सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 शमूएल 12

यो अध्याय यसमा पर्छ: Val en crisis

1त्यसपछि परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो। उनी तिनीकहाँ आए र तिनलाई भने, “कुनै सहरमा दुई जना मानिस बस्थे। एक जना धनी थिए र अर्कोचाहिं गरीब थिए। 2धनी मानिसको ठुलो संख्यामा भेडाबाख्रा र गाईवस्तु थिए, 3तर त्यो गरीब मानिससित भेडको एउटा पाठीबाहेक केही पनि थिएन, जसलाई त्‍यसले किनेर ल्‍याएको, र खुवाएर हुर्काएको थियो। त्‍यो उसँग र उसका छोराछोरीसँगै हुर्क्‍यो। यो पाठीले उसँगै खान्थ्यो, उसैको कचौराबाट पिउँथ्यो, र उसकै काखमा सुत्थ्यो र उसको छोरीजस्तै थियो। 4एक दिन त्यो धनी मानिसको घरमा एक जना पाहुना आए, तर तिनलाई खाना दिन त्यो धनी मानिसले आफ्नो भेडाबाख्रा र गाईवस्तु एउटा पशु लिन पनि इच्छुक भएन। बरु, त्यसले त्यो गरीब मानिसको भेडाको पाठी लियो र त्यो आफ्‍नो पाहुनाको निम्ति पकाइदियो।” 5दाऊद त्यो धनी मानिसप्रति रिसले आगो भए र नातानसँग जङ्गिए, “जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, त्‍यो मानिस जसले यसो गर्‍यो त्यो मारिन योग्य छ। 6त्‍यो पाठीको चार गुणा त्यसले फिर्ता गर्नुपर्छ किनभने त्यसले यस्तो दुष्‍ट कुरा गरेको छ र त्यसले गरीब मानिसमाथ कुनै दया देखाएन।” 7त्यसपछि नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें र मैले तँलाई शाऊलको हातबाट बचाएँ। 8मैले तँलाई तेरो मालिकको घराना र तेरो मालिकका पत्‍नीहरूलाई तेरो हातमा दिएँ। मैले तँलाई इस्राएल र यहूदाको घराना पनि दिएँ। तर त्यसले नपुगेको भए, मैले तँलाई यसको अतिरिक्‍त अरू धेरै कुरा दिने थिएँ। 9त्यसैले तैंले परमप्रभुको दृष्‍टिमा जे खराब छ त्यही गरेर उहाँको आज्ञालाई किन तुच्‍छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस् र त्यसको पत्‍नीलाई तेरो आफ्‍नै पत्‍नी हुनलाई लगेको छस्। तैंले अम्‍मोनको फौजको तरवारले त्यसलाई मारिस्। 10त्यसैले अब तरवारले तेरो घरानालाई कहिल्यै छोड्ने छैन, किनभने तैंले मलाई घृणा गरेको छस् र हित्ती उरियाहको पत्‍नीलाई तेरो आफ्‍नो पत्‍नीको रूपमा लिएको छस्।' 11परमप्रभु भन्‍नुहुन्छ, 'हेर्, म तेरो आफ्नै घरानाबाट विपद् ल्‍याउने छु। तेरै आफ्‍नै आँखाको सामु तेरा पत्‍नीहरूलाई म लिने छु र ती तेरो छिमेकीलाई दिने छु, र दिनको उज्‍यालोमा त्यो तेरा पत्‍नीहरूसित सुत्‍ने छ। 12किनकि तैंले आफ्‍नो पाप गोप्‍य रूपमा गरिस्, तर म यो सारा इस्राएलको सामु घामको उज्यालोमा गर्ने छु’।” 13तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरेको छु।” नातानले दाऊदलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पापलाई हटाइदिनुभएको छ। तपाईंलाई मारिने छैन। 14तापनि, यो कामद्वारा तपाईंले परमप्रभुलाई तुच्‍छ तुल्‍याउनुभएको हुनाले, तपाईंबाट जन्म‍ने बालकचाहिं निश्‍चय नै मार्ने छ।” 15त्यसपछि नातान विदा भए र घर गए। उरियाहको पत्‍नीले दाऊदबाट जन्माएको बालकलाई परमप्रभुले प्रहार गर्नुभयो र त्यो गम्भीर बिरामी भयो। 16दाऊदले त्‍यो केटाको निम्‍ति परमप्रभुसँग बिन्ती गरे। दाऊद उपवास बसे र भित्र गए र रातभरि भुईंमा पल्टिरहे। 