सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

विलाप 1

यो अध्याय यसमा पर्छ: Eenzaam zit de stad

1एक पटक मानिसहरूले भरिपूर्ण सहर अहिले सुनसान बसिरहेको छ। त्यो शक्तिशाली जाति भए तापनि विधवाजस्तै भएको छ। त्यो जाति-जातिहरूका बिचमा राजकुमारीजस्तै थियो, तर अहिले जबरजस्ती दासत्वमा लगिएको छ। 2त्यो रातमा रुन्छ र विलाप गर्छ, अनि त्यसको आँसुले गला भरिन्छ। त्यसको कुनै पनि प्रेमीले त्यसलाई सान्त्वना दिँदैन। त्यसका सबै मित्रले त्यसलाई धोका दिएका छन्। तिनीहरू त्यसका शत्रुहरू भएका छन्। 3गरिबी र वेदनापछि यहूदा निर्वासनमा गएको छ। त्यो जाति-जातिहरूका बिचमा बस्छ, र त्यसले चैन पाउँदैन। त्यसलाई खेद्‍नहरू सबैले त्यसको घोर निराशामा त्यसलाई पक्रे। 4सियोनका सडकहरूले शोक गर्छन्, किनकि कुनै पनि तोकिएका चाडहरूमा आउँदैन। त्यसका सबै मूल ढोका उजाड भएका छन्। त्यसका पुजारीहरू सुस्केरा हाल्दछन्। त्यसका कन्याहरू शोकित छन्, र त्यो आफै नै बिलकुल निराशामा छ। 5त्यसका वैरीहरू त्यसको मालिक भएका छन्। त्यसका शत्रुहरूको उन्‍नति हुन्छ। त्यसका धेरै पापको कारण परमप्रभुले त्यसलाई कष्‍ट दिनुभएको छ। त्यसका स-साना बालबच्‍चाहरू त्यसको वैरीकहाँ निर्वासनमा जान्छन्। 6सौन्दर्यले सियोनकी छोरीलाई छोडेको छ। त्यसका राजकुमारहरू खर्क पाउन नसक्‍ने मृगहरूजस्तै भएका छन्, र तिनीहरू दुर्बल भएर तिनीहरूलाई खेद्‍नेको अगिअगि भाग्छन्। 7त्यसले कष्‍ट पाएको र घरवारविहीन भएको दिनमा यरूशलेमले आफूसित अगिल्ला दिनमा भएका त्यसका सबै बहुमूल्य खजानाहरूलाई सम्झने छ। त्यसका मानिसहरू वैरीको हातमा पर्दा कसैले त्यसलाई सहायता गरेन। वैरीहरूले त्यसलाई देखे, र त्यसको विनाशमा हाँसे। 8यरूशलेमले घोर पाप गर्‍यो। त्यो अशुद्ध वस्तुजस्तै तिरस्कृत भएको छ। त्यसलाई आदर गर्ने सबैले अहिले त्यसलाई तिरस्कार गर्छ, किनकि तिनीहरूले त्यसको नग्‍नता देखेका छन्। त्यसले सुस्केरा हाल्छ, र भाग्‍ने कोसिस गर्छ। 9त्यसको फरियाभित्र त्यो अशुद्ध भएको छ। त्यसले आफ्नो भविष्यको विषयमा सोचेन। त्यसको पतन डरलाग्दो थियो। त्यसलाई सान्त्वना दिने कोही थिएन। त्यो चिच्‍च्यायो, “हे परमप्रभु, मेरो कष्‍टलाई हेर्नुहोस्, किनकि शत्रु अति महान् भएको छ।” 10वैरीले हाम्रा सबै बहुमूल्य खजानामा आफ्नो हात हालेको छ। तपाईंको पवित्र सभामा जाति-जातिहरू प्रवेश गर्नुहुँदैन भनी तपाईंले आज्ञा दिनुभए तापनि त्यसले आफ्नो पवित्रस्थानमा तिनीहरू प्रवेश गरेको देखेको छ। 11त्यसका सबै मानिसले रोटीको खोजी गर्दा तिनीहरू सुस्केरा हाल्छन्। आफ्ना प्राण बचाउनलाई खानाको लागि तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू दिएका छन्। हे परमप्रभु, हेर्नुहोस्, र मलाई विचार गर्नुहोस्, किनकि म बेकम्मा भएको छु। 