सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

रोमी 1

यो अध्याय यसमा पर्छ: Opening en thema

1प्रेरित हुनको निम्ति बोलाइएका र सुसमाचारको कामको निम्ति अलग गरिएका, येशू ख्रीष्‍टका दास पावल। 2उहाँले आफ्ना अगमवक्‍ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्‍त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो। 3यो शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभएका उहाँका पुत्रको बारेमा हो। 4मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर उहाँलाई पवित्रताको आत्माद्वारा शक्‍तिशाली परमेश्‍वरका पुत्र हुन घोषणा गरिनुभएका उहाँ हाम्रा प्रभु येशू ख्रीष्‍ट हुनुहुन्छ। 5उहाँको नाउँको खातिर सबै जातिमाझ विश्‍वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौँ। 6यी जातिहरूमध्ये तिमीहरू पनि येशू ख्रीष्‍टका हुन बोलाइएका छौ। 7यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्‍वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ। हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस्। 8पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्‍टद्वारा म परमेश्‍वरलाई धन्यवाद चढाउँछु, किनकि तिमीहरूको विश्‍वास सारा संसारभरि घोषणा गरिएको छ। 9किनकि म तिमीहरूको नाउँ कत्तिको लिइरहन्छु भनी परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ। उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले (जोसका साथ) उहाँको सेवा गर्छु। 10परमेश्‍वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु। 11म तिमीहरूलाई भेट्ने इच्छा गर्छु, ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ। 12अर्थात् तिमीहरू र मेरो एक-अर्काका विश्‍वासद्वारा म पारस्परिक रूपमा प्रोत्साहित हुने उत्कट इच्छा गर्छु। 13मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरेँ भन्‍ने कुरामा तिमीहरू अनभिज्ञ होऊ भन्‍ने म चाहन्‍नँ, तर मलाई अहिलेसम्म रोकिएको छ। मैले बाँकी गैरयहूदीहरूका माझमा झैँ तिमीहरूका माझमा पनि केही फल पाउनको लागि यो चाहेको हुँ। 14म यहूदीहरू र विदेशीहरू, बुद्धिमान्‌हरू र मूर्खहरू दुवैप्रति ऋणी छु। 15त्यसैले, मेरो हकमा म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु। 16म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्‍वास गर्ने सबैको निम्ति परमेश्‍वरको मुक्‍तिको शक्‍ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति। 17किनकि यसैमा परमेश्‍वरको धार्मिकता विश्‍वासबाट विश्‍वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मीहरू विश्‍वासद्वारा नै जिउनेछन्।” 18किनभने सबै भक्‍तिहीनता र मानिसहरूको अधार्मिक्‍ता विरुद्ध परमेश्‍वरको क्रोध स्वर्गबाट प्रकट भएको छ जसले भक्‍तिहीनताद्वारा सत्यतालाई रोकेको छ। 19यो परमेश्‍वरबारे अज्ञात भएको कुरा तिनीहरूलाई दृश्‍य भएको हुनाले हो। किनभने परमेश्‍वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ। 20किनकि संसारको उत्‍पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्‍ट रूपमा दृश्‍य भएका छन्। ती सृजिएका थोकहरूद्वारा बुझिएका छन्। यी पक्षहरू उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभावहरू हुन्। परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन। 21यो तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो। बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए। 22तिनीहरूले बुद्धिमान्‌ भएको दाबी गरे, तापनि तिनीहरू मूर्ख नै भए। 23तिनीहरूले अविनाशी परमेश्‍वरको महिमालाई नाश हुने मानिस, चराचुरुङ्गी, चार खुट्टे जनावरहरू र घस्रने जन्तुहरूको प्रतिमासँग साटे। 24त्यसकारण, परमेश्‍वरले तिनीहरूलाई अशुद्धताको निम्ति अर्थात् तिनीहरूका बिचमा नै तिनीहरूका शरीरको अनादर होस् भनी तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो। 25परमेश्‍वरको सत्यतालाई झुटसँग साट्ने र सदासर्वदा प्रशंसा गरिनुपर्ने सृष्‍टिकर्तालाई आराधना गर्नुको सट्टा सृष्‍टि गरिएका थोकहरूको सेवा गर्ने तिनीहरू नै हुन्। आमेन। 26यसैले, परमेश्‍वरले तिनीहरूलाई लाजमर्दो अभिलाषाहरूमा छाडिदिनुभयो, किनकि तिनीहरूका स्‍त्रीहरूले प्राकृतिक स्वभावलाई प्रकृति विरुद्धको अस्वाभाविक कार्यहरूसँग साटे। 27त्यसै गरी, पुरुषहरूले पनि स्‍त्रीहरूसँगको स्वाभाविक कार्यलाई छोडे, र एक-अर्काप्रतिको कामुकताले जले। पुरुषहरूसँग अश्‍लील कार्य गर्ने र तिनीहरूका भ्रष्‍टताअनुसारको दण्ड पाउने पुरुषहरू यिनीहरू नै थिए। 28तिनीहरूको सजगतामा पनि तिनीहरूले परमेश्‍वर हुनुभएकोमा सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्‍ट मनमा छोडिदिनुभयो। 29तिनीहरू अधार्मिकता, दुष्‍टता, लालच, र द्वेषले भरिएका छन्। तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्‍ट विचारले पूर्ण छन्। 30तिनीहरू कुरौटे, निन्दा गर्ने, र परमेश्‍वरलाई घृणा गर्नेहरू हुन्। तिनीहरू हिंस्रक, घमण्डी र अहङ्कारी छन्। तिनीहरू दुष्‍ट थोकहरूका आविष्कारकहरू हुन् र आफ्ना आमाबुबाप्रति अनाज्ञाकारी भएका छन्। 31तिनीहरूमा समझ छैन, तिनीहरू अविश्‍वासयोग्य, स्वाभाविक प्रेमविनाका, र कृपारहित छन्। 32यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्‍ने परमेश्‍वरको नियमलाई तिनीहरू जान्दछन्। तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।