सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

लेवीहरू 14

यो अध्याय यसमा पर्छ: Rein en onrein

1परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो, 2“रोग लागेको मानिसको शुद्धिकरणको दिनको निम्ति विधि यी नै हुन्। त्यसलाई पुजारीकहाँ लगिनुपर्छ। 3छालाको सरुवा रोग निको भएको छ वा छैन भनेर हेरेर त्यस मानिसलाई जाँच्‍नको निम्ति पुजारी छाउनीभन्दा बाहिर जाने छ। 4त्यसपछि कोही शुद्ध हुनको निम्ति दुई जीवित, शुद्ध चराहरू, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो, र हिसप ल्याउनू भनी पुजारीले आज्ञा गर्ने छ। 5पुजारीले माटोको भाँडामा भएको ताजा पानीमाथि दुई चराहरूमध्ये एउटालाई मार्नू भनी आज्ञा गर्ने छ। 6पुजारीले त्यसपछि जीवित चरा र देवदारुको काठ, र सिन्दुरे रङ्गको धागो र हिसप लिने छ, र यी सबैलाई ताजा पानीमाथि मारिएको चराको रगतमा चोप्‍ने छ। 7त्यसपछि पुजारीले यस पानीलाई रोगबाट शुद्धिकरण गरिनुपर्ने मानिसमाथि सात पटक छर्कने छ, र त्यसलाई शुद्ध घोषणा गर्ने छ। त्यसपछि पुजारीले जीवित चरालाई भने खुला ठाउँमा छोडिदिने छ। 8शुद्धिकरण भइरहेको मानिसले आफ्‍ना लुगाहरू धुने छ, आफ्‍नो सबै कपाल खौरने छ, र पानीले नुहाउने छ, र त्यो शुद्ध हुने छ। त्यसपछि त्यो छाउनीभित्र आओस्, तर त्यो सात दिनसम्‍म आफ्नो पालभन्दा बाहिरै बसोस्। 9सातौँ दिनमा त्यसले आफ्नो शिरको कपाल, र आफ्‍नो दाह्री र आँखीभुइँ खौरोस्। त्यसले आफ्‍नो सबै कपाल खौरोस्, र आफ्‍ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो शुद्ध हुने छ। 10आठौँ दिनमा त्यसले दुईवटा निष्‍खोट भेडाका पाठा, एउटा निष्‍खोट एक वर्षे भेडाको पाठी, र अन्‍नबलिको निम्ति तेलसँग मुछिएको डेढ पाथी मसिनो पिठो, र आधा माना तेल ल्याओस्। 11शुद्ध गर्ने पुजारीले शुद्ध गरिनुपर्ने मानिसलाई ती सर-सामानहरूसँगै परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा खडा गराओस्। 12पुजारीले दुईवटा भेडाका पाठामध्ये एउटा लिने छ र आधा माना तेलसँगै दोषबलि अर्पण गर्ने छ, र परमप्रभुको अगि डोलाइने बलिको रूपमा उसले त्यो डोलाउने छ। 13उसले त्यो भेडाको पाठोलाई पवित्रस्थानमा पापबलिहरू र होमबलिहरू मारिने ठाउँमा मारोस्, किनभने पापबलि र दोषबलि पुजारीको भागको हो, कारण त्यो अति पवित्र हो। 14पुजारीले दोषबलिको केही रगत लिने छ र शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पोमा, दाहिने हातको बुढी औँलामा, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ। 15पुजारीले मानाबाट तेल लिएर आफ्नै देब्रे हातको हत्‍केलामा खन्‍याउने छ र 16र आफ्नो देब्रे हातमा भएको तेलमा आफ्नो दाहिने औँला चोपेर परमप्रभुको अगि केही तेल सात पल्‍ट छर्कने छ। 17पुजारीले आफ्नो हातमा बाँकी रहेको तेललाई शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ। 