12यताबाट भएर जाने तिमीहरू सबैलाई के यसको वास्ता छैन? मलाई दिइएको शोकजस्तै कसैको शोक छ कि छैन भनेर हेर र विचार गर, किनकि परमप्रभुले आफ्नो भयङ्कर क्रोधको दिनमा मलाई यातना दिनुभएको छ। 13उहाँले उच्‍चबाट मेरा हड्‍डीमा आगो सल्काउनुभएको छ, र यसले तिनलाई जितेको छ। उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको छ, र मलाई फर्काउनुभएको छ। उहाँले मलाई निरन्तर रूपमा उजाड र कमजोर बनाउनुभएको छ। 14मेरा आज्ञा उल्लङ्घनहरूको जुवालाई उहाँको हातद्वारा बाँधिएको छ। ती सँगसँग बाँधिएर मेरो काँधमा राखिएका छन्। उहाँले मेरो बललाई असफल तुल्याइदिनुभएको छ। परमप्रभुले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, र म खडा हुन सक्दिनँ। 15मेरो प्रतिरक्षा गर्ने मेरा सबै शक्तिशाली मानिसलाई परमप्रभुले एकातिर फ्याँकिदिनुभएको छ। मेरा हट्टाकट्टा मानिसहरूलाई धूलोपिठो पार्न उहाँले मेरो विरुद्धमा सभा बोलाउनुभएको छ। परमप्रभुले यहूदाका कन्या-छोरीहरूलाई दाखको कोलमा कुल्चिमिल्ची पार्नुभएको छ। 16यिनै कुराहरूको लागि म रुन्छु; मेरा आँखा आँसुको धारा बहन्छ। किनकि मलाई सान्त्वना दिने र मेरो जीवनलाई पुनर्स्थापित गर्ने मबाट निकै टाढा छ। शत्रुले मलाई परास्त गरेकोले मेरा बालबच्‍चा बेसहारा छन्। 17सियोनले आफ्ना हात फैलाएको छ। त्यसलाई सान्त्वना दिने कोही छैन। याकूबको वरिपरि हुनेहरू त्यसका वैरीहरू होऊन् भनी परमप्रभुले आज्ञा दिनुभएको छ। यरूशलेम तिनीहरूका लागि अशुद्ध छ। 18परमप्रभु धर्मी हुनुहुन्छ, किनकि म उहाँको आज्ञाको विरुद्धमा बागी भएको छु। हे सबै मानिस हो, सुन र मेरो शोकलाई विचार गर। मेरा कन्याहरू र हट्टाकट्टा मानिसहरू निर्वासनमा गएका छन्। 19मैले मेरा मित्रहरूलाई बोलाएँ, तर तिनीहरू मप्रति धोकेबाज निस्किए। मेरा पुजारीहरू र मेरा धर्म-गुरुहरूले आफ्ना प्राण बचाउनको लागि खानाको खोजी गर्दा तिनीहरू सहरमा नै नष्‍ट भए। 20हे परमप्रभु, हेर्नुहोस्, किनकि म निराशामा छु। मेरो पेट हुँडल्छ। मेरो हृदय मभित्रै छटपटिन्छ, किनकि म ज्यादै विद्रोही भएको छु। बाहिर तरवारले आमालाई नष्‍ट पार्छ, घरभित्र केवल मृत्यु छ। 21तिनीहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही छैन। मेरा सबै शत्रुले मेरो कष्‍टको विषयमा सुनेका छन्, र तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुसी छन्। तपाईंले प्रतिज्ञा गर्नुभएको दिन तपाईंले ल्याउनुभएको छ। अब तिनीहरू मजस्तै होऊन्। 22तिनीहरूका सबै दुष्‍टता तपाईंको सामु आऊन्। मेरा सबै आज्ञा उल्लङ्घनको कारणले तपाईंले मलाई व्यवहार गर्नुभएझैँ तिनीहरूसित व्यवहार गर्नुहोस्। मेरा सुस्केरा धेरै छन्, र मेरो हृदय मुर्छा परेको छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।