सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

व्यवस्था 30

यो अध्याय यसमा पर्छ: Zegen en vloek

1जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्राप तिमीहरूमाथि आइपर्ने छन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अन्य जातिहरूका बिचमा धपाउनुभएपछि जब तिमीहरूले यी सम्झने छौ, 2र तिमीहरूका सारा हृदय र प्राणले आज मैले तिमीहरू र तिमीहरूका सन्तानलाई आज्ञा गरेका यी सबै वचनलाई पालन गरेर तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ फर्कंदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको निर्वासनलाई उल्ट्याइदिनुहुने छ र तिमीहरूलाई टिठ्याउनुहुने छ। 3परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तितर-बितर पार्नुभएका सबै जातिबाट तिमीहरूलाई फर्काएर ल्याई तिमीहरूलाई एकत्रित गर्नुहुने छ। 4तिमीहरूको कुनै पनि मानिस निर्वासित भएर आकाशमुनिको सबैभन्दा टाढा लगिए तापनि परमेश्‍वरले तिमीहरूलाई जम्मा गरी ल्याउनुहुने छ। 5परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाहरूले अधिकार गर्नुभएको र तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुने छ। उहाँले तिमीहरूको भलो गर्नुहुने छ र तिमीहरूका पिता-पुर्खाहरूभन्दा तिमीहरूलाई सङ्ख्यामा वृद्धि गर्नुहुने छ। 6परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू र तिमीहरूका सन्तानहरूका हृदयको खतना गरिदिनुहुने छ अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सारा हृदयले प्रेम गर्ने छौ अनि तिमीहरू जीवित हुने छौ। 7परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई घृणा गर्ने र तिमीहरूको खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि यी सबै श्राप ल्याउनुहुने छ। 8तिमीहरू फर्केर परमप्रभुको आवाज सुन्‍ने छौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्ने छौ। 9परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको देशका सबै काम, तिमीहरूका सन्तान, तिमीहरूका बाछा-बाछी, तिमीहरूको भूमिको फलमा प्रचुर मात्रामा उन्‍नति गराइदिनुहुने छ। किनकि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूमा आनन्द मनाउनुभएझैँ तिमीहरूको उन्‍नतिमा पनि आनन्द मनाउनहुने छ। 10तिमीहरूका सारा हृदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र निर्देशनहरू पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा मान्यौ भने उहाँले यसो गर्नुहुने छ। 11किनकि आज मैले तिमीहरूलाई दिएको यो आज्ञा तिमीहरूका निम्ति कठिन छैन, न त प्राप्‍तै गर्न नसक्‍ने गरी टाढा छ। 12'हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति स्वर्गमा गई यसलाई तल ल्याएर हामीलाई बताउने को छ?' भनी तिमीहरूले भन्‍नुपर्ने गरी यो स्वर्गमा छैन। 13'हामीले पालन गर्न सकूँ भनेर हाम्रो निम्ति सागर पार गरी यसलाई ल्याएर हामीलाई बताउने को छ?' भनी तिमीहरूले भन्‍नुपर्ने गरी यो समुद्रपारि छैन। 14तर तिमीहरूले पालन गर्न सक्‍ने गरी वचन तिमीहरूको नजिकै छ अर्थात् तिमीहरूको मुख र हृदयमा छ। 15हेर, आज मैले तिमीहरूका सामु जीवन र भलाइ, मृत्यु र दुष्‍ट्याइँ राखिदिएको छु। 16तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका मार्गहरूमा हिँड्न र उहाँका आज्ञाहरूसाथै उहाँका निर्देशनहरू, विधिविधानहरू पालन गर्न आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आदेशहरू पालन गर्‍यौ भने तिमीहरू बाँच्ने छौ र तिमीहरूको वृद्धि हुने छ अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू प्रवेश गर्न लागेका देशमा तिमीहरूलाई आशिष् दिनुहुने छ। 17तर तिमीहरूका हृदय बरालिएर अटेरी भयौ र अरू देवताहरूप्रति आकर्षित भएर तिनीहरूको सामु निहुरी तिनीहरूको पुजा गर्‍यौ भने 18तिमीहरू पक्‍कै नष्‍ट हुने छौ भनी आज म घोषणा गर्दछु। यर्दनपारि गएर तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूको आयु लामो हुने छैन। 19तिमीहरूको सामु मैले जीवन र मृत्यु अनि आशिष् र श्राप राखिदिएको छु भनी तिमीहरूको विरुद्धमा गवाही दिन आज मैले स्वर्ग र पृथ्वीलाई साक्षी राखेको छु। त्यसकारण, तिमीहरू र तिमीहरूका सन्तानहरू बाँच्न सकून् भनी जीवन रोज। 20परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँको कुरा पालन गर्न र उहाँमा टाँसिनका लागि यसलाई मान्‍नू। किनकि उहाँ नै तिमीहरूको जीवन र तिमीहरूको दीर्घायु हुनुहुन्छ। परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक, याकूबसित प्रतिज्ञा गर्नुभएको यो देशमा तिमीहरू बाँच्न सक भन्‍नलाई यो आज्ञा मान्‍नू।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।