सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

लेवीहरू 20

यो अध्याय यसमा पर्छ: Wees heilig

1परमप्रभुले मोशालाई भन्‍नुभयो, 2“इस्राएलका मानिसहरूलाई भन्, ‘इस्राएलका मानिसहरू, वा इस्राएलमा बसोबास गर्ने परदेशीहरूमध्ये कसैले आफ्ना छोराछोरी मोलोखलाई चढाउँछ भने, त्यो मारिनुपर्छ। त्यहाँका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून्। 3त्यसले आफ्नो बालक मोलोखलाई दिएर मेरो पवित्र ठाउँ र पवित्र नाउँ अशुद्ध बनाएको हुनाले म त्यसको विरुद्ध खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्कार गर्ने छु। 4यदि त्यो मानिसले आफ्ना छोराछोरीमध्ये कोही मोलोखलाई चढाउँदा त्यस भूमिका मानिसहरूले आफ्ना आँखा बन्द गरे, र त्यसलाई मृत्युदण्ड दिएनन् भने, 5त्यस मानिस र त्यसको वंशको विरुद्ध म आफै खडा हुने छु, र त्यसलाई र मोलोखसँग वेश्‍यागमन गर्ने सबैलाई बहिष्‍कृत गर्ने छु। 6मरेकाहरू वा आत्माहरूसँग बोलेर आफैलाई वेश्‍यासरह तुल्‍याउनेहरूलाई पछ्‍याउने मानिसको विरुद्ध म खडा हुने छु र त्यसका मानिसहरूका बिचबाट त्यसलाई बहिष्‍कार गर्ने छु। 7त्यसैले आफैलाई अर्पण गर र पवित्र होओ, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। [१] 8तिमीहरूले मेरा आज्ञाहरू मानेर ती पालन गर्नू। तिमीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ। 9आफ्नी आमा वा आफ्नो बुबालाई सराप दिने सबै मारिनुपर्छ। त्यसले आफ्नो बुबा वा आफ्नी आमालाई सरापेको हुनाले त्यो दोषी हुन्छ र त्यो मर्न योग्‍यको हुन्छ। 10अर्कै पुरुषको पत्‍नीसँग व्यभिचार गर्ने मानिस अर्थात् आफ्नो छिमेकीकी पत्‍नीसँग व्यभिचार गर्ने त्यो व्यभिचारी मानिस, र व्याभिचारिणी दुवैलाई मारिनुपर्छ। 11आफ्नो बुबाकी पत्‍नीसँग सुत्‍ने मानिसले आफ्नो बुबाको नग्‍नतालाई प्रकट गर्दछ। त्यो छोरा र त्यसको बुबाकी पत्‍नी दुवै मारिनुपर्छ। तिनीहरूको रगत तिनीहरू आफैमाथि पर्ने छ। 12यदि कोही मानिस आफ्नी बुहारीसँग सुत्‍यो भने, तिनीहरू दुवै मारिनुपर्छ। तिनीहरूले दुराचरण गरेका हुनाले तिनीहरू दोषी हुन्छन् र तिनीहरू मर्न योग्‍यका हुन्छन्। 13कोही पुरुष स्‍त्रीसँग झैँ गरी अर्को पुरुषसँग सुत्‍यो भने, तिनीहरू दुवैले घृणास्पद काम गरेका छन्। तिनीहरू मारिनैपर्छ। तिनीहरू दोषी हुन्छन् र तिनीहरू मर्न योग्‍यका हुन्छन्। 14कोही पुरुषले कुनै स्‍त्री र त्यसकी आमा दुवैलाई विवाह गर्‍यो भने, यो दुष्‍टता हो। त्यो पुरुष र ती दुवै स्‍त्री जलाइनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै दुष्‍टता नहोस्। 15कोही पुरुषले पशुसँग सहवास गरेमा त्यो मारिनैपर्छ, र तिमीहरूले त्यो पशुलाई पनि मार्नू। 