सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

लुका 22

यो अध्याय यसमा पर्छ: In Jeruzalem

1अखमिरी रोटीको चाड नजिक थियो, जसलाई निस्तार-चाड भनिन्छ। 2मुख्य पुजारीहरू र शास्‍त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए। 3बाह्र जनामध्ये एउटा यहूदा इस्करियोतमा शैतान पस्यो। 4येशूलाई कसरी तिनीहरूकहाँ सुम्पन सकिन्छ भन्‍ने बारेमा छलफल गर्न यहूदा मुख्य पुजारीहरू र कप्‍तानहरूसँगै गयो। 5तिनीहरू खुसी भए र उसलाई पैसा दिन सहमत भए। 6ऊ सहमत भयो र उसले उहाँलाई भिडबाट टाढा बनाएर तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्यो। 7अखमिरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार-चाडको थुमा बलिदान चढाउनै पर्थ्यो। 8येशूले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रो निम्ति निस्तार-चाडको भोज तयार पार, ताकि हामीले खान सकौँ।” 9तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्छ?” 10उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “सुन, जब तिमीहरू सहरभित्र पस्तछौँ, तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ। ऊ जाने घरभित्र उनलाई तिमीहरूले पछ्याओ। 11तब घरको मालिकलाई भन, गुरुले तपाईंलाई भन्‍नुहुन्छ, ‘पाहुना कोठा कहाँ छ, जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाड खानेछु?’ 12उनले तिमीहरूलाई एउटा ठुलो सजाइएको माथिल्लो तलाको कोठा देखाउनेछन्। त्यहीँ तयारी गर।” 13त्यसैले, तिनीहरू गए र उहाँले तिनीहरूलाई भनेझैँ हरेक थोक भेट्टाए। तब तिनीहरूले निस्तार-चाडको भोज तयार पारे। 14जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्‍नुभयो। 15तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले कष्‍ट भोग्‍नअगि तिमीहरूसँग निस्तार-चाड खाने ठुलो इच्छा गरेको छु। 16किनभने म तिमीहरूलाई भन्दछु, यो परमेश्‍वरको राज्यमा पुरा नभएसम्म मैले फेरि खानेछैनँ।” 17तब येशूले कचौरा लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, उहाँले भन्‍नुभयो, “यो लेऊ, र तिमीहरूका बिचमा बाँड। 18किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य नआएसम्म म फेरि अङ्गुरको फलको रस पिउनेछैनँ।” 19तब उहाँले रोटी लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, र उहाँले रोटी भाँच्‍नुभयो, र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ। मेरो सम्झनामा यो गर्ने गर।” 20भोज खानुभएपछि त्यसै गरी उहाँले कचौरा लिनुभयो र भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्छ। 21तर ध्यान देओ। मलाई धोखा दिनेचाहिँ यही टेबलमा नै छ। 22किनभने मानिसका पुत्र त निश्‍चय गरेअनुसार जानुपर्छ। तर त्यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्छ।” 23र तिनीहरूमध्ये कसले यो गर्ला भनी तिनीहरूबिच आफैँमा प्रश्‍न गर्न लागे। 24तब तिनीहरूमध्ये को सबैभन्दा ठुलो भन्‍नेबारे तिनीहरूबिच झगडा उब्जियो। 25उहाँले तिनीहरूलाई भन्‍नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँदछन्, र तिनीहरूमाथि अधिकार जमाउनेलाई आदरणीय शासकहरू भनिन्छ। 26तर तिमीहरूमा यस्तो हुनुहुँदैन। बरु, तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिँ सबैभन्दा सानोजस्तो होस्। र जो सबैभन्दा महत्त्‍वपूर्ण छ, त्यो सेवा गर्नेजस्तो होस्। 27किनभने टेबलमा खान बस्‍ने कि वा सेवा गर्ने कुनचाहिँ ठुलो हो? टेबलमा खान बस्‍ने होइन र? तर म त तिमीहरूका बिचमा एक सेवा गर्नेजस्तै छु। 28तर मेरो परीक्षामा निरन्तर मसँग रहने तिमीहरू नै हौ। 29जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको छ, म तिमीहरूलाई एउटा राज्य दिन्छु। 30मेरो राज्यमा तिमीहरूले मसँगै टेबलमा खान र पिउन सक्‍नेछौ। र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनमा बस्‍नेछौ। 31सिमोन, हे सिमोन, होसियार होऊ, शैतानले तिमीलाई हात पार्न खोज्यो ताकि उसले तिमीलाई गहुँलाई जस्तै निफन्‍न पाओस्। 32तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु, ताकि तिम्रो विश्‍वास नचुकोस्। तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाओ। 33पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग जेल र मृत्युसम्म जानको निम्ति तयार छु।” 34येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्दिनँ भनेर तिन पटक इन्कार नगरेसम्म, यो दिन भाले बास्‍नेछैन।” 35तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुरा, वा जुत्ताहरूविना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्‍यो र?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन।” 36तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर अहिले जोसँग पैसाको थैली छ, उसलाई बोक्‍न देऊ र खानेकुरा बोक्‍ने झोला पनि। जससँग तरवार छैन, त्यसले आफ्नो ओढ्ने बेचोस् र एउटा किनोस्। 