सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

लुका 9

यो अध्याय यसमा पर्छ: In Galilea

1उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने अधिकार र शक्‍ति दिनुभयो। 2उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो। 3उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यात्राका निम्ति केही नलैजाओ न त लौरो, न त थैली, न त रोटी, न त पैसा, न त दुईवटा दौरा लैजाओ। 4तिमीहरू जुन घरमा पस्छौ, त्यस ठाउँलाई नछोडेसम्म त्यहीँ बस। 5कसैले तिमीहरूलाई ग्रहण गर्दैन भने, जब तिमीहरू त्यस सहरलाई छोडछौ, तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलोसमेत टकटकाइदेओ।” 6तब तिनीहरू सुसमाचारको घोषणा गर्दै हिँडे र हरेक ठाउँका रोगी मानिसहरूलाई निको पार्दै गाउँहरूतिर गए। 7अनि शासक हेरोदले जे भइरहेको थियो, त्यो सुनेर उनी अन्योलमा परे, कारण बप्‍तिस्मा-दिने यूहन्‍ना जीवित भएका छन् भनेर कसैले उनलाई सुनाइदिएको थियो। 8र कसैले एलिया देखा परेका छन्, र अरूहरूले पुराना अगमवक्‍ताहरूमध्ये एक जना फेरि पुनर्जीवित भएका छन् भने। 9हेरोदले भने, “मैले यूहन्‍नाको टाउको काटेँ, तर यो को हो जसको बारेमा म यस्तो कुरा सुन्दै छु?” र हेरोदले येशूलाई हेर्ने बाटो खोज्‍ने कोसिस गरे। 10जब पठाइएकाहरू फर्केर आए, तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए। तिनीहरूलाई उहाँसँगै लगेर, बेथसेदा भनिने सहरमा आफैँ तिनीहरूसँग जानुभयो। 11तर भिडले यो सुन्यो र उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो र जसलाई निको हुन आवश्यक थियो, तिनीहरूलाई निको पार्नुभयो। 12दिन ढल्किन लाग्दा बाह्रै जना उहाँकहाँ आए र भने, “यस भिडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले गाउँहरूतिर र वरिपरिका ठाउँहरूमा गएर बास बस्‍न र खान पाउन सकून्, किनकि हामी यहाँ मरुभूमिको ठाउँमा छौँ।” 13तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन। मानिसहरूको यो ठुलो भिडलाई गएर खाना किन्‍नबाहेक अर्को उपाय छैन।” 14त्यहाँ पाँच हजारभन्दा बढी मानिस थिए। उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्‍न लगाओ।” 15अनि तिनीहरूले त्यसै गरे, र सबै मानिसहरू बसे। 16उहाँले पाँचवटा रोटी र दुईवटा माछालाई हातमा लिनुभयो र स्वर्गतिर आँखा उठाउँदै, तिनीहरूलाई आशीर्वाद दिनुभयो, र तिनलाई भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भिडको सामु बाँड्नलाई चेलाहरूलाई दिनुभयो। 17तिनीहरू सबैले खाए र सन्तुष्‍ट भए र उब्रेका सबै रोटीका टुक्राहरू बटुले र बाह्र डाला भरे। 18जब उहाँ एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू पनि उहाँसँग थिए। उहाँले तिनिहरूलाई प्रश्‍न गर्दै भन्‍नुभयो, “भिडले म को हुँ भनी भन्दछ?” 19तिनीहरूले जवाफ दिँदै भने, “बप्‍तिस्मा-दिने यहून्‍ना, तर अरूले भन्छन् एलिया र अरूहरूले फेरि उदाएका पुरानो समयका एक जना अगमवक्‍ता हुन् भनी भन्दछन्।” 20उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भनी भन्दछौ?” पत्रुसले जवाफ दिँदै भने, “परमेश्‍वरबाट आउनुभएका ख्रीष्‍ट।” 21तर तिनीहरूलाई चेताउनी दिँदै येशूले तिनीहरूलाई यो कसैलाई पनि नभन्‍नू भनी शिक्षा दिनुभयो। 22निश्‍चय नै मानिसका पुत्रले धेरै कुरामा दुख सहनु, बुढापाकाहरू, मुख्य पुजारीहरू र शास्‍त्रीहरूबाट तिरष्कृत हुनु छ र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवनमा फर्की आउनेछन्। 23उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफैँलाई इन्कार गरोस्, दिनहुँ आफ्नो क्रुस उठाओस् र मलाई पछ्याओस्। 24जसले आफ्नो जीवनलाई बचाउने प्रयास गर्दछ, उसले त्यसलाई गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ। 25सारा संसार हात पारेर पनि उसले आफैँलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्छ र? 26जो मेरा वचनहरू र मसँग शर्माउँछ, महिमाका पिता र पवित्र दूतहरूका सामु मानिसका पुत्र पनि आफ्नो महिमामा आउँदा तिनीहरूसँग शर्माउँनेछन्। 27तर म तिमीहरूलाई साँचो भन्दछु, यहाँ तिमीहरूमध्ये उभिनेहरू कोही छन् जसले मृत्युको स्वाद चाख्‍नअगि परमेश्‍वरको राज्य देख्‍नेछैनन्। 28लगभग आठ दिनपछि येशूले उहाँसँग प्रार्थना गर्न पत्रुस, यूहन्‍ना र याकूबलाई सँगै लिएर जाँदा यी कुराहरू भन्‍नुभएको थियो। 29जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहार परिवर्तन भयो, र उहाँको वस्‍त्र सेतो र चम्किलो भयो। 30हेर, त्यहाँ दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए! तिनीहरू मोशा र एलिया थिए, 31जो महिमित देखिए। तिनीहरू उहाँको उठाइबारे कुरा गरिरहेका थिए, जुन यरूशलेममा पुरा हुन लागेको थियो। 32अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए। तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँसँगै उभिरहेका दुई जना मानिस र उहाँको महिमालाई देखे। 