सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 शमूएल 18

यो अध्याय यसमा पर्छ: Val en crisis

1दाऊदले आफूसँग भएका सिपाहरूको गन्ति गरे र तिनीहरूमाथि हजारका कप्‍तानहरू र सयका कप्‍तानहरू नियुक्‍त गरे। 2त्यसपछि दाऊदले एक तिहाइ सिपाहीलाई योआबको अधीनमा, अर्को एक तिहाइलाई सरूयहाहका छोरा योआबका भाइ अबीशैको अधीनमा, र अर्को एक तिहाइलाई गित्ती इत्तैको अधीनमा पठाए। राजाले फौजलाई भने, “म आफै पनि तिमीहरूसँग नै जाने छु।” 3तर मानिसहरूले भने, “तपाईं युद्धमा जानु हुँदैन, किनकि भाग्यौं भने, तिनीहरूले हाम्रो वास्‍ता गर्ने छैनन् वा हामी आधा नै मरे पनि तिनीहरूले वास्‍ता गर्ने छैनन्। तर तपाईं त हामीजस्‍ता दश हजार बराबर हुनुहुन्छ! यसकारण तपाईं हामीलाई सहरबाट नै सहायता गर्न तयार हुनुहोस्।” 4त्यसैले राजाले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूलाई जे उत्तम लाग्छ म त्यही गर्ने छु।” जब सबै फौज सय र हजारको सङ्‍ख्‍यामा निस्‍केर गए, तब राजाचाहिं सहरको ढोकामा खडा भए। 5राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “त्यो जवान केटा अब्शालोमसित मेरो खातिर कोमलतासाथ व्यवहार गर।” राजाले अब्शालोमको बारेमा कप्‍तानहरूलाई यस्तो आज्ञा दिएका छन् भनी सबैले सुने। 6त्यसैले फौज गाउँमा इस्राएलको विरुद्ध लड्न गए। लडाइँ इफ्राइमको जङ्गलमा फैलियो। 7दाऊदका सिपाहीहरूका सामु त्‍यहाँ इस्राएलका फौजलाई परास्‍त भयो। त्यस दिन त्यहाँ यति ठुलो नरसंहार भयो कि बिस हजार मानिसहरू मारिए। 8लडाइँ सारा गाउँभरि नै फैलियो र तरवारले भन्दा पनि धेरै जङ्गलले नै मानिसहरूलाई नाश पार्‍यो। 9अब्शालोमले दाऊदका केही सिपाहीलाई भेटे। अब्शालोम आफ्नो खच्‍चरमा सवार थिए र त्‍यो खच्‍चर बाक्‍लो हाँगा भएको फलाँटको ठुलो रुखमुनिबाट गयो र तिनको टाउको रुखका हाँगाहरूमा नै अड्कियो। तिनले चढेका खच्‍चर हिंडिरहँदा तिनीचाहिं आकाश र जमिनको बिचमा झुण्डिरहे। 10कसैले यो देख्‍यो र योआबलाई भन्‍यो, “हेर्नुहोस्, मैले अब्शालोम फलाँटको रुखमा झुण्डिरहेको देखें!” 11योआबले आब्शालोमबारे बताउने ‍‍त्यो मानिसलाई भने, “हेर, तैंले त्यसलाई देखिस्! तैंले किन त्यसलाई जमिनमा ढालिनस्? मैले तँलाई दश शेकेल चाँदी र एउटा पेटी दिने थिएँ।” 12त्यो मानिसले योआबलाई भन्यो, “मैले हजार शेकेल चाँदी पाएको भए पनि म राजाको छोराको विरुद्ध आफ्‍नो हात उठाने थिइनँ, किनभने तपाईं, अबीशै र इत्तैलाई राजाले यसो भनेर आज्ञा दिनुभएको कुरा हामी सबैले सुनेका थियौं, 'जवान मानिस अब्शालोमलाई कसैले नछोओस्।' 13मैले झुट बोलेर मेरो जीवनलाई खतरामा पारेको भए (र राजाबाट कुनै कुरा लुक्‍दैन), तपाईंले मलाई त्यग्‍नुहुने थियो।” 14तब योआबले भने, “म तेरो लागि पर्खने छैनँ।” त्यसैले योआबले आफ्नो हातमा तिन वटा भालाहरू लिए र अब्शालोम अझै जीवित नै फलाँटको रुखमा झुण्डिरहँदा तिनको मुटुमा रोपिदिए। 15त्यसपछि योआबको हतियार बोक्‍ने दश जना मानिसले अब्शालोमलाई घेरा हाले, तिनलाई आक्रमण गरे र तिनलाई मारे। 16तब योआबले तुरही फुके र इस्राएललाई खेद्‍न छोडेर फौज फर्कियो, किनकि योआबले फौजलाई रोके। 17तिनीहरूले अब्शालोमलाई लिए र तिनलाई जङ्गलको एउटा ठुलो खल्डोमा फालिदिए। सबै इस्राएल हरेक मानिस आफ्नो घरतिर भागरे जाँदा तिनीहरूले अब्शालोमलाई ढुङ्गाको ठुलो थुप्रोमुनि गाडे। 