सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

लुका 19

यो अध्याय यसमा पर्छ: Reis naar Jeruzalem

1येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो। 2हेर, त्यहाँ जखायस नाउँ गरेका एक जना मानिस थिए। उनी कर उठनेहरूका मुख्य र धनी मानिस थिए। 3उनले येशू को हुनुहुन्छ भनी हेर्न कोसिस गरिरहेका थिए, तर भिडको कारणले गर्दा हेर्न सकेनन्, किनकि उनी होचा थिए। 4त्यसैले उनी भिडका मानिसहरूभन्दा अगाडि दौडे र उहाँलाई हेर्नको लागि नेभाराको रुखमा चढे, किनभने येशू त्यही बाटो भएर जाँदै हुनुहुन्थ्यो। 5जब येशू उनी भएको ठाउँ नजिक आइपुग्‍नुभयो, उहाँले मास्तिर हेरेर भन्‍नुभयो, “जखायस छिटो ओर्ली आऊ, किनकि आज मलाई तिम्रो घरमा बस्‍नु छ।” 6त्यसैले उनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे। 7जब तिनीहरू सबैले यो देखे, तब उनीहरूले यसो भन्दै गनगन गर्न थाले, “उहाँ पापी मानिसकहाँ बस्‍नको लागि जानुभयो।” 8जखायस खडा भएर भने, “हेर्नुहोस् प्रभु, मसँग भएका जे-जति छन् त्यसको आधा म गरिबहरूलाई दिनेछु र यदि मैले कसैलाई ठगेर कसैबाट केही कुरा लिएको छु भने त्यसको चार गुणा फिर्ता दिनेछु।” 9येशूले तिनलाई भन्‍नुभयो, “आज यो घरमा मुक्‍ति आएको छ, किनकि यिनी पनि अब्राहामका पुत्र हुन्। 10किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्‍न र बचाउनको लागि आएका हुन्।” 11तिनीहरूले यी कुरा सुन्दै गर्दा, उहाँले अर्को दृष्‍टान्त पनि भन्‍नुभयो, किनभने तिनीहरू यरूशलेमको नजिक थिए र तिनीहरूले परमेश्‍वरको राज्य तुरुन्तै देखा पर्न लागेको छ भन्‍ने सोचेका थिए। 12त्यसकारण, उहाँले भन्‍नुभयो, “एउटा भलादमी मानिस आफ्नो राज्य प्राप्‍त गर्नको निम्ति एउटा टाढा देशमा गएर फर्की आउनलाई गए। 13उनले आफ्ना दस जना नोकरलाई बोलाए र तिनीहरूलाई दस सिक्‍का दिँदै भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ।’ 14तर उनका मानिसहरूले घृणा गर्दै यसो भन्‍ने सन्देश दिएर दूतहरू पठाए, ‘यो मानिसले हामीमाथि शासन गरेको हामी चाहँदैनौँ।’ 15तब राज्य प्राप्‍त गरी फर्केर आएपछि उनले सिक्‍का पाएका नोकरहरूलाई बोलाए र तिनीहरूले व्यापारबाट कति आर्जन गरे भनेर जान्‍ने इच्छा गरे। 16पहिलो नोकर उनको अगाडि आयो र भन्यो, ‘मालिक, मैले तपाईंको सिक्‍काबाट अरू दस सिक्‍का कमाएँ।’ 17ती भलादमी मानिसले त्यसलाई भने, ‘स्याबास, असल नोकर। तिमी धेरै सानो कुरामा विश्‍वासयोग्य भयौ, त्यसकारण तिमीले दसवटा सहर अधिकार गर्नेछौ।’ 18दोस्रो नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्‍काबाट मैले पाँच सिक्‍का कमाएँ।’ 19ती भलादमी मानिसले त्यस नोकरलाई भने, ‘तिमीले पाँचवटा सहरमा राज्य गर्नेछौ।’ 20अनि अर्को नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्‍का यहाँ छ, जसलाई मैले कपडाभित्र सुरक्षितसाथ राखेको थिएँ। 21किनकि म डराएँ, किनभने तपाईं कठोर मानिस हुनुहुन्छ। तपाईंले जे राख्‍नुभएको छैन, त्यो कुरा लिनुहुन्छ र जे छर्नुभएको छैन, त्यही कटनी गर्नुहुन्छ।’ 22ती भलादमी मानिसले त्यसलाई भने, ‘तँ दुष्‍ट नोकर, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु। जहाँ राखेको छैन त्यहाँबाट लिन खोज्‍ने र जहाँ छरेको छैन त्यहाँबाट कटनी गर्न खोज्‍ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो। 23त्यसो भए, तैँले मेरो सिक्‍का किन बैङ्कमा राखिनस्, ताकि फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ?’ 24ती भलादमी मानिसले त्यहाँ उभिएका मानिसहरूलाई भने, ‘योसँग भएको सिक्‍का खोसेर जससँग दस सिक्‍का छ, त्यसलाई देओ।’ 25तिनीहरूले उसलाई भने, ‘मालिक उसँग त दस सिक्‍का छ।’ 26‘म तिमीलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइने छ, तर जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ। 27तर, मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ र मेरो अगाडि मार’।”

In Jeruzalem

28यी कुराहरू भनिसक्‍नुभएपछि, उहाँ यरूशलेमतिर जानुभयो। 29बेथफागे र बेथानियाबाट जैतून भनिने डाँडा नजिक पुग्‍नुभएपछि उहाँले आफना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो, 30“नजिकैको गाउँमा जाओ। त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ। त्यसलाई फुकाओ र मकहाँ ल्याओ। 31यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ?’ भनेर सोध्यो भने यसो भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ’।” 32पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्‍नुभएजस्तै बछेडो पाए। 33तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा, त्यसका मालिकले तिनीहरूलाई भने, “तिमीहरूले यस बछेडालाई किन फुकाउँदै छौ?” 34तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ।” 35तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले। 36उहाँ जाँदै गर्नुहुँदा, तिनीहरूले बाटोमा कपडा ओछ्याए। 37उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्‍नुहुँदा, उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे। 38तिनीहरूले यसो भन्‍न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन्! स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा!” 39त्यो भिडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने, “गुरुज्यू, तपाईंका चेलाहरू चुप बसून् भनी हप्काउनुहोस्।” 40येशूले जवाफ दिँदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, तिनीहरू चुप लागे भने, यी ढुङ्गाहरू नै कराउनेछन्।” 41जब येशू सहरको नजिक पुग्‍नुभयो, उहाँ त्यसलाई देखेर यसो भन्दै रुनुभयो, 42“यदि तैँले यो दिनको बारेमा थाहा पाएको भए, तँलाई शान्ति दिने कुरालाई जानेको भए! तर अहिले यी कुराहरू तेरो नजरबाट लुकाइएका छन्। 43किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन्। 44तिनीहरूले तँलाई र तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्‍वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्‍नलाई तैँले बुझिनस्। 45येशू मन्दिरभित्र छिर्नुभयो र त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो, 46“यसो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकुहरूको अड्डा बनाएका छौ।” 47येशूले मन्दिरमा दिनहुँ शिक्षा सिकाउनुहुन्थ्यो। मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धार्मिक अगुवाहरूले उहाँलाई मार्न चाहन्थे। 48तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

Statenvertaling (1637) · World English Bible (2000) · पवित्र बाइबल (2019): © 2019 Door43 World Missions Community, door43.org, via eBible.org. CC BY-SA 4.0; notes and headings omitted. · स्रोत र इजाजतपत्रहरू

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।