33तिनीहरू येशूबाट टाढा जाँदै गर्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहाँ तिन वटा टहरा बनाऔँ, यो हाम्रो लागि असल छ। एउटा तपाईंको लागि, अर्को मोशाको लागि र एउटा एलियाको लागि।” उहाँले केको बारेमा भन्दै हुनुहुन्थ्यो भन्‍ने कुरा उनले बुझेनन्। 34जब तिनले यी कुराहरू भन्दै थिए, बादल आयो र तिनीहरूलाई ढाक्यो र तिनीहरूका वरिपरि बादलले ढाकेको देखेर तिनीहरू अत्तालिए। 35बादलबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा चुनिएका पुत्र हुन्। यिनको कुरा सुन।” 36जब त्यो आवाज बन्द भयो, येशू एकलै हुनुभयो। तिनीहरू चुप भए र ती दिनमा जुन कुरा तिनीहरूले देखेका थिए, कसैलाई पनि भनेनन्। 37तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भिडले उहाँलाई भेट्यो। 38हेर, भिडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म बिन्ती गर्छु, कि तपाईंले मेरो छोरालाई हेर्नुहोस्, किनभने ऊ मेरो एउटै मात्र छोरा हो। 39हेर्नुहोस, उसलाई आत्माले समात्छ, र ऊ अचानक चिच्‍च्‍याउँछ, यसले उसको मुखमा फिज काढेर उसलाई काम्‍न लगाउँछ। यो उसबाट मुस्किलले जान्छ, जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ। 40मैले ऊबाट यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।” 41येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “हे अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म तिमीहरूसँग कति समयसम्म रहनु र तिमीहरूलाई सहनु? तिम्रो छोरालाई यहाँ लेऊ।” 42त्यो केटो आउँदै थियो, भूतले उसलाई भुइँमा पछार्‍यो, र भयानक तवरले कमायो। तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटालाई निको पार्नुभयो र उसको बुबालाई फिर्ता दिनुभयो। 43तिनीहरू परमेश्‍वरको महानतामा चकित भए। तर सबै जना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, 44“यी वचनहरू तिमीहरूका कानका गहिराइसम्म पुगून्, किनभने, मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन्।” 45तर तिनीहरूले यस भनाइलाई बुझेनन् र यो तिनीहरूबाट लुकाइएको थियो। त्यसैले, तिनीहरूले यसलाई बुझ्‍न सकेनन्। तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्‍न डराए। 46तब तिनीहरूबिच सबैभन्दा ठुलो को हुने हो भनी विवाद चल्यो। 47तर येशूले तिनीहरूले हृदयमा के विचार गरिरहेका छन् भन्‍ने थाहा पाएर उहाँले एउटा बालकलाई लिएर उहाँको छेउमा राख्‍नुभयो, 48र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मेरो नाउँमा सानो बालकलाई झैँ ग्रहण गर्छ भने उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, उसले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्दछ। किनभने तिमीहरूमध्ये सबैभन्दा सानो नै सबैभन्दा महान् हो।” 49यूहन्‍नाले जवाफ दिए र भने, “प्रभु, हामीले कसैले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौँ। र उसलाई हामीले रोक्यौँ, किनकि उसले हामीलाई पछ्याएन।” 50तर येशूले तिनलाई भन्‍नुभयो, “उसलाई नरोक, किनभने जो तिम्रो विरुद्धमा हुँदैन, त्यो तिम्रो पक्षमा हुन्छ।” 51जब उहाँ स्वर्गतिर जाने समय नजिक आउँदै थियो, उहाँले यरूशलेमतिर जाने अठोट लिनुभयो। 52उहाँले आफूभन्दा अगि सन्‍देशवाहकहरूलाई पठाउनुभयो र तिनीहरू गए र उहाँका निम्ति तयारी गर्ने सामरीहरूको गाउँमा प्रवेश गरे। 53तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरूशलेमतिर जाने अठोट लिनुभएको थियो। 54जब उहाँका चेलाहरू यूहन्‍ना र याकूबले यो देखे, तिनीहरूले भने, “प्रभु के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्‍ट गर्न हामी आज्ञा गरौँ?” 55तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो। 56तब उहाँहरू अर्को गाउँतिर जानुभयो। 57जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो, तब कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई पछ्यानेछु।” 58येशूले उसलाई भन्‍नुभयो, “फ्याउराहरूका दुला छन् र आकासका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको टाउको लुकाउने ठाउँ पनि छैन।” 59तब उहाँले अर्को मानिसलाई भन्‍नुभयो, “मेरो पछि लाग।” तर उसले भन्यो, “प्रभु, मलाई पहिले मेरा बुबालाई गाड्न दिनुहोस्।” 60तर उहाँले उसलाई भन्‍नुभयो, “मृतकहरूलाई नै तिनीहरूको मृत शरीर गाड्न देऊ, तर तिमी जाऊ र जताततै परमेश्‍वरको राज्यको घोषणा गर।” 61अर्को मानिसले पनि भन्यो, “प्रभु म तपाईंलाई पछ्याउँछु, तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्‍न दिनुहोस्।” 62तर येशूले उसलाई भन्‍नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्‍वरको राज्यको योग्य हुँदैन।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।