18अब्शालोम आफू जीवित नै हुँदा राजाको बेसीमा ठुलो ढुङ्गाको एउटा स्मारक निर्माण गरेका थिए, किनकि तिनले भने, “मेरो नाउँलाई निरन्‍तरता दिन मेरो कुनै छोरा छैन।” तिनले स्तम्भलाई आफ्नै नाउँबाट नाम दिए, त्यसैले आजको दिनसम्म पनि त्‍यसलाई अब्शालोमको स्मारक भनिन्छ। 19त्यसपछि सादोकका छोरा अहीमासले भने, “परमप्रभुले राजालाई कसरी उहाँका शत्रुहरूका हातबाट छुटकारा दिनुभएको छ भन्‍ने शुभखबर लिएर मलाई राजाकहाँ दौडेर जान दिनुहोस्।” 20योआबले तिनलाई भने, “आज तिमी खबर लाने छैनौ। तिमीले यो काम अर्को दिन गर्नुपर्छ। आज तिमीले कुनै समाचार लाने छैनौ किनभने राजाको छोरा मरेको छ।” 21त्यसपछि योआबले कूशीलाई भने, “जा, तैंले जे देखेको छस् त्‍यो राजालाई भन्।” कूशीले योआबलाई दण्डवत गरे र दौडे। 22तब सादोकका छोरा अहीमासले योआबलाई फेरि पनि भने, “जेसुकै भए पनि, कृपया मलाई दौडेर जान र कूशीको पछि-पछि लाग्‍न दिनुहोस्।” योआबले जवाफ दिए, “हे मेरो छोरो, तिमीले यो खबरको निम्ति कुनै इनाम पाउने छैनौ भन्‍ने देखेर पनि तिमी किन दौडिन चाहन्छौ?” 23अहीमासले भने, “जेसुकै होस्, म दौडने छु।” त्यसैले योआबले तिनलाई जवाफ दिए, “दौड।” अनि अहीमास मैदानको बाटो हुँदै दौडे र कूशीलाई उछिने। 24यति बेला दाऊद भित्री र बाहिरी ढोकाको बिचमा बसिरहेका थिए। रक्षा बस्‍ने मानिस पर्खालको छतमा गए र आफ्‍ना आँखाले हेरे। जसै तिनले हेरे, एक जना मानिस एक्‍लै दौडेर नजिक आइरहेको तिनले देखे। 25रक्षकले ठुलो सोरले कराए र राजालाई भने। तब राजाले भने, “त्यो एकलै छ भने, त्यसको मुखमा खबर हुनुपर्छ।” त्‍यो धावक नजिक आइपुगे र सहरको नजिकै आए। 26त्यसपछि ती रक्षकले अर्को मानिस पनि दौडेर आइरहेको देखे र ती रक्षकले ढोकाको पालेलाई भने, “हेर, अर्को मानिस पनि एक्लै दौडेर आइरहेको छ।” राजाले भने, “त्यसले पनि खबर ल्याउँदै छ।” 27त्यसैले ती रक्षकले भने, “अगिल्लो मानिसको दौडाइ सादोकका छोरा अहीमासको जस्तो छ।” राजाले भने, “तिनी असल मानिस हुन् र राम्रो खबर लिएर आउँदै छन्।” 28त्यसपछि अहीमासले कराए र राजालाई भने, “सबै ठिक छ।” तिनले आफ्‍नो अनुहार भुईंमा धोप्टो पारेर राजालाई दण्डवत् गरे र भने, “परमप्रभु तपाईंको परमेश्‍वर धन्यको होऊन्! मेरो मलिक महाराजाको विरुद्धमा खडा हुने मानिसहरूलाई उहाँले हजुरको हातमा सुम्पनुभएको छ। 29त्यसैले राजाले जवाफ दिए, “त्‍यो जवान अब्शालोम ठिकै छ?” अहीमासले जवाफ दिए, “जब योबले म महाराजाको सेवकलाई हजुरकहाँ पठाए, तब मैले ठुलो खेलाबैल देखें, तर यो के हो भनी मलाई थाहा भएन।” 30त्यसपछि राजाले भने, “हटिजाऊ र यहाँ खडा होऊ।” त्यसैले अहीमास छेउतिर लागे र खडा भए। 31कूशी पनि तुरुन्तै आइपुगे र भने, “मेरो मालिक महाराजालाई असल खबर छ, किनकि परमप्रभुले आज तपाईंको विरुद्ध खडा हुने सबैलाई बदला लिनुभएको छ।” 32त्यसपछि राजाले कूशीलाई भने, “त्‍यो जवान अब्शालोम ठिकै छ?” ती कूशीले जवाफ दिए, “मेरो मालिक महाराजाका शत्रुहरू र हजूरलाई हानि गर्न खडा हुने सबैलाई त्यो जवान मानिसलाई जस्तै हुनुपर्छ।” 33अनि राजा गहिरो शोकमा परे र तिनी ढोकामाथिको कोठामा गए र रोए। जसै तिनी हिंडे, तिनले विलाप गरे, “ए मेरो छोरा ए अब्शालोम, ए मेरो छोरा अब्शालोम! बरु म तिम्रो सट्टामा मरेको भए हुन्थ्यो नि, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।