सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

विलाप 2

यो अध्याय यसमा पर्छ: Gods toorn

1परमप्रभुले सियोनकी छोरीलाई आफ्नो रिसको बादलमुनि ढाक्‍नुभएको छ। उहाँले इस्राएलको गौरवलाई स्वर्गबाट तल पृथ्वीमा फ्याँकिदिनुभएको छ। आफ्नो रिसको दिनमा उहाँले आफ्नो पाउदानको सम्झना गर्नुभएको छैन। 2परमरप्रभुले याकूबका सबै नगरलाई स्वाहा पार्नुभएको छ, र तिनलाई दया देखाउनुभएको छैन। उहाँको रिसको दिनमा उहाँले यहूदाकी छोरीका किल्लाबन्दी गरिएका सहरहरू भत्काइदिनुभएको छ। उहाँले राज्य र यसका शासकहरूलाई अपमानमा भुइँ ढाल्नुभएको छ। 3भयङ्कर रिसले उहाँले इस्राएलको हरेक सिङ काटिदिनुभएको छ। उहाँले शत्रुकै सामुन्‍ने आफ्नो दाहिने हात हटाउनुभएको छ। उहाँले याकूबलाई चारैतिर भस्म गर्ने दन्कँदो आगोले जलाउनुभएको छ। 4शत्रुले झैँ उहाँले धनु हामीतिर उठाउनुभएको छ। उहाँको दाहिने हात हान्‍नलाई तयार छ। सियोनकी छोरीको पालमा उहाँले आफूलाई प्रिय लाग्‍ने सबैलाई मार्नुभएको छ। उहाँले आफ्नो क्रोध आगोझैँ खन्याउनुभएको छ। 5परमप्रभु शत्रुझैँ हुनुभएको छ। उहाँले इस्राएललाई निल्नुभएको छ। उहाँले त्यसका सबै महललाई निल्नुभएको छ। उहाँले त्यसका किल्लाहरूलाई नष्‍ट पार्नुभएको छ। उहाँले यहूदाकी छोरीमा शोक र विलाप बढाउनुभएको छ। 6उहाँले आफ्नो पवित्र वासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ आक्रमण गर्नुभएको छ। उहाँले पवित्र सभाको स्थानलाई नष्‍ट गर्नुभएको छ। परमप्रभुले सियोनमा पवित्र सभा र शबाथ दुवैलाई बिर्सन लगाउनुभएको छ, किनकि उहाँले आफ्नो भयानक रिसमा राजा र पुजारी दुवैलाई तिरस्कार गर्नुभएको छ। 7परमप्रभुले आफ्नो वेदीलाई तिरस्कार गर्नुभएको छ, र पवित्र वासस्थानलाई त्यागिदिनुभएको छ। उहाँले त्यसका महलहरूका पर्खालहरू शत्रुको हातमा सुम्पिदिनुभएको छ। तोकिएको चाडको दिनमा जस्तै तिनीहरूले परमप्रभुको मन्दिरमा विजयको ध्वनि लगाएका छन्। 8परमप्रभुले सियोनकी छोरीको सहरको पर्खाललाई नष्‍ट गर्ने निधो गर्नुभयो। उहाँले नाप्‍ने फित्ता तन्काउनुभयो, र पर्खाललाई नष्‍ट गर्नबाट आफ्नो हात रोक्‍नुभएको छैन। उहाँले गढी र पर्खाललाई विलाप गर्न लगाउनुभयो। ती सँगसँगै भत्के। 9त्यसका मूल ढोकाहरू भुइँमा ढलेका छन्। उहाँले त्यसका मूल ढोकाका गजबारहरू नष्‍ट गर्नुभएको छ, र भाँच्नुभएको छ। त्यसका राजा र राजकुमारहरू जाति-जातिहरूका बिचमा छन्, र व्यवस्था रहँदैन, अनि त्यसका अगमवक्ताहरूले परमप्रभुबाट कुनै दर्शन पाउँदैनन्। 10सियोनकी छोरीका धर्म-गुरुहरू चुप लागेर भुइँमा बस्छन्। तिनीहरूले आ-आफ्ना शिरमा धूलो हालेका छन्, र भाङ्ग्रा लगाएका छन्। यरूशलेमका कन्याहरूले भुइँमा आ-आफ्ना शिर झुकाएका छन्। 