सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यूहन्‍ना 19

यो अध्याय यसमा पर्छ: Boek van de verheerlijking

1तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए। 2सिपाहीहरूले काँडाको मुकुट बनाए। तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्‍त्र पहिर्‍याइदिए। 3तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस्!” अनि तिनीहरूले उहाँलाई मुक्‍का हाने। 4तब पिलातस फेरि बाहिर गए, र तिनीहरूलाई भने, “हेर, मैले यिनलाई तिमीहरूकहाँ बाहिर ल्याउँदै छु, ताकि मैले यिनमा कुनै दोष पाउँदिनँ भन्‍ने तिमीहरूले जान्‍न सक।” 5त्यसैले, येशू बाहिर आउनुभयो। उहाँले काँडाको मुकुट र बैजनी रङको वस्‍त्र लगाउनुभएको थियो। तब पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर!” 6जब मुख्य पुजारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्‍च सोरले कराए, र भने, “त्यसलाई क्रुसमा टाँग, त्यसलाई क्रुसमा टाँग!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैँले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ।” 7यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्छ।” 8जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए, 9अनि तिनी फेरि राज्यपालको महलभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ?” तर येशूले तिनलाई जवाफ दिनुभएन। 10तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ? मसित तिमीलाई छोडिदिने र क्रुसमा टाँग्‍ने शक्‍ति छ भन्‍ने के तिमीलाई थाहा छैन?” 11येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन। यसकारण, जसले मलाई तपाईंको हातमा सुम्प्यो त्यसको पाप अझ ठुलो हुन्छ।” 12यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहूदीहरू यसो भन्दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्‍नः जसले आफैँलाई राजा तुल्याउँछ, त्यो कैसरको विरुद्ध बोल्छ।” 13जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” (हिब्रूमा “गब्बथा”) भनिने ठाउँको न्याय आसनमा बसे। 14निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ!” 15तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्‍नुपर्ने हो?” मुख्य पुजारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन।” 16तब पिलातसले क्रुसमा टाँग्‍नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे। 17तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्‍नो क्रुस आफैँ बोकी, “खप्परे ठाउँ” भन्‍ने ठाउँतिर जानुभयो, जसलाई हिब्रूमा “गलगथा” भनिन्छ। 18त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुई जना मानिसलाई पनि येशूलाई बिचमा पारेर दुवैपट्टि एक-एक जनालाई क्रुसमा टाँगे। 19पिलातसले एउटा चिन्ह पनि लेखे र क्रुसमाथि राखे। त्यहाँ यस्तो लेखिएको थियोः नासरतका येशू, यहूदीहरूका राजा। 20यहूदीहरूमध्ये धेरैले यो चिन्ह पढे, किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो। यो चिन्ह हिब्रू, ल्याटिन र ग्रिकमा लेखिएको थियो। 21तब यहूदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई भने, “यहूदीहरूका राजा नलेख्‍नुहोस् बरु यसले, ‘म यहूदीहरूका राजा हुँ’ भनेको थियो भनी लेख्‍नुहोस्।” 22पिलातसले जवाफ दिए, “मैले जे लेखेँ सो लेखेँ।” 23सिपाहीहरूले येशूलाई क्रुसमा टाँगेपछि तिनीहरूले उहाँको वस्‍त्र लिए अनि चार भाग बनाए। हरेक सिपाहीको लागि एक-एक भाग पर्‍यो र लबेदा पनि। अब लबेदाचाहिँ सिउनीविनाको माथिदेखि पुरै बुनेको थियो। 24तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौँ, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौँ।” धर्मशास्‍त्रको वचन पुरा होस् यसो भएको थियो, “तिनीहरूले मेरो वस्‍त्र आपसमा भाग लगाए; तिनीहरूले मेरो वस्‍त्रको लागि चिट्ठा हाले।” 25सिपाहीहरूले यी कुराहरू गरे। येशूकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्‍नी मरियम र मरियम मग्दलिनी येशूको क्रुसको छेउमा उभिरहेका थिए। 26जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिएको देख्‍नुभयो, उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंका छोरा!” 27तब उहाँले ती चेलालाई भन्‍नुभयो, “हेर, तिम्री आमा!” त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे। 28यसपछि येशूले सबै थोक पुरा गरिएको थियो भन्‍ने जान्‍नुभएको हुनाले धर्मशास्‍त्र पुरा हुनको लागि उहाँले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो।” 29अमिलो मद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो। त्यसैले, तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा राखिदिए। 30जब येशूले अमिलो लिनुभयो, उहाँले भन्‍नुभयो, “सिद्धियो।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्मा त्याग्‍नुभयो। 31यो तयारीको दिन भएको, र शबाथको अवधिमा शरीर क्रुसमा नरहोस् भन्‍ने हेतुले (किनकि शबाथ महत्त्‍वपूर्ण दिन थियो), यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे। 32तब सिपाहीहरू आए, र येशूसँगै क्रुसमा टाँगिएका पहिलो र दोस्रो मानिसका खुट्टा भाँचीदिए। 33जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले उहाँको मृत्यु अगि नै भइसकेको देखे। त्यसैले, तिनीहरूले उहाँका खुट्टा भाँचेनन्। 34तापनि सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखमा भालाले घोचे, र तत्कालै रगत र पानी निस्क्यो। 35जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ। तिनले भनेको सत्य हो भनी तिनी जान्‍दछन् छन्, र तिमीहरूले विश्‍वास गर। 36यी कुराहरू यस हेतुले भए, ताकि धर्मशास्‍त्र पुरा होस्, “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन।” 37फेरि, अर्को धर्मशास्‍त्रले भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे।” 38यी कुराहरूपछि अरिमाथियाका योसेफ येशूका चेला भएका हुनाले (तर यहूदीहरूको डरले तिनी गुप्‍तमा मात्र चेला थिए) तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे। पिलातसले तिनलाई अनुमति दिए। त्यसकारण योसेफ आए, र उहाँको शरीर लगे। 39निकोदेमस पनि आए जो पहिले येशूकहाँ राति आएका थिए। तिनले झण्डै तेत्तिस किलो मूर्र र एलवाको मिश्रण ल्याए। 40त्यसैले, तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे। 41अब उहाँलाई क्रुसमा झुण्ड्याइएको ठाउँमा एउटा बगैँचा थियो, र त्यो बगैँचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कुनै व्यक्‍तिलाई गाडिएको थिएन। 42यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

Statenvertaling (1637) · World English Bible (2000) · पवित्र बाइबल (2019): © 2019 Door43 World Missions Community, door43.org, via eBible.org. CC BY-SA 4.0; notes and headings omitted. · स्रोत र इजाजतपत्रहरू

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।