सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

लुका 2

यो अध्याय यसमा पर्छ: Geboorteverhalen

1ती दिनहरूमा रोमी साम्राज्यभित्र बस्‍ने सबै जनाको जनगणना गर्नू भनी कैसर अगस्टसले उर्दी जारी गरे। 2कुरेनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो। 3त्यसैले, सबै जना आ-आफ्ना गाउँमा जनगणनाका लागि नाउँ दर्ता गर्न गए। 4योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेममा गए, जुन ठाउँ दाऊदको सहरको नामले चिनिन्‍थ्‍यो, किनभने उनी दाऊदको वंशका थिए। 5उनी मरियमसँगै दर्ता गर्न त्‍यहाँ गएका थिए, जससँग उनको मगनी भएको थियो र तिनले एउटा बालकको आशा गरेका थिए। 6तिनीहरू त्यहीँ छँदा मरियमको बालक जन्माउने समय आयो। 7उनले आफ्नो पहिलो छोरा जन्माइन्, र कपडाले बेह्रिन् अनि जनावरहरूले खाने ठाउँमा राखिन्। किनभने तिनीहरूका निम्ति धर्मशालामा कुनै ठाउँ थिएन। 8त्यस इलाकाको चौरमा राती आ-आफ्ना भेडाका रखवाली गर्दै गोठालाहरू बसिरहेका थिए। 9एक्‍कासि, तिनीहरूकहाँ परमप्रभुका एउटा दूत देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्किरहेको थियो, र तिनीहरू साह्रै भयभीत भए। 10तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ। 11आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्‍तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्‍ट प्रभु हुनुहुन्छ। 12तिमीहरूलाई चिह्नचाहिँ यो दिइएको छ, कि तिमीहरूले बालकलाई कपडाले बेह्रेरेर जनावरहरूलाई खुवाउने डुँडमा सुताइरहेको भेट्टाउनेछौ।” 13एक्‍कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्‍यो र तिनीहरूले यसो भन्‍दै परमेश्‍वरको प्रंशसा गरे। 14“सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ, तिनीहरूलाई शान्ति।” 15जब परमप्रभुका स्वर्गदूतहरू स्वर्ग फर्के, तब गोठालाहरूले एक-अर्कालाई भने, “परमप्रभुबाट हामीलाई प्रकट गरिएको र घटेको यस घटनालाई बताउन बेथलेहेममा जाऊँ र हेरौँ।” 16तब तिनीहरू हतार-हतार गर्दै त्यहाँ गए, अनि योसेफ र मरियमलाई भेटे। तिनीहरूले बालकलाई दाना खुवाउने डुँडमा सुताइरहेको देखे। 17तिनीहरूले यसलाई देखे पछि, बालकको बारेमा बताइएका सबै कुरा मानिसहरूलाई बताए। 18गोठालाहरूद्वारा भनिएका कुरा सुन्‍नेहरू जति सबै जना आश्‍चर्य चकित भए। 19तर मरियमले सुनेका सबै कुराहरूको बारेमा सोच्दै गरिन् र उनले आफ्नो मनमै राखिन्। 20तिनीहरूलाई भनेअनुसार सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्‍वरलाई महिमा दिँदै र प्रशंसा गर्दै फर्के। 21जब आठौँ दिन भयो, तब बालकको खतना गर्ने समय भयो। तिनीहरूले उहाँको नाउँ येशू राखे, जुन नाउँ स्वर्गदूतद्वारा उहाँ गर्भधारण हुनुभन्दा अगि दिइएको थियो। 22मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, योसेफ र मरियमले सानो बालकलाई परमप्रभुको उपस्थितिमा यरूशलेममा ल्याए। 23परमप्रभुको व्यवस्थामा लेखिएझैँ “पहिलो जन्मेको प्रत्येक पुरुष परमप्रभुमा अर्पण गर्नुपर्थ्यो।” 24तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार “एक जोडी ढुकुर र दुईवटा परेवा बलिदान चढाउन लिएर आए।” 25हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका व्यक्‍ति थिए। उनी धर्मी र ईश्‍वरभक्‍त मानिस थिए। उनले इस्राएलका सान्त्वना दाताको प्रतीक्षा गरिराखेका थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्‍यो। 26पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म उनको मृत्यु हुनेछैन। 27एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाइमा आए। व्यवस्थाले जे माग गरेको थियो, त्यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो। 28त्यसपछि शिमियोनले बालक येशूलाई काखमा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने, 29“तपाईंको वचनअनुसार, अब हे परमप्रभु, आफ्ना दासलाई शान्‍तिसँग बिदा दिनुहोस्। 30किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्, 31जुन तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार गर्नुभएको छ। 32तपाईंका जन इस्राएलीहरूका महिमा र अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ।” 33बालकका बुबाआमा बालकका विषयमा भनिएका कुरामा अचम्मित भए। 34त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, “होसियारीसँग सुन, यो बालक इस्राएलमा धेरैको उत्थान र पतनका निम्ति र धेरैको विरुद्धमा बोलिने चिह्नको निम्ति नियुक्‍त गरिएको छ। 35साथै तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ, ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन्।” 36एक जना हन्‍ना नामकी अगमवादिनी पनि त्यहाँ थिइन्। उनी आशेर कुलकी फनुएलकी छोरी थिइन्। उनी धेरै वृद्ध भइसकेकी थिइन्। विवाहपछि उनी जम्मा सात वर्ष आफ्ना पतिसँग बसेकी थिइन्। 37त्यसपछि उनी चौरासी वर्ष विधवा नै रहिन्। उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना र उपवास गर्दै परमेश्‍वरको आराधना गर्दै रहिन्। 38त्यही समयमा उनी त्यहाँ आइन् र परमेश्‍वरलाई धन्यवाद चढाउन थालिन्। यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई उनले बालकको बारेमा बताइन्। 39परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, उनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के। 40बालक बुद्धिमा र कदमा बढ्दै जानुभयो, र परमप्रभुको अनुग्रह उहाँमाथि थियो। 41उहाँका आमाबुबा निस्तार-चाड मनाउनका निम्ति हरेक वर्ष यरूशलेममा जान्थे। 42जब उहाँ बाह्र वर्षको हुनुहुन्‍थ्‍यो, तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए। 43चाडका पुरा दिनहरू त्यहाँ बिताएपछि तिनीहरू आफ्ना घर फर्किन थाले, तर बालक येशू यरूशलेममा नै रहनुभयो जुन कुरा उहाँका बुबाआमालाई थाहा थिएन। 44तर तिनीहरूले बालक येशू यात्रीहरूकै दलमा हुनुहुन्छ भनी विचार गरे र एक दिनको यात्रा गरी सिद्धायाए। त्यसपछि उनीहरूले उहाँलाई नातेदार र साथीहरूको बिचमा खोज्‍न थाले। 45जब उनीहरूले उहाँलाई भेट्टाएनन्, यरूशलेममा फर्केर उहाँलाई खोज्‍न थाले। 46तिन दिनपछि, उनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा सुन्दै र तिनीहरूलाई प्रश्‍न गर्दै गरेको भेट्टाए। 47जतिले उहाँका कुरा सुन्थे, उहाँको समझशक्‍ति र जवाफमा आश्‍चर्य चकित हुन्थे। 48जब उनीहरूले उहाँलाई देखे, तब अचम्मित भए। उहाँकी आमा मरियमले उहाँलाई भनिन् “छोरा, किन तिमीले हामीसँग यस्तो व्यवहार गर्‍यौ? सुन! तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौँ।” 49उहाँले उनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनुभएको? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा छैन?” 50तर उहाँले उनीहरूलाई के भन्‍नुभएको थियो भनी उनीहरूले बुझ्‍न सकेनन्। 51त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र आज्ञाकारी भई रहनुभयो। उहाँकी आमाले यी सबै कुरा मनमै राखिन्। 52तर येशू बुद्धिमा, कदमा र परमेश्‍वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।