर हालिदिने छु, कि हावाले पात हल्‍लाउँदा आउने आवाजले तिमीहरूलाई झस्‍काउने छ, र तिमीहरू तरवारबाट टाढा भागेझैँ दौडने छौ। कसैले तिमीहरूलाई नखेदेको भए पनि तिमीहरू लड्‍ने छौ। 37कसैले नखेदेको भए तापनि तिमीहरू तरवारबाट टाढा भागेझैँ भाग्‍ने छौ र एक-अर्कासँग ठोकिने छौ। तिमीहरूसँग आफ्ना दुश्‍मनहरूको अगाडि उभिने तागत हुने छैन। 38तिमीहरू जाति-जातिहरूका बिचमा नष्‍ट हुने छौ, र तिमीहरूका दुश्‍मनको भूमिले तिमीहरूलाई निल्‍ने छ। 39तिमीहरूमध्ये बाँकी रहेकाहरू तिमीहरूका दुश्‍मनको देशमा आफ्ना पाप र आफ्ना पुर्खाहरूको पापका कारण खतम हुने छन्। 40तर यदि तिनीहरूले आफ्ना र आफ्ना पुर्खाहरूका पाप, मप्रति विश्‍वासहीन भएर गरेका विद्रोह, र मेरो विरुद्धको हिँडाइलाई स्वीकारे भने- 41जसले गर्दा म तिनीहरूको विरुद्ध भएँ र तिनीहरूलाई मैले तिनीहरूका दुश्‍मनको देशमा ल्याएँ- र यदि तिनीहरूका कठोर कठोर हृदय नम्र भए, अनि तिनीहरूले आफ्ना पापका कारण दण्डहरू स्वीकारे भने, 42मैले याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको सम्झना गर्ने छु, र त्यो देशलाई पनि सम्झने छु। 43त्यो देश तिनीहरूद्वारा त्यागिने छ, र यसैकारण त्यो त्यागिएको समयमा त्यसले शबाथ मनाउने छ। तिनीहरू आफैले मेरा आज्ञाहरू इन्‍कार गरेका र मेरा नियमहरूलाई घृणा गरेका हुनाले तिनीहरूले आफ्ना पापको दण्ड पाउने छन्। 44यी सबै कुरा हुँदाहुँदै पनि तिनीहरू आफ्ना दुश्‍मनको भूमिमा हुँदा म तिनीहरूलाई इन्‍कार गर्ने छैनँ, न त तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्न र तिनीहरूसँगको मेरो करारबाट टाढा हुनको निम्ति तिनीहरूलाई घृणा गर्ने छु, किनभने म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ। 45तर तिनीहरूका खातिर मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेको करारको सम्झना म गर्ने छु, जुन पुर्खाहरूलाई म तिनीहरूका परमेश्‍वर हुन सकूँ भनेर मैले मिश्र देशबाट बाहिर ल्याएँ। म परमप्रभु हुँ।” 46परमप्रभुले सीनै पर्वतमा मोशाद्वारा उहाँ र इस्राएलका मानिसहरूका बिचमा दिनुभएका आज्ञाहरू, विधिहरू र नियमहरू यी नै हुन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।