18अनि पुजारीले आफ्नो हातमा बाँकी रहेको तेलचाहिँ शुद्ध गरिनुपर्ने मानिसको शिरमा खन्याउने छ, र पुजारीले परमप्रभुको अगि त्यो मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ। 19अनि पुजारीले पापबलिलाई अर्पण गर्ने छ र आफ्नो अशुद्धताको कारण शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र पछि उसले होमबलिलाई मार्ने छ। 20त्यसपछि पुजारीले होमबलि र अन्‍नबलिलाई वेदीमा अर्पण गर्ने छ। पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, अनि त्यो शुद्ध हुने छ। 21तर यदि त्यो मानिस गरिब छ, र यी बलिदानहरू ल्याउने त्यसको औकात छैन भने, त्यसले एउटा भेडाको पाठोलाई डोलाइनको निम्ति दोषबलिको रूपमा आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई ल्याओस्, र अन्‍नबलिको निम्ति तेलमा मुछिएको आधा पाथी मसिनो पिठो, र आधा माना तेल, 22र आफूले ल्याउन सक्‍ने जति दुईवटा ढुकुर वा परेवाका दुई बचेरा ल्याओस्। एउटा चराचाहिँ पापबलि हुने छ र अर्कोचाहिँ होमबलि हुने छ। 23आठौँ दिनमा त्यसले यी सबै आफ्नो शुद्धिकरणको निम्ति पुजारीकहाँ परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस्। 24पुजारीले बलिदानको निम्ति भेडाको बच्‍चा लिने छ, र त्यससँगै उसले आधा माना जैतूनको तेल लिने छ, र उसले ती माथि उठाएर परमप्रभुको अगि अर्पण गर्ने छ। 25उसले दोषबलिको निम्ति भेडाको बच्‍चालाई मार्ने छ, र दोषबलिको केही रगत लिएर शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ। 26त्यसपछि पुजारीले केही तेल आफ्नो देब्रे हातको हत्‍केलामा खन्‍याउने छ, 27र उसले आफ्नो दाहिने हातको औँलाले आफ्नो देब्रे हातमा भएको तेलबाट केही परमप्रभुको अगि सात पटकसम्‍म छर्कने छ। 28त्यसपछि पुजारीले आफ्नो हातमा भएको तेलबाट केही लिएर दोषबलिको रगत जहाँ-जहाँ लगाएको थियो अर्थात् शुद्ध गरिनुपर्ने मानिसको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्‍टाको बुढी औँलामा लगाउने छ। 29परमप्रभुको अगि शुद्ध गरिनुपर्ने मानिसको निम्ति प्रायश्‍चित्त गर्नलाई उसले आफ्नो हातमा भएको बाँकी तेल त्यस मानिसको शिरमा लगाइदिने छ। 30उसले ढुकुरहरूमध्ये वा परेवाका बचेराहरूमध्ये एउटालाई आफ्नो क्षमताअनुसार अर्पण गरोस्- 31अन्‍नबलिसँगै उसले एउटाचाहिँ पापबलि र अर्को होमबलिको निम्ति अर्पण गरोस्। 32छालामा सरुवा रोग भएको मानिस जसले आफ्नो शुद्धिकरणको निम्ति आवश्‍यक बलि ल्याउन सक्‍दैन, त्यसको निम्ति विधि यी नै हुन्।” 33परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो, 34“मैले तिमीहरूलाई अधिकार गर्न दिएको कनान देशमा पुगेपछि तिमीहरूको अधिकार हुने त्यस देशमा यदि मैले तिमीहरूका घरमा फैलिने ढुसी पठाएँ भने, 35घरको मालिकले आएर पुजारीलाई त्यसबारे बताओस्। त्यसले भनोस् ‘मैले मेरो घरमा ढुसीजस्तै केही देखेको छु।’ 