17तिनका घरानाका ठुलाहरू उठे र तिनलाई भुईंबाट उठाउन तिनको छेउमा खडा भए, तर तिनी उठेनन् र तिनले तिनीहरूसँग केही पनि खाएनन्। 18सातौं दिनमा त्‍यो बालक मर्‍यो। त्‍यो बालक मर्‍यो भनेर दाऊदका सेवकहरूले तिनलाई भन्‍न डराए, किनकि तिनीहरूले भने, “हेर्नुहोस्, त्‍यो बालक जीवितै हुँदा हामीले उहँसित बोल्‍यौं र उहाँले हाम्रा कुरा सुन्‍नुभएन। हामीले त्‍यो बालक मर्‍यो भन्यौं भने, उहाँले आफूलाई के गर्नुहोला?” 19तर जब दाऊदले आफ्‍ना सेवकहरूले आपसमा कानेखुसी गरिरहेको देखे, तब बालक मरेछ भनी दाऊदले थाहा पाए। तिनले आफ्ना सेवकहरूलाई भने, “के त्‍यो बालक मर्‍यो?” तिनीहरूले जवाफ दिए, “त्‍यो मर्‍यो।” 20तब दाऊद भुईंबाट उठे र आफू नुहाए, आफूलाई तेल घसे र आफ्‍ना लुगा फेरे। तिनी परमप्रभुको पवित्र वासस्थानमा गए र त्यहाँ आराधना गरे र त्‍यसपछि आफ्‍नो दरबारमा फर्केर आए। तिनले खाने कुराहरू मागेपछि, तिनीहरूले खाने कुरा दिए र तिनले खाए। 21तब तिनका सेवकहरूले तिनलाई भने, “तपाईंले किन यसो गर्नुभएको छ? त्‍यो बालक जिउँदो हुँदा तपाईं उपवास बस्‍नुभयो र रुनुभयो, तर जब बालक मर्‍यो, तब तपाईं उठ्नुभयो र खानुभयो।” 22दाऊदले जवाफ दिए, “बालक जीवित हुँदा म उपवास बसें र रोएँ। मैले भनें, 'कसले जान्दछ कतै परमप्रभु अनुग्रही हुनुहुने छ ताकि बालक बाँच्‍न सकोस्?' 23तर अब त्यो मर्‍यो, त्यसैले म किन उपवास बस्‍ने? के म त्यसलाई फेरि फर्काएर ल्याउन सक्छु र? म त्यसकहाँ जाने छु, तर त्यो मकहाँ फर्केर आउने छैन।” 24दाऊदले आफ्‍नी पत्‍नी बतशेबालाई सान्त्वना दिए र उनकहाँ गए र उनीसँग सुते। पछि उनले एउटा छोरा जन्माइन् र त्‍यो बालककको नाउँ सोलोमन राखियो। परमप्रभुले त्‍यसलाई प्रेम गर्नुभयो 25र तिनको नाउँ यददीयाह राख्‍नू भनी उहाँले नातान अगमवक्‍ताद्वारा सन्देश पठाउनुभयो, किनभने परमप्रभुले तिनलाई प्रेम गर्नुभयो। 26यति बेला योआबले अम्मोनीहरूको रब्बाको विरुद्ध युद्ध गरे र तिनले राजकीय सहर कब्जा गरे। 27त्यसैले योआबले दाऊदकहाँ दूतहरू पठाए र भने, “मैले रब्‍बाको विरुद्धमा युद्ध लडेको छु र मैले सहरको पानीको आपुर्तीलाई कब्जा गरेको छु। 28यसकारण बाँकी फौजलाई भेला गर्नुहोस् र यो सहर विरुद्ध छआउनी हाल्नुहोस् र यसलाई कब्जा गर्नुहोस्, किनकि मैले त्‍यो सहर लिएँ भने, त्‍यसलाई मेरो नाउँ दिइने छ। 29त्यसैले दाऊदले सबै फौजलाई एकसाथ भेला गरे र रब्बातिर गए। तिनले त्यो सहरको विरुद्ध युद्ध लडे र त्‍यो कब्जा गरे। 30दाऊदले तिनीहरूका राजाको शिरबाट शिरपेच लिए, यसको तौल एक तोडा सुन थियो, र त्‍यसमा बहुमूल्‍य पत्‍थरहरू थिए। त्यो शिरपेच दाऊदको आफ्नै शिरमा लगाइयो। त्‍यसपछि तिनले त्यस सहरको लुटका मालहरू ठुलो मात्रामा लिएर आए। 31तिनले त्यस सहरमा भएका मानिसहरूलाई लिएर आए, र तिनीहरूलाई आराहरू, फलामको हतियारको र बन्चरोको कामहरू गर्न बाध्य पारे। तिनले उनीहरूलाई इँटको भट्टाहरूमा काम गर्न लगाए। दाऊदले अम्‍मोनका मानिसहरूका सबै सहरलाई यो श्रमको काम गर्न लगाए। तब दाऊद र सबै फौज यरूशलेम फर्के।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।