सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यूहन्‍ना 6

यो अध्याय यसमा पर्छ: Boek van de tekenen

1यी कुराहरूपछि येशू गालील समुद्र अर्थात् तिबेरियास समुद्रको पारिपट्टि जानुभयो। 2एउटा ठुलो भिडले उहाँलाई पच्छ्याइरहेको थियो, किनकि बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएको चिह्न‍हरू तिनीहरूले देखेका थिए। 3येशू पर्वतमाथि जानुभयो, र त्यहाँ उहाँका चेलाहरूसँग बस्‍नुभयो। 4(यहूदीहरूको निस्तार-चाड नजिकै थियो।) 5येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भिड आफूतर्फ आइरहेको देख्‍नुभयो, अनि उहाँले फिलिपलाई भन्‍नुभयो, “यिनीहरूको लागि खानलाई रोटी किन्‍न हामी कहाँ जाने?” 6(तर येशूले फिलिपलाई जाँच्‍न यसो भन्‍नुभएको थियो, किनकि उहाँ आफैँले के गर्न गइरहनुभएको थियो सो उहाँ आफैँलाई थाहा थियो।) 7फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्‍काको रोटी पनि हरेकलाई थोरै-थोरै दिनलाई पर्याप्‍त हुँदैन।” 8चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियासले येशूलाई भने, 9“यहाँ एक जना केटोसँग जौका पाँचवटा रोटी र दुईवटा माछा छन्, तर यत्ति धेरैका बिचमा यी कति नै हुन्छन् र?” 10येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लगाऊ।” (त्यस ठाउँमा धेरै घाँस थियो।) त्यसैले झण्डै पाँच हजार जति सङ्ख्यामा मानिसहरू बसे। 11तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्यसै गर्नुभयो। 12जब मानिसहरू भर पेट भए, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “बाँकी रहेका टुक्रा-टाक्री सबै बटुल, ताकि कुनै पनि थोक खेर नजाओस्।” 13यसैले तिनीहरूले बटुले, र पाँचवटा जौका रोटीबाट बाँकी रहेका टुक्रा-टाक्री अर्थात् तिनीहरूले खाएर बचेका टुक्राहरू बार्‍ह डाला भरे। 14जब मानिसहरूले उहाँले गर्नुभएका यी चिह्न‍हरू देखे, तिनीहरूले भने, “उहाँ साँच्‍चै यो संसारमा आउनुपर्ने अगमवक्‍ता हुनुहुन्छ।” 15जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्‍ने उहाँले महसुस गर्नुभयो, उहाँ फेरि पनि एकलै डाँडातर्फ लाग्‍नुभयो। 16जब साँझ पर्‍यो, उहाँका चेलाहरू समुद्रतिर झरे। 17तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए। यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन। 18र ठुलो आँधीबेहरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लंदै थिए। 19जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिँडिरहनुभएको र उहाँ डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए। 20तर पनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ, नडराओ।” 21तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए, र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए। 22अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भिडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा थिएन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको र उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्‍ने देखे। 23तापनि प्रभुले धन्यवाद चढाएर तिनीहरूले रोटी खाएका नजिकैको ठाउँ तिबेरियासबाट आएका केही डुङ्गाहरू त्यहाँ थिए। 24जब त्यस भिडले न येशू न उहाँका चेलाहरू नै त्यहाँ थिए भन्‍ने कुरा पत्ता लगाए, तिनीहरू आफैँ डुङ्गा चढे र येशूलाई खोज्दै कफर्नहुमतिर गए। 25तिनीहरूले उहाँलाई त्यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?” 26येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो, “साँचो, साँचो, तिमीहरूले चिह्न‍हरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो। 27नष्‍ट हुने खानाको निम्ति काम नगर, तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर, किनकि परमेश्‍वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको छ।” 28तब तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरका कामहरू गर्न हामीले के गर्नुपर्छ?” 29येशूले जवाफ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्नू।” 30यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिह्न‍ गर्नुहुनेछ, ताकि हामीले देख्‍न र तपाईंलाई विश्‍वास गर्न सकौँ? तपाईंले के गर्नुहुनेछ? 31हाम्रा पिताहरूले मरुभूमिमा मन्‍न खाए। यस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो’।” 32तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ। 33किनकि परमेश्‍वरको रोटी त्यही हो, जो स्वर्गबाट आउँछ र संसारलाई जीवन दिँदछ।” 34यसैले तिनीहरूले उहाँलाई भने, “महाशय, हामीलाई यो रोटी सदैव दिनुहोस्।” 35येशूले तिनीहरूलाई भन्‍नुभयो, “म जीवनको रोटी हुँ, जो मकहाँ आउँछ त्यो कहिल्यै भोकाउनेछैन र जसले मलाई विश्‍वास गर्छ त्यो कहिल्यै तिर्खाउनेछैन। 36तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ र पनि तिमीहरू विश्‍वास गर्दैनौ। 37पिताले मलाई दिनुभएका सबै मकहाँ आउनेछन् र जो मकहाँ आउँछ म निश्‍चय नै त्यसलाई बाहिर फ्याँक्‍नेछैनँ। 38किनकि म स्वर्गबाट आएको छु, मेरो आफ्नो इच्छा पुरा गर्नलाई होइन, तर मलाई पठाउनुहुनेको इच्छा पुरा गर्नलाई हो। 39र मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका सबैमध्ये एक जना पनि मैले नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ। 40किनकि मेरा पिताको इच्छा यही हो, कि पुत्रलाई देख्‍ने र उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् र अन्तिम दिनमा तिनीहरूलाई म जीवित पारूँ।” 41तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे, किनकि उहाँले यसो भन्‍नुभएको थियो, “म स्वर्गबाट आएको रोटी हुँ।” 42तिनीहरूले भने, “के यिनी योसेफका पुत्र येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्छौँ? तब ‘म स्वर्गबाट आएको हुँ’ भनी अहिले यसले कसरी भन्‍न सक्छ?” 43येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू माझ गनगन गर्न छोड।” 44मलाई पठाउनुहुने पिताले नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन र त्यसलाई अन्तिम दिनमा म जीवित पार्नेछु। 45अगमवक्‍ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्‍वरद्वारा सिकाइनेछ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन्। 46परमेश्‍वरबाट आएकाले बाहेक कसैले पनि परमेश्‍वरलाई देखेको छैन, उसैले पितालाई देखेको छ। 47साँचो, साँचो, जसले विश्‍वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ। 48म जीवनको रोटी हुँ। 49तिमीहरूका पिताहरूले मरुभूमिमा मन्‍न खाए, र तिनीहरू मरे। 50यो नै स्वर्गबाट आएको रोटी हो, ताकि एक व्यक्‍तिले यसको केही भाग खाओस्, र त्यो नमरोस्। 51स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ। यदि कसैले यो रोटीको केही भाग खान्छ भने, त्यो सदासर्वदा जिउनेछ। मैले दिने रोटी संसारको जीवनको निम्ति दिने मेरो देह नै हो।” 52यहूदीहरू रिसाए र यसो भनेर वादविवाद गर्न थाले, “यो मानिसले कसरी हामीलाई उसको देह खान दिन सक्छ?” 53तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो, तिमीहरूले मानिसका पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म, तिमीहरू आफैँमा जीवन हुनेछैन। 54मेरो शरीर खाने र रगत पिउनेसँग अनन्त जीवन हुन्छ र त्यसलाई अन्त्यको दिनमा म जीवित पार्नेछु। 55किनकि मेरो देह साँचो खाना हो, र मेरो रगत साँचो पिउने कुरा हो। 56मेरो देह खाने र मेरो रगत पिउने ममा रहन्छ, र म त्यसमा रहन्छु। 57जसरी जीवित पिताले मलाई पठाउनुभयो र म जसरी पिताको कारणले जिउँछु, यसरी नै मलाई खाने पनि मेरो कारणले जिउनेछ। 58स्वर्गबाट ओर्लिआएको रोटी यही हो, जुन पिताहरूले खाएर मरेजस्तो होइन। यो रोटी खाने सदासर्वदा जिउनेछ।” 59तर येशूले यी कुराहरू कफर्नहुमको सभाघरमा सिकाइरहनुहुँदा भन्‍नुभयो। 60यो सुन्‍ने जति उहाँका धेरै चेलाहरूले भने, “यो एउटा कठिन शिक्षा हो, यसलाई कसले स्‍वीकार गर्न सक्छ?” 61उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्‍ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्‍नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्‍न तुल्याउँछ?” 62त्यसो भए यदि तिमीहरूले मानिसका पुत्रलाई पहिला भएकैतिर गइरहेका देखौ भने नि? 63जीवन दिनुहुने त आत्मा नै हुनुहुन्छ, देहले त कुनै पनि लाभ दिँदैन। मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन् र तिनीहरू जीवन हुन्। 64तैपनि तिमीहरूमध्ये कति जनाले विश्‍वास गर्दनौँ।” किनकि क-कसले विश्‍वास गर्दैनथे र उहाँलाई धोका दिने को हो भन्‍ने येशूलाई सुरुदेखि नै थाहा थियो। 65उहाँले भन्‍नुभयो, “यही कारणले पिताले उसलाई नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन भनी मैले तिमीहरूलाई भनेँ।” 66यसले गर्दा उहाँका धेरै जना चेलाहरू गए र उहाँसँग कहिल्यै पनि हिँडेनन्। 67तब येशूले ती बाह्र जनालाई भन्‍नुभयो, “तिमीहरूचाहिँ जान चाहँदैनौ, चाहन्छौ त?” 68सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु? अनन्त जीवनको वचन तपाईंसँग छ। 69र हामीले विश्‍वास गरेका छौँ र तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौँ।” 70येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू बाह्र जनालाई मैले नै चुनेको होइनँ, र पनि तिमीहरूमध्ये एक जनाचाहिँ दुष्‍ट छ?” 71अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्‍नुभएको थियो, किनकि येशूलाई धोका दिने बाह्र जनामध्ये एक जना उही नै थियो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।