सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

व्यवस्था 5

यो अध्याय यसमा पर्छ: De wet uitgelegd

1मोशाले सारा इस्राएलीलाई बोलाएर भने, “हे इस्राएल हो, आज मैले तिमीहरूलाई दिने विधिविधानहरू सुन ताकि तिनलाई जानेर तिमीहरू आज्ञाकारी बन्‍न सक। 2परमप्रभु हाम्रा परमेश्‍वरले होरेबमा हामीसित करार बाँध्‍नुभयो। 3परमप्रभुले यो करार हाम्रा पिता-पुर्खाहरूसित बाँध्‍नुभएन, आज हामी बाँचेकाहरू सबैसित बाँध्‍नुभयो। 4पर्वतमा परमप्रभु आगोको बिचबाट तिमीहरूसित आमनेसामने बोल्नुभयो। 5त्यस बेला उहाँको वचन प्रकट गर्न म परमप्रभु र तिमीहरूका बिचमा उभिएँ किनकि आगोको कारणले गर्दा तिमीहरू डराएका थियौ, र तिमीहरू पर्वतमा उक्लेर गएनौ)। परमप्रभुले भन्‍नुभयो, 6'तिमीहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट ल्याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। 7तिमीहरूले मेरो सामु अन्य कुनै देवी-देवता नमान्‍नू। 8आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू। 9तिनीहरूका सामु ननिहुरनू न त तिनीहरूको सेवा गर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ। म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिने छु। 10तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्‍वसनीयता देखाउने छु। 11परमप्रभु तिमीहरूका परमेश्‍वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्ने छैनँ। 12परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएमुताबिक शबाथ-दिन पवित्र राख्‍न याद राख्‍नू। 13तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र तिमीहरूका सबै काम गर्नुपर्छ। 14तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो। यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गोरु, वा तिमीहरूका गधा वा तिमीहरूका कुनै पनि गाईवस्तु वा तिमीहरूको सहरभित्र भएका परदेशीले कुनै काम नगरोस्। तिमीहरूका कमारा-कमारीले पनि तिमीहरूसँगै विश्राम गरून्। 15तिमीहरू मिश्र देशमा कमारा थियौ, र परमप्रभु तिमीहरूका परमेश्‍वरले शक्तिशाली हात र फैलिएको पाखुराद्वारा तिमीहरूलाई त्यहाँबाट ल्याउनुभयो भनी याद राख्‍नू। त्यसकारण, शबाथ-दिन मान्‍न परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएको छ। 16परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन लाग्‍नुभएको देशमा तिमीहरूको आयु लामो होस् र तिमीहरूको भलो होस्। 17हत्या नगर्नू। 18व्यभिचार नगर्नू। 19चोरी नगर्नू। 20आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू। 21आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; आफ्नो छिमेकीको घरको लालच नगर्नू; त्यसको खेत, कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू।' 22परमप्रभुले यी वचनहरू पर्वतमा आगोको बिचबाट घोर अन्धकारमा बादलबाट तिमीहरूका सारा समुदायलाई ठुलो सोरमा भन्‍नुभयो। उहाँले अरु कुनै पनि वचन थप्‍नुभएन। उहाँले दुईवटा शिला-पाटीमा ती लेख्‍नुभयो र मलाई दिनुभयो। 23पर्वत जलिरहँदा अन्धकारको बिचबाट तिमीहरूले आवाज सुन्दा तिमीहरूका सबै धर्म-गुरु र तिमीहरूका कुलहरूका नायकहरू मकहाँ आयौ। 24तिमीहरूले भन्यौ, 'हेर, परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई उहाँको महिमा र उहाँको महान्‌ता देखाउनुभएको छ, र आगोको बिचबाट हामीले उहाँको आवाज सुनेका छौँ। परमेश्‍वर मानिसहरूसित बोल्नुहुँदा पनि तिनीहरू जीवितै रहन सक्छन् भनी आज हामीले देखेका छौँ। 25तर हामी किन मर्ने? किनकि यो महाअग्‍निले हामीलाई भस्म पार्ने छ। हामीले परमप्रभु हाम्रा परमेश्‍वरको आवाज अझै सुन्यौँ भने हामी मर्ने छौँ। 26किनकि आगोको बिचबाट जीवित परमेश्‍वरको वचन सुनेर पनि हामीजस्तै बाँच्ने कुनचाहिँ प्राणी होला? 27जानुहोस् र परमप्रभु हाम्रा परमेश्‍वरले भन्‍नुहुने हरेक कुरो सुन्‍नुहोस्। परमप्रभु हाम्रा परमेश्‍वरले तपाईंलाई भन्‍नुहुने हरेक कुरो हामीलाई दोहोर्‍याउनुहोस्। हामी यसलाई सुन्‍ने छौँ र पालन गर्ने छौँ।' 28तिमीहरू मसित बोल्दा परमप्रभुले तिमीहरूका वचन सुन्‍नुभयो। उहाँले मलाई भन्‍नुभयो, 'यी मानिसहरूले तँलाई भनेका वचनहरू मैले सुनेको छु। तिनीहरूले भनेका कुरा असल थिए। 29मेरो आदर गर्ने र सधैँ मेरा सबै आज्ञा मान्‍ने हृदय तिनीहरूमा भइदिए त तिनीहरू र तिनीहरूका छोराछोरीहरूको सदासर्वदा भलो हुनेथियो। 30गएर तिनीहरूलाई भन्, 'तिमीहरूका पालहरूमा फर्क।' 31तर तँचाहिँ मेरो नजिक खडा हो, र म तँलाई सबै आज्ञा र विधिविधान दिने छु जुन तैँले तिनीहरूलाई सिकाउने छस् ताकि मैले तिनीहरूलाई अधिकारको लागि दिने देशमा तिनीहरूले यी पालन गरून्।' 32त्यसकारण, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका आज्ञाहरू पालन गर। 33तिमीहरू दायाँ र बायाँ नलाग। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएका सबै मार्गमा हिँड ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू बाँच्न सक, र तिमीहरूको भलो होस् अनि तिमीहरूको आयु लामो होस्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।