11तिनीहरूको आँसुले मेरा आँखा टट्टाइसक्यो। मेरो पेट हुँडल्छ। मेरा मानिसहरूकी छोरीको विनाशको कारण मेरा मेरो हृदय छियाछिया भयो। बालबच्‍चा र दुधे बालकहरू सहरका सडकहरूमा मुर्छा खान्छन्। 12तिनीहरूले आफ्ना आमाहरूलाई भन्छन्, “अन्‍न र दाखमद्य कहाँ छन्?” तिनीहरू सहरका सडकहरूमा घाइतेझैँ मुर्छा पर्दा तिनीहरूका प्राण तिनीहरूका आमाहरूको काखमा शिथिल हुन्छन्। 13हे यरूशलेमकी छोरी, म तँलाई के भनूँ? हे सियोनकी छोरी, तँलाई सान्त्वना दिन तँलाई म केसित तुलना गरूँ? तेरो घाउ समुद्रजस्तै विशाल भएको छ। कसले तँलाई निको पार्न सक्छ? 14तेरा अगमवक्ताहरूले तेरो लागि झुटा र बेकम्मा दर्शनहरू देखेका छन्। तेरो सुदिन पुनर्स्थापित गर्न तिनीहरूले तेरो अधर्मको पर्दाफास गरेका छैनन्, तर तिनीहरूले तँलाई झुटा र गलत वचनहरू दिएका छन्। 15यस सडक भएर जानेहरू सबैले तँलाई देखेर थपडी मार्छन्। यरूशलेमकी छोरीको विरुद्धमा तिनीहरूले गिल्ला गर्छन्, र आफ्ना शिर हल्लाउँछन्, अनि भन्छन्, “के यो त्यही सहर हो जसलाई तिनीहरूले 'परम सुन्दरी' र 'सारा पृथ्वीको आनन्द' भन्थे?” 16तेरा सबै शत्रुले तेरो विरुद्धमा तिनीहरूका मुख खोल्छन्। तिनीहरूले खिसी गरेर रिसमा आफ्ना दाह्रा किट्छन्, र भन्छन्, “हामीले त्यसलाई निलेका छौँ। हामी यही दिनको प्रतीक्षामा थियौँ। यही हेर्न हामी बाँचेका छौँ।” 17परमप्रभुले जे गर्ने योजना बनाउनुभयो, त्यही गर्नुभएको छ। उहाँले आफ्नो वचन पुरा गर्नुभएको छ। उहाँले दया नदेखाइकन तँलाई फ्याँकिदिनुभएको छ, किनकि उहाँले तँलाई देखेर तेरो शत्रुलाई रमाउने अनुमति दिनुभएको छ। उहाँले तेरा शत्रुहरूको सिङ उठाउनुभएको छ। 18हे सियोनकी छोरीका पर्खालहरू हो, तिनीहरूका हृदयले परमप्रभुलाई पुकारे। दिनरात नदीझैँ तेरा आँसु बगा। कत्ति पनि विश्राम नले; तेरा आँखालाई विश्राम नदे। 19रातको हरेक पहरको सुरुमा उठेर चिच्‍च्या। परमप्रभुको मुहारको सामुन्‍ने तेरो हृदय पानीझैँ खन्या। हरेक सडकको कुनामा भोकले मुर्छा पर्ने तेरा बालबच्‍चाका प्राणको लागि तेरा हात उहाँतिर उठा। 20हे परमप्रभु, हेर्नुहोस्, र यसरी व्यवहार गर्नेहरूलाई विचार गर्नुहोस्। के स्‍त्रीहरूले आफ्नै गर्भको फल अर्थात् आफैले जन्माएका बालबच्‍चालाई खाने? के पुजारी र अगमवक्ता परमप्रभुको पवित्र वासस्थानमा मारिने? 21युवाहरू र पाकाहरू सडकहरूका धूलोमा पस्रिन्छन्। मेरा युवतीहरू र युवाहरू तरवारले ढालिएका छन्। तिनीहरूलाई दया नदेखाइकन तपाईंले तिनीहरूलाई मार्नुभएको छ। 22चाडको दिनमा मानिसहरू भेला गरेँझैँ तपाईंले मेरो हरेक किनारामा मेरा त्रासहरूलाई बोलाउनुभएको छ। परमप्रभुको रिसको दिनमा कोही पनि उम्केन वा बाँचेन। मैले वास्ता गरेका र हुर्काएकाहरूलाई मेरो शत्रुले नष्‍ट पारेको छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।