36त्यसपछि पुजारीले त्यहाँ गएर ढुसी छ वा छैन भनेर हेर्नुभन्दा अगि तिनीहरूले त्यो घर खाली गर्नू भनेर उसले आज्ञा गर्ने छ, ता कि घरमा भएको कुनै पनि कुरा अशुद्ध नहोस्। 37घरका पर्खालहरूमा ढुसी आएको छ वा छैन र त्यसले पर्खालका सतहहरूमा हरियो वा रातो रेखाहरू बनाएको छ वा छैन भनेर उसले जाँच गर्ने छ। 38यदि घरमा ढुसी आएको छ भने, पुजारी घरबाट बाहिर जाने छ र घरको ढोका सात दिनसम्‍म बन्‍द गरिदिने छ। 39सातौँ दिनमा पुजारी फर्कने छ र घरका पर्खालहरूमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ। 40यदि फैलिएको छ भने, पुजारीले ढुसी देखा परेका ढुङ्गाहरूलाई झिकेर सहरभन्दा बाहिर कुनै एउटा अशुद्ध स्थानमा फ्याँक्‍न आज्ञा गर्ने छ। 41घरका सबै भित्री पर्खालहरू खुर्कनुपर्ने छ, र खुर्किएर निकालिएको फोहोर वस्‍तुलाई सहरबाट बाहिर लगेर कुनै अशुद्ध स्थानमा फ्याँक्‍नुपर्छ। 42तिनीहरूले अरू ढुङ्गाहरू लिएर ती झिकिएका ढुङ्गाहरूका स्थानमा राखून् र घरका पर्खालहरू पोत्‍नको निम्ति नयाँ माटो प्रयोग गरून्। 43ढुङ्गाहरू निकालिएको र पर्खाल खुर्किएर पोतिएको घरमा फेरि ढुसी देखा पर्‍यो र त्यो फैलियो भने, 44पुजारी आएर घरमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ। यदि त्यो फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो र त्यो घर अशुद्ध हुन्छ। 45त्यो घर भत्‍काइयोस्। त्यस घरका ढुङ्गाहरू, काठहरू र पोतिएको माटो सबै सहरभन्दा बाहिर कुनै अशुद्ध स्थानमा लगियोस्। 46साथै, त्यो घर बन्‍द गरिएको बेला त्यहाँ प्रवेश गर्ने मानिस साँझसम्म अशुद्ध हुने छ। 47त्यस घरमा सुतेका वा खाएका जोसुकैले आफ्ना लुगाहरू धोऊन्। 48घरलाई पोतिसकेपछि त्यहाँ ढुसी फैलिएको छ वा छैन भनेर पुजारी त्यस घरभित्र जाँच्‍नको निम्ति जाँदा यदि ढुसी बिलाइसकेको रहेछ भने, उसले त्यो घरलाई शुद्ध घोषणा गर्ने छ। 49त्यसपछि पुजारीले घरलाई शुद्ध गर्नको निम्ति दुईवटा चरा, देवदारुको काठ, सिन्दुरे रङ्गको धागो र हिसप लिओस्। 50उसले माटोको भाँडाको ताजा पानीमाथि एउटा चरालाई मार्ने छ। 51उसले देवदारुको काठ, हिसप, सिन्दुरे रङ्गको धागो, र जीवित चरा लिएर ती सबैलाई मारिएको चराको रगत र ताजा पानीमा चोप्‍ने छ र घरमा सात पटक छर्कने छ। 52उसले त्यो घरलाई चराको रगत र ताजा पनि, जीवित चरा, देवदारुको काठ, हिसप र सिन्दुरे रङ्गको धागोले शुद्ध गर्ने छ। 53तर उसले जीवित चरालाई भने सहरबाट बाहिर खुला मैदानहरूमा जान दिने छ। यसरी उसले त्यो घरको निम्ति प्रायश्‍चित्त गरोस्, र त्यो शुद्ध हुने छ। 54सबै प्रकारका सरुवा रोगहरू र त्यस्ता रोग ल्याउने वस्‍तुहरू र चिलाउने रोग, 55लुगा र घरभित्रको ढुसी, 56सुनिएर फुलेको ठाउँ, डाबर, र उज्‍ज्‍वल दागलाई, 57ती कुन बेला अशुद्ध छन् र कुन बेला शुद्ध छन् भनेर निर्धारण गर्नका निम्ति विधि यी नै हुन्। छालाका सरुवा रोगहरू र ढुसीको निम्ति विधि यी नै हुन्।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।