सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यूहन्‍ना 1

यो अध्याय यसमा पर्छ: Proloog

1सुरुमा वचन हुनुहुन्‍थ्‍यो। वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो। अनि वचन नै परमेश्‍वर हुनुहुन्‍थ्‍यो। 2उहाँ सुरुदेखि नै परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो। 3सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै पनि थोक उहाँविना बनिएन। 4उहाँमा जीवन थियो, अनि त्‍यो जीवन सबै मानिसहरूका लागि ज्‍योति थियो। 5ज्‍योति अन्धकारमा चम्‍किन्छ, अनि अन्धकारले यसलाई जितेन। 6परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो। 7उहाँद्वारा सबैले विश्‍वास गरून् भनेर उहाँ ज्‍योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आउनुभयो। 8यूहन्‍ना ज्‍योति थिएनन्, तर ज्‍योतिको बारेमा गवाही दिन भनेर उनी आए। 9उहाँ सबै मानिसहरूलाई ज्योति दिनुहुने र संसारमा आउनुहुने सत्‍य ज्‍योति हुनुहुन्थ्यो। 10उहाँ संसारमा हुनुहुन्थ्यो र संसार उहाँद्वारा नै बनियो, तर संसारले उहाँलाई चिनेन। 11उहाँ आफ्नैहरूकहाँ आउनुभयो, तर उहाँलाई आफ्नैहरूले स्‍वीकार गरेनन्। 12तर जतिले उहाँलाई स्‍वीकार गरे अर्थात् उहाँको नाउँमा विश्‍वास गरे उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्तानहरू हुने अधिकार दिनुभयो। 13यिनीहरू न रगतले, न शारीरिक इच्छाअनुसार, न मानिसको इच्छाअनुसार नै जन्‍मेका थिए, तर परमेश्‍वरबाट जन्‍मेका थिए। 14अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो। हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ। 15यूहन्‍नाले उहाँको बारेमा गवाही दिए, र ठुलो सोरले यसो भने, “मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको व्‍यक्‍ति उहाँ नै हुनुहुन्‍छ।” 16किनकि उहाँको पूर्णताबाट हामी सबैले अनुग्रहमाथि अनुग्रह पाएका छौँ। 17किनकि व्‍यवस्‍था मोशाद्वारा दिइयो। अनुग्रह र सत्‍यता येशू ख्रीष्‍टद्वारा आयो। 18कसैले पनि परमेश्‍वरलाई कहिल्‍यै देखेको छैन। पिताको छातीमा अडेस लाग्‍नुहुने एक मात्र परमेश्‍वरले उहाँलाई चिनाउनुभएको छ। 19यहूदीहरूले यरूशलेमबाट पुजारीहरू र लेवीहरूलाई “तिमी को हौ?” भनी सोध्‍न पठाउँदा यूहन्‍नाको गवाही यही हो। 20उनले खुला भएर भने, र इन्कार गरेनन्, तर जवाफ दिए, “म ख्रीष्‍ट होइनँ।” 21त्‍यसकारण, तिनीहरूले उनलाई भने, “त्‍यसो भए तिमी को हौ त? के तिमी एलिया हौ?” उनले भने, “होइनँ।” तिनीहरूले भने, “के तिमी अगमवक्‍ता हौ?” उनले जवाफ दिए, “होइनँ।” 22तब तिनीहरूले उनलाई भने, “तिमी को हौ, ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौँ? तिमी आफ्नै बारेमा के भन्‍छौ?” 23उनले भने, “म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँ। ‘परमप्रभुको निम्‍ति बाटो सोझो बनाओ’ जस्तो यशैया अगमवक्‍ताले भने।” 24ती पठाइएकाहरू फरिसीहरूबाटका थिए। 25तिनीहरूले उनलाई सोधे र भने, “तिमी न ख्रीष्‍ट, न एलिया, न अगमवक्‍ता नै हौ भने किन बप्‍तिस्‍मा दिन्‍छौ?” 26अनि यूहन्‍नाले तिनीहरूलाई यसो भनेर जवाफ दिए, “म पानीले बप्‍तिस्‍मा दिन्‍छु। तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्‍छ, 27उहाँ जो मपछि आउनुहुन्‍छ, म उहाँको जुत्ताको फित्ता खोल्‍न लायकको छैनँ।” 28यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए। 29अर्को दिन यूहन्‍नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्‍वरका थुमा! 30मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्छ भनी मैले भनेको उहाँ नै हुनुहुन्छ। 31म उहाँलाई चिन्‍दिनथेँ, तर उहाँलाई इस्राएलीहरूप्रति प्रकट गराउन सकियोस् भनी म पानीले बप्‍तिस्‍मा दिँदै आएँ।” 32यूहन्‍नाले यसरी गवाही दिए, “मैले पवित्र आत्‍मा स्‍वर्गबाट ढुकुरझैँ ओर्लिरहनुभएको र उहाँमाथि बस्‍नुभएको देखेँ। 33मैले उहाँलाई चिन्दिनथेँ, तर पानीमा बप्‍तिस्‍मा दिन पठाउनुहुनेले मलाई भन्‍नुभयो, ‘तिमीले जसमाथि पवित्र आत्‍मा ओर्लिरहनुभएको र उहाँमाथि रहनुभएको देख्छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँले नै हुनुहुन्छ।’ 34मैले देखेको, र उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनेर गवाही दिएको छु।” 35फेरि अर्को दिन यूहन्‍ना आफ्ना दुई जना चेलासँग उभिरहँदा, 36तिनीहरूले येशू त्यही बाटो भएर हिँडिरहनुभएको देखे, र यूहन्‍नाले भने, “हेर, परमेश्‍वरका थुमा!” 37यी दुई चेलाले यूहन्‍नाले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्याए। 38तब येशूले तिनीहरूले उहाँलाई पछ्याइरहेका देख्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू के चाहन्‍छौ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “रब्बी (जसको अर्थ हो, गुरु), तपाईं कहाँ बस्दै हुनुहुन्छ?” 39उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आऊ अनि देख्छौ।” तब उनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे। त्‍यस दिन तिनीहरू उहाँसँगै बसे, किनभने दसौँ पहर हुन लागेको थियो। 40यूहन्‍नाले भनेको सुन्‍ने र येशूलाई पछ्याउनेहरू यी दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका भाइ अन्‍द्रियास थिए। 41अन्‍द्रियासले आफ्ना भाइ सिमोनलाई भेट्टाएर भने, “हामीले मसीह (जसलाई ख्रीष्‍ट भनिन्छ) लाई भेट्टाएका छौँ।” 42उनले आफ्ना भाइलाई येशूकहाँ ल्‍याए। अनि येशूले उनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ। तिमीलाई केफास (जसको अर्थ पत्रुस हो) भनिनेछ। 43अर्को दिन जब येशू गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्‌नुभयो र उनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ।” 44फिलिप बेथसेदाका थिए जुन अन्‍द्रियास र पत्रुसको सहर थियो। 45फिलिपले नथानेललाई भेटे र उनलाई भने, “मोशाको व्‍यवस्‍थामा र अगमवक्‍ताहरूले लेखेका अर्थात् नासरतका योसेफका छोरो येशूलाई हामीले भेट्टाएका छौँ।” 46नथानेलले उनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्‍छ र?” फिलिपले उनलाई भने, “आएर हेर!” 47येशूले नथानेललाई आफूकहाँ आइरहेको देख्‍नुभयो र उनलाई उनको बारेमा भन्‍नुभयो, “हेर, कुनै छल नभएका एक इस्राएली!” 48नथानेलले उहाँलाई भने, “तपाईं मलाई कसरी चिन्‍नुहुन्‍छ?” येशूले उनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “फिलिपले बोलाउनुभन्‍दा पहिले तिमी नेभाराको रुखमुनि हुँदा नै मैले तिमीलाई देखेँ।” 49नथानेलले जवाफ दिए, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ! तपाईं इस्राएलका राजा हुनुहुन्‍छ!” 50येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण, के तिमी मलाई विश्‍वास गर्छौ? तिमीले योभन्‍दा ठुला-ठुला कुराहरू देख्‍नेछौ।” 51येशूले भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्‍दछु, “तिमीहरूले स्‍वर्ग उघ्रिएको, अनि परमेश्‍वरका स्‍वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्‍लिरहेका देख्‍नेछौ।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।