सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

रोमी 2

यो अध्याय यसमा पर्छ: Iedereen heeft het nodig

1यसकारण, तिमीहरूलाई कुनै बहाना छैन। ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ। किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ। 2तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ। 3तर ए मानिस, यसलाई विचार गर कि तिमी आफैँले पनि त्यही गर्छौ यद्यपि तिमीले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ। के तिमी परमेश्‍वरको इन्साफबाट उम्कनेछौ र? 4अथवा के तिमी उहाँको कृपाको प्रशस्तता, उहाँको दण्डको ढिलाइ र उहाँको धैर्यलाई तुच्छ ठन्छौ? के उहाँको भलाइ तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याउनलाई हो भन्‍ने तिमीहरू जान्दैनौ? 5तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ। 6परमेश्‍वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः 7अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्‍जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ। 8तर आफ्नै मात्र भलाइ खोज्‍ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ। 9परमेश्‍वरले दुष्‍ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि अनि ग्रिकहरूमाथि। 10तर असल काम गर्नेहरूमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रिकहरूमाथि। 11किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न। 12किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन्। 13किनकि परमेश्‍वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्‍नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन्। 14किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन्। तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन। 15यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्‍ने देखाउँछ। तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैँलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ। 16अनि परमेश्‍वरप्रति पनि यही कुरो लागु हुन्छ। त्यो मेरो सुसमाचारअनुसार येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन हुनेछ। 17मानौँ, व्यवस्थामाथि भर परेर तिमी आफैँलाई यहूदी भन्छौ, परमेश्‍वरमा गर्वका साथ रमाउँछौ, 18उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर त्यसबाट फरक भएका कुराहरूको जाँच गर्दछौ। 19मानौँ, कि तिमी आफैँ अन्धाहरूका अगुवा हौ, र अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ, 20मूर्खलाई सुधार गर्ने, शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ। 21अनि तिमी जसले अरूलाई सिकाउँछौ, के तिमी आफैलाई चाहिँ सिकाउँदैनौ? तिमी जसले चोरी नगर्नू भनी सिकाउँछौ, के तिमी नै चोरी गर्छौ? 22तिमी जसले व्‍यभिचार नगर्नू भन्‍छौ, के तिमीले नै व्‍यभिचार गर्छौ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्‍दिरहरू लुट्छौ? 23तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्वका साथ रमाउँछौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ? 24किनकि जसो लेखिएको छ, “तिमीहरूले गर्दा गैरयहूदीहरूका माझमा परमेश्‍वरको नाउँको अनादर भएको छ।” 25यदि तिमीहरूले व्‍यवस्‍था पालन गर्छौ भने वास्‍तवमा खतनाले तिमीहरूलाई लाभ दिन्‍छ, तर यदि तिमीहरू व्‍यवस्‍था भङ्‌ग गर्नेहरू हौ भने, तिमीहरूको खतना बेखतना हुन्‍छ। 26यदि बेखतने व्यक्‍तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्‍यसको बेखतना खतना नै ठानिनेछैन र? 27यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पुरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित धर्मशास्‍त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो। 28किनकि त्यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो; न त केवल बाहिरी शरीरको खतना नै खतना हो। 29तर त्यही यहूदी हो जो भित्री रूपमा यहूदी हो र अक्षरमा होइन तर आत्‍माद्वारा हृदयको खतना नै खतना हो। यस्‍तो व्यक्‍तिको प्रशंसा मानिसबाट होइन, तर परमेश्‍वरबाट आउँछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।