37किनकि म तिमीहरूलाई भन्दछु, मेरो बारेमा जे लेखिएको छ त्यो पुरा हुनेछ, ‘र उसलाई दुष्‍टलाई जस्तै व्यवहार गरिनेछ। किनकि मेरो बारेमा जे अगमवाणी गरिएको छ त्यो पुरा भइरहेको छ।” 38तब तिनीहरूले भने, “प्रभु, हेर्नुहोस! यहाँ दुईवटा तरवार छन्।” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पर्याप्‍त छ।” 39भोजनपछि, येशूले प्रायः गर्नेजस्तै गर्नुभयो, उहाँ जैतून डाँडातिर जानुभयो, र चेलाहरूले उहाँलाई पछ्याए। 40जब तिनीहरू आइपुगे, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपर।” 41उहाँ तिनीहरूबाट टाढा ढुङगा फ्याक्‍न सकिने ठाउँसम्म जानुभयो, र उहाँले घुँडा टेकेर प्रार्थना गर्नुभयो, 42“हे पिता, यदि तपाईं चाहनुहुन्छ भने, यो कचौरा मबाट हटाइदिनुहोस्। तथापि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पुरा होस्।” 43तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँकहाँ देखा परे र उहाँलाई शक्‍ति दिए। 44पीडामा परेर पनि उहाँले जोसिलो प्रकारले प्रार्थना गर्नुभयो, अनि उहाँका पसिना रगतको ठुला-ठुला थोपाजस्तै भुइँमा खसिरहेका थिए। 45जब उहाँ प्रार्थना गरेर उठ्नुभयो, उहाँ चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूका दुःखको कारणले गर्दा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। 46र उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “किन तिमीहरू निदाइरहेका छौ? उठ र प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा पर्नु नपरोस्।” 47हेर, उहाँ बोलिरहनु हुँदा, बाह्र जनामध्ये एउटा अर्थात् यहूदाको अगुवाइमा एउटा भिड देखा पर्‍यो। ऊ येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो, 48तर येशूले उसलाई भन्‍नुभयो, “यहूदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्‍वासघात गर्दछौ?” 49जब येशूको वरिपरि भएकाहरूले जे भइरहेको थियो, त्यो देखे, तिनीहरूले भने, “प्रभु, के हामीले तरवारले प्रहर गर्नुपर्छ?” 50तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको नोकरलाई प्रहार गरे, र उसको दाहिने कान काटिदिए। 51येशूले भन्‍नुभयो, “यति नै हुनदेऊ।” र उहाँले उनको कान छुनुभयो, र निको पार्नुभयो। 52येशूले उहाँ विरुद्ध आउने मुख्य पुजारीहरू, मन्दिरको कप्‍तान र अगुवाहरूलाई भन्‍नुभयो, “के तिमीहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउँछौ? 53जब म तिमीहरूसँगै मन्दिरमा दिनहुँ हुँदा, तिमीहरूले ममाथि हात हालेनौँ। तर यो तिमीहरूको समय र अन्धकारको अधिकारको समय हो।” 54तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पुजारीको घरभित्र ल्याए। तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए। 55त्यसपछि तिनीहरूले आँगनको बिचमा आगो बाले र सँगै बसे, पत्रुस तिनीहरूका बिचमा बसे। 56पत्रुस आगोको उज्यालोमा बस्दा एउटी नोकर्नीले उनीतिर सोझै हेरेर भनी, “यी मानिस पनि उनीसँगै थिए।” 57तर पत्रुसले यसलाई इन्कार गर्दै भने, “नारी, म उहाँलाई चिन्दिनँ।” 58केही बेरपछि अरू कसैले देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्ये एक हौ।” तर पत्रुसले भने, “हे मानिस, म होइनँ।” 59लगभग एक घण्टापछि अर्को मानिसले जिद्दी गर्दै भन्‍यो, “साँच्‍चै यी मानिस पनि उनीसँगै थिए, किनभने उनी पनि एक गालीलबासी हुन्।” 60तर पत्रुसले भने, “हे मानिस, तिमीले के भनिरहेछौ, म जान्दिनँ।” र उनले बोल्दै गर्दा भाले तुरुन्तै बास्यो। 61प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो। र पत्रुसलाई उहाँले भन्‍नुभएको वचनलाई सम्झे, “भाले बास्‍नअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ।” 62पत्रुस बाहिर गएर धुरुधुरु रोए। 63तब येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई गिज्याए र कुटे। 64उहाँका आँखामा पट्टी बाँधेर, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “भविष्यवाणी गर्! तँलाई कुट्ने को हो?” 65येशूको विरुद्धमा तिनीहरूले अरू धेरै कुराहरू बोले र उहाँलाई ईश्‍वर-निन्दाको दोष लगाए। 66बिहान हुनेबितिकै, मुख्य पुजारीहरू र शास्‍त्रीहरू दुवै मानिसहरूका धर्म-गुरुहरू सँगै भेला भए। तिनीहरूले उहाँलाई परिषद्‍मा लगे र 67भने, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन्।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्‍वास गर्नुहुनेछैन, 68र मैले तपाईंहरूलाई सोधेँ भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन। 69तर अहिलेबाट, मानिसका पुत्र परमेश्‍वरको शक्‍तिको दाहिने हातपट्टि विराजमान हुनेछ।” 70तिनीहरू सबैले भने, “त्यसो भए के तँ परमेश्‍वरका पुत्र होस्?” र येशूले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरू नै भन्‍नुहुन्छ, म उही हुँ।” 71तिनीहरूले भने, “अब हामीलाई किन अझ साक्षीहरूको आवश्यक पर्छ र? किनभने हामी आफैँले उसको आफ्नै मुखबाट सुनिसक्यौँ।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।