सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

व्यवस्था 31

यो अध्याय यसमा पर्छ: Afscheid van Mozes

1मोशा गएर सारा इस्राएलीलाई यी वचन भने, 2“म अहिले एक सय बिस वर्ष पुगेँ। अब म भित्र बाहिर गर्न सक्दिनँ। परमप्रभुले मलाई यसो भन्‍नुभएको छ, 'तँ यर्दनपारि जाने छैनस्।' 3परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूभन्दा अगिअगि त्यहाँ जानुहुने छ। उहाँले तिमीहरूकै सामु यी जातिहरूलाई नष्‍ट पार्नुहुने छ, र तिमीहरूले तिनीहरूलाई धपाउने छौ। परमप्रभुले भन्‍नुभएझैँ यहोशू तिमीहरूभन्दा अगि त्यहाँ जाने छन्। 4परमप्रभुले एमोरीहरूका राजा सीहोन र ओग अनि तिनहरूका देशलाई नष्‍ट पार्नुभएझैँ तिनीहरूलाई नष्‍ट पार्नुहुने छ। 5तिमीहरूले तिनीहरूसित युद्धमा जम्काभेट गर्दा परमप्रभुले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनहुने छ, र मैले तिमीहरूलाई दिएका सबै आज्ञामुताबिक तिनीहरूलाई गर्नू। 6बलियो र खुबै साहसी होओ। नडराओ र तिनीहरूदेखि भयभीत नहोओ। किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँगै जानुहुने छ। उहाँले तिमीहरूलाई छाड्नुहुने छैन, न त त्याग्‍नुहुने छ।” 7मोशाले यहोशूलाई बोलाई सारा इस्राएलको सामुन्‍ने भने, “बलियो र खुबै साहसी होऊ, किनकि यी मानिसहरूलाई दिन्छु भनी परमप्रभुले तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा तिमी यिनीहरूसँगै जाऊ। तिमीहरूले तिनीहरूलाई यसको अधिकार गर्न दिने छौ। 8परमप्रभु तिम्रो अगिअगि जानुहुने छ। उहाँ तिमीसँगै हुनुहुने छ। उहाँले तिमीलाई छाड्नहुने छैन, न त त्याग्‍नुहुने छ। नडराऊ, निरुत्साहित नहोऊ।” 9मोशाले यो व्यवस्था लेखेर लेवीका छोराहरू अर्थात् पुजारीहरूलाई दिए जसले परमप्रभुले करारको सन्दुक बोक्थे। तिनले इस्राएलका सारा धर्म-गुरुलाई पनि यसका प्रतिहरू दिए। 10मोशाले तिनीहरूलाई यसो भनी आज्ञा दिए, “हरेक सात वर्षको अन्त्यमा अर्थात् ऋणहरू रद्द गरिदिने समयमा, छाप्रो-वासको चाडमा, 11परमप्रभु तिमीहरूका परमेश्‍वरले उहाँको पवित्र वासस्थानको लागि उहाँले छान्‍नुहुने ठाउँमा सारा इस्राएली उहाँको सामु देखा पर्दा तिनीहरूले सुन्‍ने गरी सारा इस्राएलीको सामु तिमीहरूले यो व्यवस्थाका वचन पढ्नू। 12पुरुष र स्‍त्रीहरू, बालबच्‍चाहरू, तिमीहरूका सहरभित्र बस्‍ने परदेशीलगायत सबै मानिसलाई भेला गराउनू ताकि तिनीहरूले सुनेर सिक्‍न सकून् र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आदर गर्न सकून् अनि यस व्यवस्थाका वचनहरू पालन गर्न सकून्। 13यर्दनपारि तिमीहरूले अधिकार गर्न जान लागेको देशमा बसुञ्‍जेलसम्म यो व्यवस्था नजान्‍ने तिनीहरूका छोराछोरीहरूले पनि सुनेर परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान्‍न सिकून्।” 14परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर, तँ मर्ने दिन आउँदै छ। यहोशूलाई डाकेर भेट हुने पालमा तेरो उपस्थितिमा ले ताकि म त्यसलाई आज्ञा दिन सकूँ।” मोशा र यहोशू भेट हुने पालमा गएर आफैलाई उपस्थित गराए। 15परमप्रभु बादलको खाँबोमा पालमा देखा पर्नुभयो। बादलको खाँबो पालको ढोकामाथि अडियो। 16परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, तँ तेरा पिता-पुर्खाहरूसित सुत्‍ने छस्। जुन देशमा यी मानिसहरू जाँदै छन्, त्यहाँ तिनीहरूले अनौठा देवताहरूको पछि लागि आत्मिक व्यभिचार गर्ने छन्। तिनीहरूले मलाई त्याग्‍ने छन् र मैले तिनीहरूसित बाँधेको मेरो करार भङ्ग गर्ने छन्। 17तब त्यस दिन मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कने छ र म तिनीहरूलाई त्यागिदिने छु। म तिनीहरूबाट मेरो मुहार लुकाउने छु, र तिनीहरू नष्‍ट हुने छन्। तिनीहरूले धेरै विपत्ति र सङ्कष्‍टहरू झेल्ने छन् अनि त्यस दिन तिनीहरूले भन्‍ने छन्, 'के हाम्रा परमेश्‍वर हाम्रा बिचमा नहुनुभएकोले यी विपत्तिहरू हामीमाथि आइपरेका होइनन् र?' 18तिनीहरू अन्य देवताहरूकहाँ फर्की तिनीहरूले गर्ने तिनीहरूका सबै दुष्‍ट्याइँको कारणले त्यस दिन म निश्‍चय नै तिनीहरूबाट मेरो मुहार लुकाउने छु। 19अब त्यसकारण तिमीहरूले आफ्नो निम्ति यो गीत लेखेर इस्राएलीहरूलाई सिकाओ। यसलाई कण्ठस्थ पार ताकि यो गीत इस्राएलीहरूको विरुद्धमा मेरो साक्षी होस्। 20किनकि तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी मैले प्रतिज्ञा गरेको दूध र मह बग्‍ने देशमा जब मैले तिनीहरूलाई ल्याएको हुने छु, र तिनीहरू खाएर तृप्‍त भएर मोटाएका हुने छन्, तब तिनीहरू अन्य देवताहरूकहाँ लागी तिनीहरूको सेवा गर्ने छन् र तिनीहरूले मेरो तिरस्कार गरी मेरो करार भङ्ग गर्ने छन्। 21जब यस जातिमाथि धेरै खराबी र सङ्कष्‍ट आइपर्ने छन्, यो गीतले तिनीहरूको सामु साक्षीको रूपमा गवाही दिने छ (किनकि यो तिनीहरूका सन्तानका मुखबाट बिर्सिने छैन)। मैले तिनीहरूलाई प्रतिज्ञा गरेको देशमा तिनीहरूलाई ल्याउनुभन्दा अगावै तिनीहरूले आज रचेका योजनाहरू मलाई थाहा छ।” 22त्यसैले त्यही दिन मोशाले यो गीत लेखी इस्राएलीहरूलाई सिकाए। 23परमप्रभुले नूनका छोरा यहोशूलाई यस्तो आज्ञा दिई भन्‍नुभयो, “बलियो र खुबै साहसी होऊ। किनकि मैले इस्राएलीहरूलाई प्रतिज्ञा गरेको देशमा तैँले तिनीहरूलाई ल्याउने छस्, र म तँसित हुने छु।” 24मोशाले यस व्यवस्थाका वचनहरू लेखिसिद्ध्यापछि 25परमप्रभुको करारको सन्दूक बोक्‍ने लेवीहरूलाई तिनले आज्ञा दिए, 26“व्यवस्थाको यस पुस्तकलाई लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्दुकको छेउमा राख ताकि यो तिमीहरूको विरुद्धमा साक्षीको रूपमा रहोस्। 27किनकि म तिमीहरूको विद्रोह र हठ जान्दछु। हेर, आज म तिमीहरूसित जीवित छँदा नै तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही भएका छौ। मेरो मृत्युपछि झन् कति धेरै विद्रोही हुन्छौ? 28तिमीहरूका कुलका सबै धर्म-गुरुहरू र तिमीहरूका अधिकारीहरूलाई भेला गर ताकि तिनीहरूले सुन्‍ने गरी मैले यी वचनहरू तिनीहरूलाई बोल्न सकूँ र तिनीहरूको विरुद्धमा स्वर्ग र पृथ्वीलाई साक्षी राख्‍न सकूँ। 29किनकि म जान्दछु, कि मेरो मृत्युपछि तिमीहरू पूर्ण रूपमा भ्रष्‍ट भई मैले तिमीहरूलाई दिएको मार्गबाट बरालिने छौ। आगामी दिनहरूमा तिमीहरूमाथि विपत्तिहरू आइपर्ने छन्। तिमीहरूका हातका कामहरूले तिमीहरूले परमप्रभुलाई चिढ्याई उहाँको दृष्‍टिमा दुष्‍ट कामहरू गर्ने भएकोले यसो हुने छ।” 30मोशाले यस गीतका शब्दहरू सुरुदेखि अन्त्यसम्म इस्राएलीहरूका सारा समुदायलाई सुनाए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।