16कोही स्‍त्री पशुसँग सहवास गर्नलाई त्यसको नजिक गई भने, तिमीहरूले त्यस स्‍त्री र पशु दुवैलाई मार्नू। तिनीहरू निश्‍चय नै मारिनैपर्छ। तिनीहरू दोषी हुन्छन् र मर्न योग्‍यका हुन्छन्। 17कोही पुरुषले आफ्नी दिदी-बहिनी, वा आफ्नो बुबा वा आमाकी छोरीसँग सुतेर त्यसको नग्‍नता प्रकट गर्दछ, र त्यसले त्यस पुरुषको नग्‍नता देख्‍दछे भने, यो शर्मको कुरा हो। त्यो आफ्नी दिदी-बहिनीसँग सुतेको कारण तिनीहरू आफ्ना मानिसहरूको उपस्थितिबाट बहिष्‍कृत गरिनुपर्छ। त्यसले आफ्नो दोष बोकिरहने छ। 18कोही पुरुष स्‍त्रीको रजस्‍वलाको समयमा त्योसँग सुत्‍यो भने, त्यसले त्यसको रगतको मूल देखाउँदछ। ती पुरुष र स्‍त्री दुवै आफ्ना मानिसहरूबाट बहिष्‍कृत गरिनुपर्छ। 19आफ्नो बुबा वा आमाकी दिदी-बहिनीसँग नसुत्, किनभने तैँले त्यसो गरेर आफ्नो नजिकको नाताको अपमान गर्ने छस्। तैँले आफ्नो दोष आफै बोक्‍ने छस्। 20कोही पुरुष आफ्नी काकीसँग सुत्यो भने, त्यसले आफ्नो काकाको अपमान गर्दछ। तिनीहरूले आ-आफ्नो पापको भार उठाउने छन्, र तिनीहरू निसन्तान नै मर्ने छन्। 21कोही मानिसले आफ्नो दाजु वा भाइ जीवितै हुँदा त्यसकी पत्‍नीलाई बिहे गर्‍यो भने, त्यो अपमानजनक हो। त्यसले आफ्नो दाजु वा भाइलाई अनादर गर्दछ, र तिनीहरूले आफ्ना आमाबुबाबाट उत्तराधिकारको रूपमा प्राप्‍त गरेका सबै सम्पत्ति तिनीहरूका छोराछोरीबाट म खोसिदिने छु। 22त्यसैकारण तिमीहरूले मेरा सबै विधिविधानहरू र आज्ञाहरू पालन गर्नू। यी तिमीहरूले पालन गर्नू ताकि तिमीहरूलाई बसोबास गर्नको निम्ति मैले लैजान लागेको भूमिले तिमीहरूलाई नउकेलोस्। 23तिमीहरूका सामुबाट मैले निष्‍कासन गरेका जातिहरूका रीतिरिवाजहरूमा तिमीहरू नहिँड्नू, किनभने तिनीहरूले यी सबै कुरा गरे, र मैले तिनीहरूलाई घृणा गरेँ। 24मैले तिमीहरूलाई भनेँ, “तिमीहरूले तिनीहरूका भूमि उत्तराधिकारमा पाउने छौ। दूध र मह बगिरहने देश म तिमीहरूको अधिकारमा दिने छु। अरू मानिसहरूबाट तिमीहरूलाई अलग गर्ने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ। 25यसैकारण तिमीहरूले शुद्ध र अशुद्ध पशु, अनि शुद्ध र अशुद्ध पक्षीबिच भेद राख्‍नू। मैले तिमीहरूका निम्ति अशुद्ध भनेर छुट्‍ट्याएको अशुद्ध पशु वा पक्षी वा जमिनमा घस्रने प्राणीद्वारा आफैलाई अशुद्ध नबनाउनू। 26तिमीहरू पवित्र होओ, किनभने म परमप्रभु पवित्र छु, र मैले तिमीहरूलाई अरू मानिसहरूबाट अलग गरेको छु, किनभने तिमीहरू मेरा हौ। 27मरेकाहरू वा आत्माहरूसँग बोल्‍ने पुरुष वा स्‍त्री मारिनुपर्छ। मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानून्। तिनीहरू दोषी छन् र मर्न योग्‍यका छन्।’” 20:7 [१] धेरै वर्तमान संस्करणमा यस्तो छः... किनभने म, परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र छु।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।